close

अब रोबोटले नै गर्नेछ किस्ट मेडिकल कलेजका कोरोना बिरामीको हेरचाह

टेकपाना टेकपाना

भदौ ८, २०७७ १०:२३

अब रोबोटले नै गर्नेछ किस्ट मेडिकल कलेजका कोरोना बिरामीको हेरचाह

काठमाडौं । किष्ट मेडिकल कलेजमा उपचाररत कोरोनाका बिरामीको उपचार तथा हेरचाहमा सिस्टर रोबोट प्रयोग गरिने भएको छ । सिस्टर रोबोटको विकास टोलीले सोमबार ती रोबोट सम्बन्धित अस्पताललाई हस्तान्तरण गर्ने भएको हो ।

टोलीले हालसम्म सात वटा सिस्ट रोबोट विकास गरिसकेको छ । टिचिङ र किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिने रोबोट विकासका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी ) नेपाल  र  व्यवहारिक विज्ञान  तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) ले आर्थिक सहयोग गरेका छन् ।

यूएनडीपी नेपालले यूएनडीपी एक्सिलेटर ल्यावमार्फत वित्तीय सहयोग प्रदान गर्दै आएको छ । जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानका उपायहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिने गरेको छ ।

यूएनडीपीले हालसम्म तीनवटा सिस्टर रोबोट बनाउनका लागि आर्थिक सहयोग गरिसकेको छ । त्यस्तै रिकास्टले पाँच वटा रोबोट निर्माण गर्न चार लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसरी विकास गरिएका सिस्टर रोबोट हाल टेकु अस्पताल,  हेटौडा प्रादेशिक अस्पताल, एपीएफ अस्पताल, बुटवल धागो कारखानाको आइसोलेसनलाई हस्तान्तरण गरिसकिएको रोबोटिक्स एसोसिएसन नेपाल (र्‍यान) ले जनाएको छ  ।

र्‍यान, कान्तिबीर, ओज्टेक र रोबोनट्सको संयुक्त प्रयासमा गत चैत्र ३० मा बिरामीका लागि खाना तथा औषधि बोक्ने सिस्टर रोबोटको पहिलो परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको थियो ।

सफलतापूर्वक परीक्षण सम्पन्न भइसकेको सिस्टर रोबोटलाई ३०० मिटरदेखि ५०० मिटरसम्मको दुरीबाट ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिन्छ ।

यो रोबोटमा जडित क्यामेराले कोरोनाका बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ । कोभिड १९ सङ्क्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न सक्नेछन् ।

साथै यसमा राखिएको ट्याब्लेटको सहयोगमा उनीहरुले नर्स तथा स्वास्थ्यकर्मीसँग कुराकानी गर्न सक्नेछन् । फोहोर व्यवस्थापनका लागि रोबोटमा डस्टबिन समेत राखिएको छ ।

रोबोनट्स समुहका  पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधी कसरी पुर्‍याउने भन्ने बारेमा डेमो प्रस्तुति दिनेछन् । साथै ओज्टेकका रिचन जोशीले एफपीभी (फर्स्ट पर्सन भ्यू) सेटमार्फत रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलैसँग नियन्त्रण गर्ने र कसरी यसलाई खाना तथा औषधी वितरणमा प्रयोग गर्ने भन्ने विषयको जानकारी अस्पतालमा कार्यरत नर्सहरुलाई दिनेछन् ।

एफपीभी सेटको सहायताले रोबोट चालकले रोबोट कसरी गुडिरहेको छ भन्ने जानकारी रोबोटमा राखिएको क्यामेराबाटै हेर्न सक्छन् । पंकज जपरेलले सफलतापूर्वक रोबोटलाई आइसोलेसन वार्डमा चलाए पश्चात रोबोटले कसरी स्वचालित रूपमा आफ्नो तथा बिरामीको सरसफाई गर्न सक्छ र बिरामी र स्वास्थ्यकर्मीहरूबीच संवाद र समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरूका सुझाव तथा रोबोटको काम सम्बन्धी प्रतिक्रिया लिनेछन् ।

त्यस्तै अनिल सिंहले रोबोटलाई चाहिने सामग्रीहरु व्यवस्थापनदेखि प्रोजेक्ट व्यवस्थापनको काम गर्नेछन् । रोबोटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिना नै कोरोनाको आशंका लागेका तथा सङ्क्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिने विश्वास गरिएको छ ।

पहिलो सिस्टर रोबोट गण्डकी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिएको थियो । जसका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो । 

त्यस्तै दोश्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई दुई लाख रुपैयाँमा उपलब्ध गराइएको थियो । जसको विकासका लागि व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) ले ८६ हजार ५०० रुपैयाँ आर्थिक सहयोग रहेको थियो ।

रोबोटिक्स एसोसिएसन अफ नेपालले ड्रोन र्‍यापिड रेस्पोन्स टिम कोभिड-१९ नेपाल, नेपाल इनोभेसन म्यापर, नेपालमा सत्य तथा झुटा समाचार र कोभिड-१९ टेस्ट सेफ्टी बुथ लगायतका काम समेत सम्पन्न गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३