close

गाउँका अर्गानिक उत्पादन सहरका उपभोक्तामाझ पुर्‍याउँदै ई फार्म

टेकपाना टेकपाना

भदौ ९, २०७७ १७:३९

गाउँका अर्गानिक उत्पादन सहरका उपभोक्तामाझ पुर्‍याउँदै ई फार्म

काठमाडौं । ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरी राजधानीबासीलाई अनलाइन डेलिभरी दिन थालेको छ । बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा कम्पनीले ईकमर्सको माध्यमबाट नयाँ प्रयास थालेको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा पनि कम्पनीको होम डेलिभरी नरोकिएको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए । ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म समेत सञ्चालन गररहेको ई फार्मले ताजा तरकारी र फलफूलको पनि डेलिभरी दिने गरेको छ ।

ई फार्ममा पूर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको अनतिको तथा जेठो बुढोको चामल, जुम्लाको मार्सी चामल र तिते फापरको पिठो पाउन सकिन्छ । त्यस्तै सेतो मकै, कालो चामल, स्याउको चना, सिमिको दाल, जौको च्याख्ली, काली मार्सी चामल र चिनाको चामलको समेत होमडेलिभरी उपलब्ध छ ।

सँगसँगै मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुरा पनि ईफार्मले अनलाइन अर्डरमा होम डेलिभरी दिँदै आइरहेको छ । त्यस्तै ई फार्मले स्ट्रबेरी, ब्लाकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्री गर्दै आएको छ। 

शपिङ गर्न ई फार्मको फेसबुक पेज तथा इन्स्टाग्राम अकाउण्टमा च्याट गरेर अनि कम्पनीको वेबसाइटमार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ । अर्डर गरेको एक दिनमै होम डेलिभरी दिइने ईफार्मले जनाएको छ ।

ई फार्मबाट गरेको भुक्तानी ईवा, खल्ती र बैंक कार्डमार्फत गर्न सकिन्छ । विदेशमा भएका व्यक्तिहरुले आफ्ना आफन्तको लागि सामान पठाउन सकुन भन्ने उद्देश्यका साथ पे पाल अकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

‘गाउँको कोसेली’ नारा लिएको ई फार्मको उद्देश्य किसानलाई उचित मूल्य उपलब्ध गराउनु र ग्राहकलाई गुणस्तरिय सामान बिक्री गर्नु रहेको श्रेष्ठको भनाई छ। ‘ग्राहक र किसानबीच हामी पुलको काम गर्छाैं,’ श्रेष्ठले भने ।

धेरै जना बिचौलिया हुँदा ग्राहक किसानसम्म पुग्न नसकिरहेको भन्दै उनले ई फार्मको माध्यमबाट आफूहरुले त्यस किसिमको समस्या समाधान गर्न खोजेको बताए । वर्षौदेखि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने र ग्राहकले चर्को मूल्यमा किन्नु पर्ने समस्या रहेको उनको भनाई छ ।

‘अब किसान र ग्राहकबीचबाट बिचौलियालाई निरुत्साहित गर्न ई फार्मले सहयोग गर्छ,’ उनले भने, ‘हिमाली जिल्लाका खाद्य सामग्रीहरु धेरै स्थानमा उपलब्ध हुने भएपनि ग्राहकले भने गुणस्तरीय उत्पादन पाउन सकिरहेका छैनन् ।’

सामान्यतया हिमाली क्षेत्रका उत्पादन अर्गानिक, गुणस्तरीय हुने भएकाले तुलनात्मक रुपमा केही महंगा हुने गरेका छन् । ‘हामी गुणस्तरमा ध्यान दिँदै सुलभ दरमा सामग्री उपलब्ध गराउने अभियानमा छौं,’ उनी भन्छन् ।

ई फार्मले किसानसँग जोडिएका हरेक सामग्रीको बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको छ । आफ्नो उत्पादन ई फार्म मार्फत बेच्न चाहने किसानले ०१-५२२९१३० मा सम्पर्क गर्न सक्छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३