close

सरकारले सुरु गर्‍यो कोभिड डेटा पोर्टल, संक्रमणको अवस्था प्रयोगकर्ता आफैंले हेर्न मिल्ने

टेकपाना टेकपाना

भदौ १०, २०७७ १४:४५

सरकारले सुरु गर्‍यो कोभिड डेटा पोर्टल, संक्रमणको अवस्था प्रयोगकर्ता आफैंले हेर्न मिल्ने

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डेटा पोर्टल संचालनमा ल्याएको छ । कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टलमा रहेका तथ्यांकहरुलाई सजिलै सर्वसाधारणको पहुँचमा लैजान यो पोर्टल संचालनमा ल्याइएको हो ।

पहिलो चरणको बन्दाबन्दिसंगै सुरु भएको कोभिड-१९ पोर्टलमा अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । अहिले मन्त्रालयले कोभिड-१९ सूचना तथा गतिविधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक पेज, त्ट्वीटर ह्याण्डल, कोभिड -१९ प्रेस ब्रिफिङ, मोबाइल एप “हाम्रो स्वास्थ्य”, कोभिड-१९ पोर्टल लगायतका डिजिटल माध्यम अपनाइरहेको छ ।

मन्त्रालयले जारी गरेको मोबाइल एप हाम्रो स्वास्थ्य एन्ड्रोइड र आईओएसमा गरी दुई लाखपटक डाउनलोड भइसकेको छ । कोभिड सूचना प्रदान गर्ने भाइबर ग्रुप एमओएचपी नेपाल कोभिड १९ मा साढे चार लाखभन्दा बढी प्रयोगकर्ता सक्रिय छन् ।

आधिकारिक फेसबुक पेजमा साढे छ लाख फलोअर रहेका छन् । मन्त्रालयले आफ्नो डिजिटल उपस्थिति संक्रमणको जोखिम बढेसंगै थप प्रभावकारी बनाउँदै लगेको छ ।

के के छन् नयाँ विशेषता ?

नयाँ डेटा पोर्टलमा पुरानो पोर्टलमा रहेका कोभिड-१९ बारेका जानकारी, स्व-मूल्यांकन, आईईसी सामग्री, बारम्बार सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्ट यथाअवस्थामा छन् । यस अलावा नयाँ डेटा पोर्टलले प्रयोगकर्ता अनुकुल  संक्रमण सम्बन्धि विभिन्न तथ्यांकहरुलाई नक्शामा हेर्न सकिने सुविधा छ।

संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला तथा पुरुषको विवरण, उमेर समूह अनुरुपको विस्तृत विवरण, लिङ्गका आधारमा संक्रमणको अवस्था हेर्न सकिने छ । प्रयोगकर्ताले हालसम्मका संक्रमण अवस्था नक्शामा हेर्न सक्ने छन् ।

नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टाको संक्रमणको अवस्था हेर्न सक्ने छन् ।  साथै एक प्रदेशको संक्रमण अर्को प्रदेशसँग तुलना गर्न समेत सकिनेछ ।  प्रयोगकर्ताले चाहेअनुसार पछिल्लो हप्ता, महिना वा आफ्नो रोजाई अनुरुप मिति छनोट गरी संक्रमणको अवस्था थाहा पाउन सक्ने छन् ।

नयाँ पोर्टलमा संक्रमणको अवस्था सिंगो नेपाल, प्रदेशगत, जिल्लागत आधारमा नक्सासंगै रहेको टेबुलमा समेत हेर्न सकिने छ । प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाइएको छ ।

यसमा नेपालको सम्पूर्ण संक्रमणको अवस्था पनि  बार चार्टमा देखाईएको छ । लिङ्गको आधारमा संक्रमणको अवस्था पाई चार्टमा हेर्न सकिन्छ। प्रादेशिक संक्रमणको अवस्था बार चार्टमा दिइएको छ । देशका ७७ वटै जिल्लाको विवरण बार चार्टमा उपलब्ध छ ।

उमेर समूह अनुसारको संक्रमणको अवस्था,  कुनै निश्चित दिनको संक्रमणको अवस्था यसमा प्रष्टरुपमा राखिएको छ  । पोर्टलको अन्त्यमा संक्रमित, डिस्चार्ज र मृत्युको तुलनात्मक  पाईचार्ट उपलब्ध छ ।

यससंगै पोर्टलमा मन्त्रालयको आधिकारिक फेसबुक, ट्वीटर र अत्यावश्यक सेवा तथा जानकारी लिनुपर्दा आवश्यक हटलाइन नम्बर पनि राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३