close

यस्ता छन् विश्वका ठूला ५ स्मार्टफोन कम्पनी, कसको बजार हिस्सा कति ?

टेकपाना टेकपाना

भदौ ११, २०७७ १८:५७

यस्ता छन् विश्वका ठूला ५ स्मार्टफोन कम्पनी, कसको बजार हिस्सा कति ?

काठमाडौं । कोभिड-१९ को सन्त्रासका कारण विश्वभरका व्यवसाय खुम्चिएका छन् । स्मार्टफोनको बजार पनि यसबाट अछुतो रहन सकेको छैन ।

गत वर्षको तुलनामा यसपटक हरेक स्मार्टफाेन निर्माता कम्पनीको आम्दानी घटेको छ । प्रविधि बजारको अनुसन्धान गर्ने विश्व प्रसिद्ध संस्था गार्टनरले निकालेकाे पछिल्लाे प्रतिवेदन अनुसार सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोनको विश्व बजार २०.४ प्रतिशतले घटेको छ ।

गार्टनरको प्रतिवेदनले दाबी गरेको छ कि कोरोनाभाइरसको नकारात्मक असरका कारण विश्वबजारमा २९ करोड ५० लाख स्मार्टफाेन मात्र बिक्री भएका छन् ।

गार्टनरले तयार पारेको विश्वका शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचीमा रहेका अधिकांश कम्पनीहरूले निराशाजनक नतिजा भाेगेका छन् । कोरोनाका कारण चीनलगायत धेरै देशहरुले आफ्ना नागरिकहरुलाई घरमै सुरक्षित भएर बस्न आग्रह गरिरहेका छन् । फलस्वरूप: स्मार्टफोनको माग निकै ठूलो अन्तरमा ओह्रालो लागेको हो ।

१. सामसङ

दक्षिण कोरियाली टेक जायन्टले २०२० को दोस्रो त्रैमासिक अवधिमा विश्वबजारको १८.६ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले यो अवधिमा पाँच करोड ४९ लाख थान स्मार्टफोन बजारमा बिक्री गरेको छ । गत वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा सामसङको यो बिक्री २७.१ प्रतिशतले घटेको हो ।

२. ह्वावे

चिनियाँ कम्पनी ह्वावेले सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा बजारमा पाँच करोड ४१ लाख थान फोन बिक्री गरेको छ । यो विश्वबजारको १८.४ प्रतिशत हिस्सा हो । ह्वावेले चिनियाँ बजारमा राम्रो प्रभाव छोड्न सफल भएका कारण उसले विश्वबजारको समग्र व्यवसायबाट खराब स्थिति भोग्नुपरेन ।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा चिनियाँ स्मार्टफोनको बजारमा ह्वावेको मात्रै ४२.६ प्रतिशत हिस्सा रहेको छ ।

३. एप्पल

तेस्रो स्थानमा रहेको एप्पलले बजारमा यस वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ८० लाख आईफोन बिक्री गरेको छ । गत सालको यही अवधिको तुलनामा कम्पनीको बिक्री ०.४ प्रतिशतले मात्रै बिक्री घटेको छ ।

एप्पलको आईफोनले यस अविधमा अन्य स्मार्टफोनभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको छ ।कम्पनीले यस वर्षको पहिलो त्रैमासिकभन्दा पनि राम्रो प्रगति गरेको छ ।

चीनमा पहिलाे त्रैमासिककाे तुलनामा सुधारिएको व्यवसायिक वातावरण हुनु र कम्पनीले ल्याएको नयाँ आईफोन एसईले प्रयोगकर्तालाई पुराना फोन अपग्रेड गर्न प्रोत्साहन दिनुले एप्पलकाे बिक्री सन्ताेषजनक हुन पुगेको गार्टनरले उल्लेख गरेकाे छ ।

४. साओमी

विश्वभर दुई करोड ६० लाख मोबाइल सेट बिक्री गर्न सफल साओमी यो सूचीको चौथो स्थानमा रहेको छ । कम्पनीले विश्वबजारको ८.९ बजार हिस्सा ओगटेको छ । गतवर्षको यही अवधिकाे तुलनामा कम्पनीको स्मार्टफाेन बिक्री २१.५ प्रतिशतले घटेको छ ।

५. ओप्पो

चौथौ स्थानमा रहेको ओप्पोको बिक्री गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यस पटक १५.९ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले २३ लाख ह्यान्डसेट मात्रै बिक्री गरेको छ । कम्पनीको विश्व बजार हिस्सा ८ प्रतिशत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०