close

ईकमर्सको डेलिभरी नरोक्न गृहलाई आपूर्तिको पत्र, तर प्रहरीको अवरोध कायमै

टेकपाना टेकपाना

भदौ १२, २०७७ १४:२

ईकमर्सको डेलिभरी नरोक्न गृहलाई आपूर्तिको पत्र, तर प्रहरीको अवरोध कायमै

काठमाडौं । ईकमर्सको डेलिभरी सेवा नरोक्न गृह मन्त्रालयलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले आग्रह गरेको छ ।  आपूर्ति मन्त्रालयले अनलाइन डेलिभरी व्यवसाय, टेक अवे तथा ढुवानीका कुनै पनि सवारी साधन नरोक्न गृहमन्त्रालयमा पत्र पठाइसकेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताएकी छिन् । 

यसअघि नै ईकमर्सको डेलिभरी च्यानलमा अवरोध खडा नगर्न पत्राचार गरिएको भए पनि गृहले राम्रोसँग सूचना सर्कुलर गर्न नसक्दा यस्तो समस्या आएको आपूर्ति मन्त्रालयको ठहर छ ।

बिहीबार ईकमर्सका डेलिभरी साधनहरुलाई प्रहरीले बीच बाटोमै रोक्नुका साथै कम्पनीका सञ्चालकहरुलाई पक्राउ समेत गरेको थियो । प्रहरीले अपमानपूर्वक पक्राउ गर्न थालेपछि सबैजसो ईकमर्स कम्पनीहरुले धमाधम आफ्नो सेवा बन्द भएको जानकारी गराइरहेका छन् । 

जिल्ला प्रशासन कार्यालयको आदेशमा खाद्य वस्तु, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदिको बिक्री वितरण गर्ने पसलहरु बिहान ९ः१५ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ । सोही आदेश देखाउँदै प्रहरीले ईकमर्स सेवामाथि धरपकड गर्न थालेको हो । 

खाद्य वस्तु ढुवानी गर्न प्रयोग भएका यूजी बजारका भ्यान र दुई पांग्रे गाडीहरु शुक्रबार बिहान ९ बजेको समयमा समेत प्रहरीले रोकेको यूजी बजारका सहसंस्थापक किरण तिम्सिनाले बताए । ‘ प्रहरीले रोकेपछि हामीले हाललाई सबै अर्डरहरु रद्द गरेका छौं,’ उनले भने । 

सरकारबाट यो विषय प्रष्ट नभएसम्म व्यवसायलाई सञ्चालन गर्न नसकिने सस्तो डिलका सहसंस्थापक सुबल चित्रकारले बताए । फुडमाण्डुले पनि भदौ १७ गतेसम्मका लागि आफ्नो सेवा स्थगित गरेको छ ।

यसैबीच शुक्रबार ईकमर्स कम्पनीहरुले यस विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाएका छन् । मन्त्रालयले यस विषयमा आवश्यक समन्वय गरी सेवा सुचारु राख्न सहयोग गर्ने आश्वासन दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०