close

भारतमा यसरी हुन्छ ‘भीआईपी’ मोबाइल नम्बरको दलाली

टेकपाना टेकपाना

भदौ १२, २०७७ १८:१२

भारतमा यसरी हुन्छ ‘भीआईपी’ मोबाइल नम्बरको दलाली

काठमाडौं । झट्ट सुन्दा अनौठो लाग्छ । तर वास्तवमै भारतमा खुलेयाम रुपमा भीआईपी सिमकार्डको दलाली हुने गर्छ । ९१११११११११ जस्ता युनिक किसिमका तथा सजिलै सम्झिन सकिने नम्बरलाई त्यहाँ भीआईपी नम्बर भन्ने गरिन्छ ।

यस्ता भीआईपी मोबाइल नम्बर लिन चाहने प्रयोगकर्ताहरुको ठूलै संख्या हुन्छ । त्यसैले यस्ता नम्बरहरु खुल्ला बजारमा सजिलै पाउने कुरा असम्भव जस्तै हुन्छ । भीआईपी नम्बरहरु सिक्वेन्सका आधारमा उपलब्ध गराइन्छ, जुन नयाँ ब्याचसँगै बजारमा सार्वजनिक हुने गर्दछन् ।

उदाहरणको लागि दूरसञ्चार सेवाप्रदायक कम्पनीले ९१०००००००० देखि ९२०००००००० सम्मको नयाँ ब्याच बाहिर ल्याउँछ भने त्यसमा ९१११११११११ जस्तो एउटा मात्रै भीआईपी नम्बर उपलब्ध हुन्छ । नयाँ ब्याच रिलिज भएसँगै बिक्रेताकहाँ त्यस्ता नम्बर लिन तँछाडमछाड नै हुने गर्दछ ।

बिक्रेताहरुले पनि यस्ता नम्बरहरु सकेसम्म उच्च मूल्यमा बिक्री गर्दछन् । कोभिड १९ का कारण अहिले त्यस्ता खुद्रा बिक्रेताले यस किसिमका नम्बरहरु अनलाइनमार्फत बिक्री गर्न थालेका छन् ।

अनलाइनमा यसरी बिक्री भइरहेका छन्, भीआईपी मोबाइल नम्बरः भारतमा यस्ता भीआईपी मोबाइल नम्बर प्रदायकहरुबाट खरिद गर्न सकिन्छ । यसका लागि उनीहरुले डेडिकेटेड वेबसाइट तथा ओलक्स र क्वीकरजस्ता वेबसाइटहरुलाई माध्यम बनाइरहेका छन् ।

जसमार्फत उनीहरुले आफूसँग उपलब्ध भएका भीआईपी नम्बरहरुको सूची नै राखेका हुन्छन् । प्रयोगकर्ताले लिस्टमा गएर आफूलाई मन परेको नम्बर रोजेर छान्न पाउँछन् ।

त्यसपछि डिलरले प्रयोगकर्ताले सम्बन्धित नम्बरका लागि निश्चित मूल्य भुक्तानीका लागि आग्रह गर्दछ । सामान्यता डिलरहरुले भीआईपी नम्बरका लागि हजारदेखि १५०० रुपैयाँ भारुसम्म मूल्य राखेका हुन्छन् ।

तर प्रिमियम नम्बरका लागि भने लाख रुपैयाँसम्म पर्न सक्छ । भुक्तानी गरिसकेपछि बिक्रेताले सम्बन्धित नम्बरका लागि बिलसँगै युनिक पोर्टिङ कोड (यूपीसी) पठाउँछन् ।

यस्तो यूपीसी प्राप्त गरिसकेपछि प्रयोगकर्ताहरु आवश्यक कागजात सहित कुनै पनि दूरसञ्चार सेवाप्रदायकको सर्भिस सेन्टरमा जानुपर्ने हुन्छ । यसै आधारमा सर्भिस सेन्टरले प्रयोगकर्तालाई मोबाइल नम्बर सहितको सिम उपलब्ध गराउँछन् ।

भारतमा आधिकारिक बिक्रेताको नाममा यस्ता नम्बरहरुका लागि ठगी समेत हुने गरेको छ । तर नेपालमा भने निश्चित मोबाइल नम्बरका लागि मरिहत्ते गर्ने प्रवृत्ति खासै देखिँदैन । सिम खरिद गर्दा प्रयोगकर्ताले उपलब्ध भएका नम्बरमा तुलनात्मक रुपमा सहज नम्बर रोजेरै लिने गरेका छन् ।  बरु कहिले काहिँ नम्बर लिने विषयमा भनसुनले चाहिँ काम गरेको हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०