close

टिकटक प्रयोगकर्तालाई इन्टरनेटमा कुनै समस्या छैन – क्लासिक टेक

टेकपाना टेकपाना

भदौ १४, २०७७ १४:२२

टिकटक प्रयोगकर्तालाई इन्टरनेटमा कुनै समस्या छैन – क्लासिक टेक

काठमाडौं । नेपालमा पछिल्लाे समय टिकटकका प्रयोगकर्ता बढेसँगै इन्टरनेटकाे अधिक खपत भइरहेकाे छ । याे एपकाे प्रयोगसँगै इन्टरनेट प्रोटोकलमा परिवर्तन हुँदा नेपालको इन्टरनेट इकोसिस्टम नै बिग्रिएको गुनासो सेवा प्रदायकले गरिरहेका छन् ।

सेवा प्रदायकका अनुसार पछिल्लो केही समययता कुल अन्तर्राष्ट्रिय ब्याण्डविथको २५ प्रतिशतभन्दा बढी हिस्सा टिकटकले खपत गर्ने गरेको छ । यसले गर्दा मुख्यतः राति ८ देखि ११ बजेको समयमा नेपालमा इन्टरनेट स्पीड निकै सुस्त हुन पुगेको छ ।

टिकटकमाथि अन्तर्राष्ट्रिय रुपमा डेटा सुरक्षाको प्रश्न उब्जिएसँगै उसले गत २८ जुलाईमा एचटीटीपीबाट प्रोटोकल परिवर्तन गर्दै एचटीटीपीएसमा सारेको थियो । प्रोटोकलमा आएको यस किसिमको अनपेक्षित परिवर्तनले नेपालमा टिकटकको क्यास सर्भरसमेत स्पेस उपलब्ध हुन सकेन ।

टिकटकका लागि पूर्णतः अन्तरर्राष्ट्रिय ब्याण्डविथ प्रयोग हुने भएपछि नेपालको समग्र इन्टरनेटको गुणस्तरमाथि नै चुनौती पैदा भएको हो । यही कारण सेवा प्रदायकले अन्य सेवमा कुनै किसिमको असर नपरोस भनेर पिक आवरमा टिकटकमा रेट लिमिट अर्थात् ब्याण्डविथ घटाउने कार्य सुरु गरेको बताएका थिए ।

यसैबीच इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले भने आफ्ना सेवा प्रदायकलाई टिकटककाे प्रयाेगमा कुनै किसिमको परिवर्तन नगरेको सन्देश जारी गरेको छ ।

‘टिकटकका कारण पक्कैपनि अहिले २५ प्रतिशत अन्तराष्ट्रिय ब्याण्डविथ खपतमा बढी भएकाे छ,’ कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ, ‘तर पनि कम्पनीले आफ्ना सेवाग्राहीमा कुनै असर पर्न दिएको छैन । हामीले ग्राहकको मागलाई निरन्तर व्यवस्थापन गरिरहेका छौं । ’

यसअघि आजैमात्र अर्को इन्टरनेट सेवा प्रदायक कम्पनीले वर्डलिंकले इन्टरनेट स्पीड सुधारका लागि टिकटकसँग सहकार्य गर्ने तयारी गरेको समाचार टेकपानाले प्रकाशित गरेकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०