close

एप्पलका सहसंस्थापकको उपस्थितिमा सम्पन्न भयो पुल्चोक इन्जिनियरिङको ‘क्वान्टम ह्याक’

टेकपाना टेकपाना

भदौ १५, २०७७ १९:२

एप्पलका सहसंस्थापकको उपस्थितिमा सम्पन्न भयो पुल्चोक इन्जिनियरिङको ‘क्वान्टम ह्याक’

काठमाडौं । नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरको ह्याकाथन ‘क्वान्टम ह्याक’ आयोजना भएको छ ।

भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेनले आयोजना गरेको उक्त कार्यक्रम भदौ १२ देखि १४ गतेसम्म आयोजना भएको थियो । वेबनारको रुपमा सम्पन्न उक्त कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै विभागको सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सहरी जनसंख्या व्यवस्थापन, वातावरण, स्वतन्त्र विचार शीर्षक जस्ता छ वटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास भएको थियो ।

७० भन्दा बढी समूहका २५० जनाले कार्यक्रममा विभिन्न प्रतियोगीतात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए । करिव दुई हजार पाँचसय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा विश्व प्रशिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा उनले सम्बोधन समेत गरेका थिए । त्यस्तै आईबीएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी सामुदायिक नेतृत्व व्यवस्थापक डेनभर डी सुजा मुख्य वक्ताको रुपमा रहेका थिए ।

आयोजकका अनुसार सो कार्यक्रममा नासा, अमेजन वेब सर्भिस आदि जस्ता विश्वप्रशिद्ध कम्पनीका वरिष्ट प्रतिनिधि मेन्टरको रुपमा रहेका थिए । साथै विभिन्न विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एवम् विभिन्न प्रतिष्ठित संस्थाका विज्ञले प्रस्तावित परियोजनाको मूल्याङ्कन गरेका थिए ।

परियोजना प्रतियोगितामा विभिन्न ६ वटा टिम पुरस्कृत भएका छन् । लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशाला लगायत स्वदेशी तथा विदेशी सेलिब्रेटीहरुले गायन, नृत्य लगायतका प्रस्तुती समेत दिएका थिए ।

‘यो जटिल अवस्थामा यति वृहत कार्यक्रम आयोजना गरी एप्पलका सहसंस्थापक तथा आईबीएम जस्ता प्रतिष्ठित संस्थाकोा उच्च ओहोदाका व्यक्तित्वको सहभागीता रहनु हाम्रा लागि निकै गौरव र प्रेरणाको बिषय हो,’ नेक्टजेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियारले भने, ‘यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठूलो परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०