close

वारेन बफेटलाई ९० औं जन्मदिनको शुभकामनासँगै बिल गेट्सले दिए मित्रताका महत्वपूर्ण टिप्स

टेकपाना टेकपाना

भदौ १५, २०७७ २१:०

वारेन बफेटलाई ९० औं जन्मदिनको शुभकामनासँगै बिल गेट्सले दिए मित्रताका महत्वपूर्ण टिप्स

आज वारेन बफेट ९० वर्ष पुगेका छन् । मेरो निकट मित्र दशौं दशकमा प्रवेश गरेको विश्वास गर्न मलाई निकै ग्राहो भएको छ । वारेनको मानसिक तिक्ष्णता ३० वर्षको जस्तै छ, चन्चलतापूर्ण हाँसो १० वर्षको जस्तो र डाइट ६ वर्षको बच्चाको जस्तो छ । 

वारेन अझै पनि तन्नेरी नै छन्  । उनी कुनै बेला वास्तविक तन्नेरी थिए भनेर पत्याउन निकै गाह्रो भएको छ ।  

उनले भर्खरै आफ्नो करियर सुरु गरेका थिए । त्यसबेला उनी आफ्नी श्रीमती सुजैन र दुई सन्तान सुसी र हवार्डको साथमा थिए । त्यसबेला पिटरको जन्म भएको थिएन । 

१९५६ मा वारेनले बफेट पार्टनरशिप  सुरु गरेका थिए, जुन आज वर्कशायर हाथवेको रुपमा स्थापित भएको छ ।

वारेन र मेरा सबै रुचीहरु म यसमा सूचीकृत गर्न नसकुँला । तर हामी पहिलोपटक भेट हुँदा थाहा पाएको कुरा भनेको हामी दुवैलाई गणित र नम्बरसँग प्रेम रहेछ ।

यसकारण आज वारेनको जन्म दिनको अवसरमा उनको सम्मान स्वरुप उनको ९० औं जन्मदिन र हाम्रो मित्रतासँग जोडिने केही नम्बरहरु म तपाईहरुसँग शेयर गर्दैछु । 

३०: वारेनले अहिलेसम्म आफ्नो जीवनकालमा ३० वर्षसम्म सुतेर बिताएका छन् । उनी रातमा आठ घण्टा सुत्छन् । 

१०,६४९: हामी भेट भएदेखिका दिन ।

जुलाई ५, १९९१ मा हाम्रो पहिलो भेट भएको थियो । 

२: मेरो अफिसको स्पीड डायलमा भएका वारेन र मेलिण्डाको फोन नम्बर । 

क्याल्कुलेट गर्न नसकिने: वारेनले आफ्नो सबै सम्पत्ति समाजलाई फिर्ता दिने जुन प्रतिबद्धता गरेका छन्, त्यसको प्रभाव गणना गर्न नसकिने स्तरमा छ । 

वारेनको एउटा प्रशंसनीय खुबी भनेको उनी सही र गलतलाई दृढ भएर छुट्याउन सक्छन् । उनले यो स्वभाव आफ्ना बुबा होवार्ड, जो एक स्टक ब्रोकर थिए र ‌ओमाहाका लागि तीन कार्यकाल अमेरिकी प्रतिनिधि थिए, उनीबाट पाएका हुन सक्छन् । 

होवार्डको पहिलो कार्यकालमा कंग्रेस प्रतिनिधिहरुको भत्ता बढेको थियो । होवार्डले अतिरिक्त पैसा लिन अस्वीकार गरेपछि उनी न्यून तलबमा नै मनोनित भए । वारेनको नैतिक आधार पनि त्यस्तै उच्च छ । 

ट्यालेन्टहरुलाई परख्ने उनको एकदमै चतुर आँखा छ । उनको व्यवसायमा एकदमै प्रतिभाशाली मानिसहरुको टिम छ । 

वारेन ती कर्मचारीहरुलाई आफैं निर्णय लिने अधिकार दिन्छन् । वर्कशायरका अधिकांश म्यानेजरहरु दशकौंदेखि कम्पनीमै बसिरहेका छन् । 

यीनले यसैमा अवकासको उमेर पनि पुरा गरिसकेका छन् । उनीहरुलाई थाहा छ, यदि उनीहरुले केही गल्ती गरे भने पनि वारेन उनीहरुसँगै रहने छन् । 

वारेनले वर्षौंसम्म नेब्रस्का फर्निचर मार्टकी संस्थापक रोज ब्लमकिनको व्यवसायमा चाँडो र सही निर्णय लिन सक्ने क्षमताको तारिफ गरिरहे । १९८३ मा उनले त्यो कम्पनीको स्वामित्वलाई रोजबाट किने । 

त्यसपछि पुनः उनले चाँडै त्यसको प्रतिस्पर्धी कम्पनी खोलिन् । तर पुनः त्यो पनि वारेनलाई नै बेचिन् ।  मैले वारेनलाई जति चिनेको छु, थाहा पाएसम्म वारेनको जीवन र कामप्रतिको अप्रोच सधैै उस्तै रह्यो । 

यो आश्चर्यजनक कुरा हो, बर्कशायरले त्यति ठूलो सफलता हासिल गर्दा पनि उनमा कति थोरै परिवर्तन आयो । शेयरहोल्डर मिटिङहरुमा उनलाई दशकौंदेखि प्रश्न सोधिन्थ्यो र आज पनि यो जारी छ ।

वारेनले काममा अतुलनीय मेहनत गरेता पनि उनले बाँकी समय सधैं विभिन्न क्रियाकलापका लागि छुट्याए । मैले वारेनबाट धेरै कुरा सिकेँ ।

ती मध्ये एउटा कुरा भनेको मित्रता पनि हो । जब हामी केही कलेज विद्यार्थीहरुसँग कुरा गरिरहेका थियौं, तब वारेनले त्यो कुरा राखेका थिए  । 

उनले भनेका थिए, ‘तपाई आफू सम्बद्ध भएका मानिसहरुको दिशातिर आफूलाई डोर्‍याउनु हुन्छ । यसकारण आफूभन्दा राम्रो गर्ने मानिसहरुसँग सम्बद्ध हुन आवश्यक छ ।’ 

जीवनकालमा हिँड्दै गर्दा यस्ता मान्छेहरु तपाईंले पाउनु हुनेछ । त्यसैले राम्रा साथी बनाउनुहोस् ।

आफू जीवनभरका लागि उनीहरुलाई साथमा राख्नुहोस् । तर ती मानिसहरु तपाईंले पनि प्रसंशा गरेको र मन पराएको हुनुपर्छ । मैले मन पराएको र प्रसंशा गरेको मान्छे भनेको वारेन हुन् ।

जन्मदिनको शुभकामना छ, मेरो साथी !  

गेट्स नोट्सबाट अनुवादित ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०