close

सञ्चालनमा आयो कमिसन बिना पुराना किताब किनबेच गर्न मिल्ने अनलाइन सेवा

रन्जन कोइराला रन्जन कोइराला

भदौ १८, २०७७ १६:५

सञ्चालनमा आयो कमिसन बिना पुराना किताब किनबेच गर्न मिल्ने अनलाइन सेवा

काठमाडौं । भनिन्छ नि, गराइ र भोगाइले मान्छेलाई धेरै कुरा सिकाउँछ । संभवतः हामी सबैसँग एउटा यस्तो भोगाइ छ, जसलाई जीवनका उकाली ओह्रालीहरुमा कयौं पटक भाेग्याैं र त्यो भोगाइ सधैं सम्झनामा अमिट रुपमा बसेको छ ।

समय फेरिए पनि बाध्यता उस्तै छ । त्यो बाध्यताको भोगाइको नियतिबाट अहिलेको नयाँ पुस्ता समेत अलग हुन सकेको छैन । यति लामो भूमिका पढेपछि पक्कै पनि तपाईंले पनि विगत सम्झिन थाल्नु भयो होला ।

विद्यालय भर्ना भएको वर्षबाट पढाई पुरा नहुँदासम्म हरेक वर्ष नयाँ किताब किन्नु पर्ने बाध्यताको हामी यहाँ कुरा गर्दै छौं । के यो नियतिको अन्त्य संभव छैन ? यदि छ भने विकल्प के हुन सक्ला ?

एउटा विकल्प भनेको आफूभन्दा माथिल्लो कक्षामा पढ्ने दाजु दिदीहरुसँग किताब मागेर पढ्नु नै हो । यो विकल्प यदाकता तपाईं हामीले प्रयोग गर्दै आएकै हो । तर व्यवहारिक नहुँदा यो विकल्प उतिसाह्रो प्रयाेगमा पनि आएको छैन ।

घरमै दाजुभाइ हुँदा त ठीकै छ । तर अरुसँग मागेर पढ्न आत्म स्वाभिमानले पनि सितिमिति दिँदैन ।त्यसो नगर्ने हो भने हजाराैं रुपैयाँ खर्च गरेर नयाँ किताब किन्नुको विकल्प हुँदैन ।

तल्लो तहका कक्षाका लागि किताबको खर्च त त्यति ठूलो नहोला । तर जब कक्षा बढ्दै जान्छ, अनि खर्चकाे ग्राफ पनि उकालाे लाग्न थाल्छ ।

स्नातक, स्नातकोत्तर अनि विद्यावारिधीसम्म किताबकै लागि दशौं हजार रूपैयाँ खर्चिनुपर्ने हुन्छ । यस्त किसिमको बाध्यताको विकल्प के हाेला त ?

पुराना किताब किन्न पसल गयो, पसलले नाफा नखाई दिँदैन । यस्तै भोगाइ ख्वप इन्जिनियरिङ क्याम्पसमा तेस्रो वर्षमा पढ्ने विवेकराज पराजुलीले पनि भोगेकै थिए ।

विवेकराज पराजुली

इन्जिनियरिङका किताब किन्दा किन्दा हैरान उनी कसैले पुराना किताब बेच्छु भनेर भनिदिएकाे भए कति सहज हुन्थ्यो भन्ठान्थे ।

तर, मान्छेको स्वभाव नै त हो, पुरानो किताब छ, किन्ने कोही छ भन्दै हल्ला गर्दै हिड्ने पनि त काेही हुँदैनन् । अनी उनको दिमागमा पुराना किताब राख्ने र किन्ने माध्यम बनाउन सकिएको खण्डमा धेरैलाई सहज हुने साेच आयो ।

उनले यस्तै काम कसैले गरिरहेकाे पाे छ कि भनेर नियाले । कथा, कविता, उपन्यासका लागि यस्ता पसल भेटे । अनि सबैलाई समेट्ने योजनाका साथ ‘साझा किताब’ को परिकल्पाना गरे ।

उनको परिकल्पना थियो, एउटा यस्तो प्लेटफर्म तयार पार्ने, जहाँ कसैसँग पुराना किताब छन् भने, बिक्रीमा राख्न सकियाेस् । कसैलाई त्याे किताब किन्नु परेको छ भने सहजै सम्बन्धित व्यक्तिबाट किन्न सकियोस् ।

अध्ययन इन्जिनियरिङको भएपनि उनको रुची भने सानैदेखि आईटीमा थियो । त्यसैले उनी आफै कोडिङ गर्ने, डिजाइन गर्ने लगायतका काम गर्दै आएका थिए ।

उनले यो आइडिया आफ्ना साथिभाइसँग शेयर गरे । साथीहरुले पनि प्रोत्साहन गरे र उनीहरु पनि यसमा जोडिए ।

यसरी उनीसहित २० वर्ष उमेर हाराहारीका छ जनाको टिम तयार भयो । जसमा कल्याण काराखेती, नवीन अधिकारी, नवीन भण्डारी, वसन्त भट्ट, नेमिका सचिन छन् ।

साझा किताबका छ जना सहसंस्थापकहरु बायाँबाट दायाँतर्फ क्रमशः नवीन अधिकारी, कल्याण खड्का, विवेक पराजुली, नेमिका सचिन र वसन्त भट्ट

टिम तयार भएसँगै उनीहरुले यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक काम थाले । त्यही समयमा कोरोनाका कारण लकडाउन पनि सुरु भयो । नियमित कक्षा नहुँदा उनीहरु खाली नै थिए ।

धेरैजसो साथीहरु उपत्यका बाहिर थिए । अनलाइन सहकार्यबाट तीन हप्ताअघि मात्र उनीहरुले ‘साझा किताब’ सार्वजनिक गरेका छन् ।

वास्तवमा साझा किताब एउटा प्लेटफर्म मात्र हो । ‘हामीले प्लेटफर्म मात्र बनाएका हौं,’ पराजुली भन्छन्, ‘यसमा बिक्रेता र क्रेताबीच अन्तरक्रिया हुन्छ र उनीहरुले नै किताब किनबेच गर्छन् । यसमा हाम्रो कुनै किसिमको प्रत्यक्ष्य संलग्नता हुँदैन ।’

साइटमा जो कोही प्रयोकर्ताले आफ्नो किताबको फोटा खिचेर बिक्रीका लागि राख्न सकिने बनाइएकाे छ । त्यहाँ बिक्रेताले आफ्नो मोबाइल नम्बर उपलब्ध गराउनु पर्ने हुन्छ । उक्त मोबाइल नम्बरमा सम्पर्क गरेर किन्न चाहने क्रेताले सोझै सम्पर्क गर्न सक्छन् ।

यसमा कक्षाअनुसारकाा किताब उपलब्ध हुनेछन् । साथै कथा, कविता, उपन्यास लगायतका पुराना किताब पनि पाउन सकिनेछ ।

यसका लागि एउटा अकाउण्ट बनाउनु पर्नेछ । अनि सहजै रुपमा किताब बिक्रीकाे लागि राख्न सकिनेछ ।

उनीहरूले यसलाई आम्दानीको स्रोत बनाएका छैनन् । ‘यो पूर्ण रुपमा नि:शुल्क हो,’ सीईओ समेत रहेका पराजुली भन्छन्, ‘यदि हामीले बीचमा बसेर कमिसन लिएर किताब बेच्ने हो भने भोटाहिटीको सडकमा रहेको पुराना किताब बिक्री गर्ने पसल र यो प्लेटर्फममा खासै अन्तर रहँदैन । यसको उद्देश्य समाजलाई केही योगदान पुगोस् भन्ने नै हो ।’

यसमा विस्तारै नयाँ किताब पनि राख्दै जाने योजना उनीहरुको छ । त्यसका लागि विभिन्न स्टेसनरी, पुस्तक पसल र छापाखानासँग सहकार्य गर्ने सोचमा उनीहरु छन् ।

त्यसो भएको खण्डमा कुनै किताब आवश्यक परे सहजै खोज्न सकिनेछ । अथवा किताबको मूल्य एउटा पसल र अर्को पसलमा दाँजेर सस्तोमा किन्न सकिने आधार तयार हुनेछ ।

अहिले लकडाउन र निषेधाज्ञाका कारण यो परियोजना चुस्त रूपमा अघि बढ्न सकेकाे भने छैन । लकडाउन खुलेर अवस्था सहज हुँदै गएपछि यसलाई अघि बढाउने योजना रहेको पाेखरेल सुनाउँछन् ।

लकडाउनमा सबै घरमा बसेको बेला आफूसँग भएको किताबकाे फोटो खिचेर साइटमा राख्न पनि सहज हुने भएकाले यसलाई चाहिँ अहिले नै सुरुवात गरिएको छ । अहिलेसम्म साइटमा ६८ वटा किताब दर्ता भइसकेका छन् ।

नवीन सोचले अघि बढेको यो स्टार्टअपका हरेक पाइला सुखद रहुन् । यदि तपाईंले पनि नयाँ सोचसहित स्टार्टअप व्यवसाय थाल्नुभएको छ भने हामीलाई सम्पर्क गर्नुहोला । हामीले निरन्तर यस्तै स्टार्टअप स्टोरीमार्फत् तपाईंहरुलाई सहयोग र प्रोत्साहन गरिरहने छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०