close

स्कूलका विद्यार्थी र शिक्षकलाई पनि टेलिकमको ह्याप्पी लर्निङ प्याक

टेकपाना टेकपाना

भदौ १६, २०७७ १६:४४

स्कूलका विद्यार्थी र शिक्षकलाई पनि टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं । नेपाल टेलिकमले अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्तर्गत मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले टेलिकमले उपलब्ध गराइरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् ।

टेलिकम र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो ।

प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डेटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

त्यसैगरी ३५ जीबी डेटा प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

सम्झौतापछि टेलिकमले ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्न प्याब्सनले सम्पूर्ण विद्यालयलाई अनुरोधसहितको जानकारी पठाउनेछ । जानकारी प्राप्त भएपछि विद्यालयले उक्त प्याकेज प्रयोग गर्न आफ्ना विद्यार्थीको मोबाइल नम्बरको सूची ई–मेलमार्फत पठाउनुपर्ने टेलिकमले जनाएको छ । विद्यार्थीले टेलिकमको वेबसाइटमा गएर प्याक लिन रजिस्ट्रेसन गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०