close

सूचना प्रविधिको प्रयोगबाट सोह्र श्राद्ध गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

टेकपाना टेकपाना

भदौ १७, २०७७ १७:२२

सूचना प्रविधिको प्रयोगबाट सोह्र श्राद्ध गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि सुरु भएको सोह्र श्राद्ध सूचना प्रविधिको प्रयोगबाट गर्न अनुरोध गरेको छ । आज भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् ।

‘धार्मिक कार्यमा अहिले सोह्र श्राद्धको बेला छ । श्राद्ध गर्न सकेसम्म आईटी (सूचना प्रविधि) को प्रयोग गर्न र भौतिक रुपमै उपस्थित भएर गर्नुपरे दुई मिटरको दुरी कायम गर्न, मास्क अनिवार्य लगाउन अनुरोध गर्दछौं,’ उनले भने ।

यसैबीच कोभिड-१९ को संक्रमण फैलनसक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले विभिन्न ठाउँमा भर्चुअल विधिबाट श्राद्ध थालिएकाे छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित/गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ ।

लोकप्रिय मोबाइल एप्लिकेसन ‘हाम्रो पात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ ।

घर पार्लरले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ । कोरोना महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै कम्पनीले यस किसिमको सेवा दिन थालेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०