close

लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा

टेकपाना टेकपाना

भदौ १८, २०७७ ८:५७

लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा

काठमाडौं । कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो । 

लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी छिमेकी मुलुक चीनमा देखिएको छ ।

जहाँ आधाभन्दा बढी मात्राले इन्टरनेट स्पीड खस्केको छ । लकडाउन अघि औषत १२.५८ एमबीपीएस रहेको चीनको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने ६.१७ प्रतिशतमा झरेको छ ।

लकडाउनकै कारण इन्टरनेट स्पीडमा भारी गिरावटको सामना गर्ने मुलुकहरुमा क्रमशः चीनपछि इन्टरनेटको स्पीड धेरै खस्किने टपटेन मुलुकमा पानामा, मादागस्कर, चिली, पेरु, कार्गिज रिपब्लिक, कोट डेल्भर, दक्षिण कोरिया र पाराग्वे छन् । 

जहाँ क्रमशः ४८.९९ प्रतिशत, ३७.७१ प्रतिशत, ३६.७७ प्रतिशत, ३६.७६ प्रतिशत, ३६.४८ प्रतिशत, ३०.७७ प्रतिशत, ३०.४५ प्रतिशत, २९.९१ प्रतिशत र २९.५१ प्रतिशतले इन्टरनेट स्पीड घटेको छ ।

विश्वभरका ११४ मुलुकमा गरिएको यो सर्भेक्षणमा ३६ करोड ४३ लाख ४० हजार ३३५ पटक स्पीड टेस्ट गरिएको थियो । जुन करोड ६९ लाख ५१ हजार ९९८ वटा युनिक आईपीमा यो टेस्ट गरिएको हो । 

एसियाली मुलुकमा औषत रुपमा इन्टरनेट स्पीड १६.३३ प्रतिशतले खस्केको छ । लकडाउन अघि २०.२७ एमबीपीएस रहेको यहाँको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने १६.९६ एमबीपीएस रह्यो । यो सर्वेक्षणमा नेपाल, भारत, चीन सहित १९ मुलुक समावेश गरिएको थियो । 

एसिया क्षेत्रमा इन्टरनेट स्पीड गिरावट गर्नेमा नेपाल आठौं स्थानमा छ । नेपाल अघि चीन, दक्षिण कोरिया, मलेसिया, श्रीलंका, बंग्लादेश, भारत र फिलिपिन्स रहेका छन् । 

लकडाउन अघि ५.५३ एमबीपीएस रहेको नेपालको औषत इन्टरनेट स्पीड लकडाउनमा १८.२५ प्रतिशतले घटेर ४.५२ प्रतिशतमा खुम्चिएको छ । यो सर्भेक्षण अवधिभर नेपालमा मात्रै एक लाख ३७ हजार ५९८ पटक स्पीड टेस्ट गरिएको थियो ।

जसमा २४ हजार १७४ वटा युनिक आईपीलाई समावेश गरिएको थियो । यो सर्वेक्षणमा योग्य नठहरिएको भन्दै सयभन्दा बढी मुलुकहरुलाई समावेश गरिएको छैन । 

जहाँ लकडाउनमै बढ्यो, इन्टरनेट स्पीड

सर्वेक्षणमा समावेश सबै मुलुकमा इन्टरनेट स्पीड खस्किएको भने छैन । अल्बानिया र कतारको इन्टरनेट स्पीड स्थिर रहँदा २७ मुलुकको इन्टरनेट स्पीड बढेको छ ।

जसमा एङ्गोलाको इन्टरनेट स्पीड ११७.१९ प्रतिशतले सुधार हुँदै ६.५४ एमबीपीएस पुगेको छ । त्यसपछि इन्टरनेट स्पीडमा सुधार गर्ने मुलुकमा बहराइन, इराक, बोस्नियाँ हर्ज गोभिना, माल्डोभा लगायतका रहेका देश समावेश छन् । 

 एसियामै समेत सात वटा मुलुकको इन्टरनेटमा लकडाउनकै बीच सुधार देखिएको छ । जसमा पाकिस्तान, बुर्नाई, इन्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, भियतनाम र अफगानिस्तान रहेका छन् ।

जहाँ क्रमशः ०.८७ प्रतिशत, १.२४ प्रतिशत, १.६७ प्रतिशत, ३.६४ प्रतिशत, ५.०८ प्रतिशत, १२.८४ प्रतिशत र २३.९५ को सुधार देखिएको छ । 

अक्सफोर्ड कोरोनाभाइरस गभर्मेन्ट रेस्पोन्स ट्र्याकर (ओएक्ससीजीआरटी) को तथ्याङ्क र एम ल्याबले कोभिड १९ को लकडाउन अवधिमा विश्वभरका ३६ करोड ४० लाख ब्रोडब्याण्ड स्पीड टेस्टमा आधारित छ । जसलाई केवल को यूकेले विश्लेषण गरेको हो ।

लडाउनका कारण सबै मानिसहरु घरभित्रै बस्नुपर्ने अवस्था, वर्क फ्रम होम, अनलाइन कक्षा आदिका कारण इन्टरनेटको प्रयोग बढ्दा स्पीड घटेको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०