close

होम डेलिभरीकाे समय दिउँसाे १ देखि साँझ ७ बजेसम्म, कर्मचारीको पीसीआर रिपोर्ट अनिवार्य

टेकपाना टेकपाना

भदौ १८, २०७७ १८:११

होम डेलिभरीकाे समय दिउँसाे १ देखि साँझ ७ बजेसम्म, कर्मचारीको पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं । अब दर्ता भएर नियमित नवीकरण भएका कम्पनीहरुले मात्र काठमाडाैं उपत्यकामा अनलाइन डेलिभरी गर्न पाउने भएका छन् । निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्ने सम्बन्धमा बनेको नयाँ मापदण्ड यस्ता व्यवस्था गरिएकाे हाे । 

मापदण्ड आएसँगै विगत केही दिनदेखि निषेधाज्ञाकाे समयमा होम डेलिभरी सेवाकाे बारेमा उब्जिएका कानूनी अस्पष्टताहरु अब समाधान हुने अपेक्षा गरिएको छ ।

नयाँ मापदण्डले सेवाग्राहीसँग दुई मिटरको दूरी कायम गरी सम्पुर्ण सुरक्षित पीपीई (पर्सनल प्राेटेक्टिभ इक्विपमेन्ट) युक्त भएर वस्तु तथा सेवाको होम डेलिभरी गर्न सक्ने व्यवस्था गरेको छ । 

नयाँ मापदण्डले अत्यावश्यक खाद्यवस्तु, बालबालिकालाई आवश्यक पर्ने सामाग्री, छाला तथा कपालको सौन्दर्य सामाग्री, व्यक्तिगत केयरका सामाग्री, पशु आहार, पीपीई सामाग्री, सेनिटेसन, कृषिजन्य बिज, मल, उपकरण तथा औषधीजन्य सामाग्रीहरुको होम डेलिभरीलाई अनुमति दिएको छ । 

कम्पनीहरुले दिउँसो १ बजेदेखि साँझ सात बजेसम्म मात्र वस्तु डेलिभरी गर्नसक्ने छन् । 

मापदण्डका अनुसार डेलिभरीमा खटिने कर्मचारीको पीसीआर रिपोर्ट अनिवार्यरुपमा नेगेटिभ हुनुपर्नेछ । 

यसबाहेक होम डेलिभरी गर्न कार्यमा खटिएको संस्था वा कम्पनीले डेलिभरी गर्ने व्यक्तिको नाम, सम्पर्क नम्बर, डेलिभरी कार्यमा प्रयोग हुने सवारी साधनको विवरण जिल्ला प्रशासन कार्यलय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र ट्राफिक कार्यालयमा उपलब्ध गराउनु पर्नेछ । 

साथै कम्पनीले बस्तुको गुणस्तर नभएको खण्डमा सामाग्री फिर्ता लिनु पर्नेछ । 

केही बुँदा संशाेधन गर्न फाेरमकाे आग्रह

यसैबीच नेपाल ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धी मापदण्ड २०७७ जारी भएकाेमा खुसी व्यक्त गरेकाे छ । साथै केही बुँदा संशाेधन गरेर मात्र लागू गर्न फाेरमले अनुराेध गरेकाे छ ।

फाेरमले जनताको प्रत्यक्ष सेवामा रहेका सुरक्षाकर्मीलाई पिपिई समेत अनिवार्य नगरिएको तर डिजिटल कारोबार र सामाजिक दुरी कायम गरि गरिने डेलिभरीका कर्मचारीलाई बँदा नं २ (ढ) मा पिसिआर रिपोर्ट अनिवार्य गराइएकोमा न्यायोचित नभएकाे बताएकाे छ ।

‘तर जोखिम भएको अवस्था, रोगको लक्षण भएमा र कन्ट्याक्ट् ट्रेसिङअन्तर्गत आवश्यकता भएको अवस्थामा कर्मचारीको पीसीआर जाँच गर्न हामी सदैव सकारात्मक छौं र गर्दै पनि आएका छौँ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बुँदा नं २ (ठ) मा डेलिभरीको समय दिउँसो १ बजे देखि सँझ ७ बजेसम्म सीमित गरिएकोमा असहमति प्रकट गर्दै फाेरमले अत्यावश्यक वस्तुको डेलिभरी बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निर्वाध सञ्चालन गर्न दिनुपर्ने माग राखेकाे छ ।

साथै सो कामका कर्मचारी घर र कार्यालय आउन/जान बाधा नपुर्‍याउन फाेरमले माग राखेकाे छ ।हाल स्कूलदेखि विश्वबिद्यालय बन्द भएकाे अवस्थामा विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेसनरी सामानलाई पनि अत्यावश्यक वस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वातावरण बनाउन फाेरमले माग गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०