close

इन्टरनेट र कम्प्युटरको अभावले १ तिहाई बालबालिका अशिक्षित बन्ने चिन्ता

टेकपाना टेकपाना

भदौ १८, २०७७ २२:२३

इन्टरनेट र कम्प्युटरको अभावले १ तिहाई बालबालिका अशिक्षित बन्ने चिन्ता

काठमाडौं । कोभिड १९ को संकट लम्बिदै जाँदा विश्वभरका बालबालिकाको पढाई नराम्रोसँग प्रभावित भएको छ । यस दौरान केवल त्यस्ता बालबालिकाहरुले मात्र शिक्षा ग्रहण गर्न सकिरहेका छन्, जो इन्टरनेटसँग जोडिएका छन् र अनलाइनमार्फत पढाई गरिरहेका छन् ।

तर यूनिसेफको आँकडाअनुसार विश्वभरका करिब एक तिहाई बालबालिका इन्टरनेट, कम्प्युटर, ल्यापटप, ट्याब्लेट तथा स्मार्टफोन जस्ता संसाधनको अभावमा अनलाइन शिक्षाबाट पूर्णतः बञ्चित भएका छन् ।

नेपालमा पाँच वर्षदेखि २४ वर्ष उमेर समूहका विद्यार्थीहरुमध्ये करिब १० प्रतिशतको घरमा मात्र इन्टरनेट तथा कम्प्युटरको उपलब्धता रहेको अनुमान गरिएको छ । यसबाट ठूलो संख्याका बालबालिकाहरुको शिक्षामा असर पर्ने संभावना उत्पन्न भएको छ ।

यूनिसेफले विभिन्न देशका सरकार तथा अन्य संघ संगठनसँगको सहकार्यमा यस किसिमको डिजिटल ग्यापलाई सन् २०३० सम्म कम गर्ने लक्ष्य त गरेको छ । इन्टरनेट र कम्प्युटरले अब किताबको स्थान लिँदै गइरहेका छन् ।

अहिलेको कोभिडको समयमा यो गति अझ तीव्र रुपमा अगाडि बढेको छ । कोरोनापछिको सामान्य अवस्था पनि ‘न्यू नर्मल’ को रुपमा रहने अनुमानहरु हुन थालेका छन् । यस्तोमा डिजिटल ग्यापले धनी र गरिबबीचको खाडललाई अझ फराकिलो बनाउँदै लैजानेछ ।

जसका कारण भविष्यमा छुट्टै किसिमको अशिक्षित तप्का तयार हुन सक्छ । जुन सारा विश्वको विकासमा बाधक सावित हुनसक्छ । इन्टरनेट र कम्प्युटरका कारण शिक्षा केवल सम्पन्न परिवारको पहुँचमा मात्रै सीमित रहने खतरा पैदा भएको छ ।

जसले गर्दा विश्वका सबैजसो मुलुकका सरकारलाई हरेक तह तप्कासम्म इन्टरनेट र कम्प्युटरको उपलब्धता सुनिश्चित गर्नुपर्ने चुनौती खडा भएको छ । यूनेस्कको नयाँ रिपोर्टअनुसार कोरोनाको समयमा विश्वभरका लगभग एक अर्ब बालकालिकाको शिक्षा प्रभावित हुनेछ ।

नेपालमा सबै तहका गरी करिब ८० लाख विद्यार्थीको अध्ययन प्रभावित बनेको छ । डिजिटल ग्यापका कारण एक तिहाई बालबालिका पूर्णरुपमा शिक्षा प्राप्त गर्न असमर्थ छन् ।

स्मार्टफोन बन्यो कम्प्युटरको विकल्पः कम्प्युटर र ल्यापटप महंगा भएका कारण स्मार्टफोन तीव्र रुपमा त्यसको स्थान ओगट्न थालेका छन् । विशेषज्ञको सल्लाह छ कि यसलाई ट्याब्लेट, ल्यापटप वा कम्प्युटरको विकल्पको रुपमा विकास गर्न संभव छ । सस्ता हुने भएकै कारण स्मार्टफोन सबैको पहुँचमा पुग्न सक्छ ।

नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या ६० लाख हाराहारी रहेको अनुमान छ । यद्यपी अन्तिम विकल्पको रुपमा अहिले पनि कम्प्युटर वा ट्याब्लेटलाई नै प्राथमिकतामा राख्ने गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०