२०७९, २३ श्रावण सोमबार   |  
Monday 8th August 2022

मोबाइल स्वाब संकलन बूथ भेहीकल सिस्टम बनाउन नास्टलाई भ्याई नभ्याई

mobile swab collection booth vehicle

काठमाडौं । नास्टका वैज्ञानिकले नेपालमै आविष्कार गरेको मोबाइल स्वाब कलेक्सन बूथको माग बढ्दै गएको छ । कोरोना संक्रमणको दर उकालो लाग्दै जाँदा माग समेत बढ्दै गएपछि अहिले नास्टको टिमलाई भ्याई नभ्याई भएको छ ।

करिब दुई महिना अघि मात्र नास्टका वैज्ञानिक शंकर ढकालको नेतृत्वको टिमले मोबाइल स्वाब कलेक्सन बूथको विकास गरेको थियो । वैज्ञानिक ढकालको नेतृत्वमा हालै मात्र स्थापना भएको इन्नोभेसन फर प्रस्परेटी (समृद्धिका लागि नवपर्वतन केन्द्र) अन्तर्गत अहिले कोभिड १९ का लागि आवश्यक करिब एक दर्जन आविष्कार भइसकेका छन् । 

नास्टले गरेका आविष्कारः टेकपाना युट्युव भिडियो

केन्द्रले तयार ससश्त्र प्रहरीका लागि भर्खरै मोबाइल स्वाब कलेक्सन भेहीकल सिस्टमको अनुसन्धान, विकास र परीक्षणको काम सम्पन्न गरेको छ । उक्त सिस्टमको सम्पूर्ण किसिमको प्रमाणीकरण पश्चात शुक्रबार ससश्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । 

नास्टका सचिव डा. महेशकुमार अधिकारीले एपीएफ हस्पिटलका एसपी डा. शैलेन्द्र दुवाल श्रेष्ठलाई उक्त साधन हस्तान्तरण गरेका हुन् ।  एपीएफ हस्पिटल कोभिडको सुरुवाती उपचार गर्ने तीन अस्पताल मध्ये एक हो ।

तस्वीरः वैज्ञानिक डा शंकर ढकाल

यो मोबाइल स्वाब कलेक्सन बुथ ससश्त्र प्रहरीको आन्तरिक प्रयोजनमा उपयोग हुनेछ । जसमा संगठनले आफ्ना कर्मचारी तथा जवानहरुको स्वाब संकलनका लागि प्रयोग हुने बताइएको छ । यसमा दुई वटा कलेक्सन प्वाइन्ट राखिएको छ ।

यस अघि वैज्ञानिक ढकालकै टिमले नेपाल प्रहरीको एम्बुलेन्स भ्यानमा समेत मोबाइल स्वाब कलेक्सन सिस्टम जडान गरिसकेको छ । जुन एक साता अघि नै हस्तान्तरण सम्पन्न भइसकेको वैज्ञानिक डा ढकालले जानकारी दिए ।

तस्वीरः वैज्ञानिक डा शंकर ढकाल

त्यस अघि नास्टमा विकास गरिएको पहिलो मोबाइल स्वाब कलेक्सन बूथ कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई हस्तान्तरण गरिएको थियो । सीसीएमसीले उक्त भेहीकलमार्फत हजारौं सरकारी कर्मचारीको स्वाब संकलन गरिसकेको छ । 

तस्वीरः वैज्ञानिक डा शंकर ढकाल

स्वास्थ्य विभागले बूथ सिस्टम राख्नका लागि शुक्रबार मात्रै नास्टमा बोलेरो गाडी पठाएको छ । जसमा चार वटा प्वाइन्ट हुने वैज्ञानिक डा ढकालले बताए । स्वास्थ्य विभागले उपत्यका बाहिर समेत विभिन्न स्थानमा उक्त बूथ भेहिकल प्रयोग गर्ने भएकाले त्यसको इन्जिनियरिङमा विशेष ख्याल गर्नुपर्ने चुनौती रहेको उनको भनाई छ । 

त्यस लगत्तै सातै प्रदेशका लागि विभागले मोबाइल स्वाब कलेक्सन बूथ भेहिकल सिस्टम बनाउने योजना अगाडि सारेको छ । सरकारी तवरबाट मात्रै नभएर पछिल्लो समय निजी अस्पतालहरुले समेत यसमा चाँसो व्यक्त गर्न थालेको नास्टले जनाएको छ । जसमा मनमोहन मेमोरियल अस्पताल समेत छ । 

माग बढ्दै जान थालेपछि नास्टमा आवश्यक कर्मचारी तथा प्राविधिकहरु थप्दै लगेको छ । अहिले विभिन्न विषयका विशेषज्ञ सहित डेढ दर्जको संख्यामा रहेको टिम बूथ भेहिकल निर्माणमा अहोरात्र खटिएको छ ।

तस्वीरः वैज्ञानिक डा शंकर ढकाल

जसमा इलेक्ट्रिकल, मेकानिकल, आर्किटेक्चर, सिभिल, सफ्टवेयर, इलेक्ट्रोनिक विज्ञहरु रहेका छन् । यसलाई इन्टरप्राइज (औद्योगिक उत्पादनको स्तर) तहमा लैजान एमबीए ग्र्याजुएट समेत संलग्न गराइएको छ । 

मेटल, आल्मुनियमका प्राविधिक समेत टोलिमा छन् । नास्टको प्राविधिक संकायका प्रमुख डा रविन्द्र प्रसाद ढकालले यो परियोजनामा मेन्टरशिपको काम गरिरहेका छन् । 

यसमा प्राविधिक टिम मात्रं संलग्न छैन । पूर्णरुपमा प्रमाणिक स्तरमा यसलाई विकास गर्न नास्टकै विज्ञान संकायका वैज्ञानिकहरुले समेत साथ दिइरहेका छन् ।  

‘यसमा रहेको सिस्टम परीक्षणका लागि माइक्रो बायोलोजिकल स्यम्पलिङ गर्न छुट्टै वैज्ञानिक हुनुहुन्छ । उहाँहरुले यस भित्रको कार्बनडाइअक्साइडको स्तर, हावाको गुणस्तर, संक्रमणको जोखिम आदिको परीक्षण गर्नुहुन्छ ।,’

वैज्ञानिक डा ढकालले भन्छन्, ‘ यसअर्थ हामीले तयार पारेको मोबाइल स्वाब कलेक्सन बूथ भेहिकल सिस्टम प्राविधिक वर्कशपले तयार पार्ने प्रडक्ट मात्र नभएर वैज्ञानिक रुपमा नै परीक्षण गरिएको प्रमाणीत र युनिक प्रडक्ट हो ।’

कस्तो छ नास्टले विकास गरेको मोबाइल स्वाब कलेक्सन बूथ भेहिकल ?

मोबाइल बूथ कलेक्सन भेहिकल सिस्टममा विशेष किसिमको पोजेटिभ प्रेसर च्याम्बर राखिन्छ । बाहिरबाट सफा हावा (संक्रमण रहीत) पठाउन मेटलको हेफा फिल्टर प्रयोग गरिएको गरिन्छ । 

जसले भाइरस, ब्याक्टेरिया फिल्टर गर्दछ । च्याम्बरभित्र पठाउन हाई टर्बो फ्यान राख्ने गरिन्छ । स्वाब लिने स्वास्थ्यकर्मी च्याम्बरभित्र बस्नुपर्ने हुन्छ ।

तस्वीरः वैज्ञानिक डा शंकर ढकाल

स्वाब संकलनका लागि आर्टिफिसियल डबल लेयर रबर ग्लोब जडित हुन्छ । संक्रमित बिरामी आए पनि च्याम्बरभित्र रहने स्वास्थ्यकर्मीमा कुनै किसिमको संक्रमणको डर नहुने वैज्ञानिक डा ढकाल बताउँछन् । 

‘यसबाट स्वाब कलेक्सन गर्ने स्वास्थ्यकर्मीलाई पीपीईको आवश्यकता समेत पर्दैन,’ उनी भन्छन्, ‘अहिले पीपीईमा मुलुकको धेरै रकम खर्च भइरहेको छ । सबै ठाउँमा यो भेहिकल उपयोग गर्न सकिएको खण्डमा स्वाब कलेक्सनमा प्रयोग हुने पीपीई आईसीयू र मृतकको व्यवस्थापनमा प्रयोग गर्न सकिन्छ ।’ 

अहिले पीपीई लगाएर स्वाब कलेक्सन गर्दा स्वास्थ्यकर्मी जोगिए पनि उनीहरुको हात र पीपीई मार्फत स्वाब संकलन गर्न आउने संक्रमण नभएका व्यक्तिमा समेत सर्न सक्ने जोखिम धेरै छ । बूथ भेहीकलमा स्वचालित रुपमा डिसइन्फिक्सन गर्ने सिस्टम समेत राखिन्छ ।

जसले ग्लोब्स सहित सिंगो मोबाइल स्वाब कलेक्सन बूथलाई नै संक्रमणरहीत तुल्याउन सक्छ । जसले गर्दा स्वाब परीक्षण गर्न आउने व्यक्तिहरुमा एकबाट अर्कोमा संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

स्वाब संकलनका लागि आउने व्यक्तिहरुको हात स्यानिटाइज गर्न नास्टमै बनेको स्वचालित स्यानिटाइज उपकरण समेत उपलब्ध गराइन्छ । संकलित स्वाब सुरक्षित रुपमा राख्न बूथ भेहीकलमै छुट्टै आइस बक्स राख्ने गरिन्छ ।

तस्वीरः वैज्ञानिक डा शंकर ढकाल

क्रशः कन्टामिनेसन नहुने गरी त्यसको डिजाइन गरिएको वैज्ञानिक डा ढकालले बताए । उनले भने, ‘बक्समा समेत अटो डिसइन्फेक्ट गर्नका लागि नोजल सिस्टम राख्छौं ।’

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team