close

क्लाउड कम्प्युटिङबाट कसरी सेवा लिने ? थाहा पाइराख्नुहोस् यसका फाइदाहरु

टेकपाना टेकपाना

भदौ २०, २०७७ १३:५३

क्लाउड कम्प्युटिङबाट कसरी सेवा लिने ? थाहा पाइराख्नुहोस् यसका फाइदाहरु

काठमाडौं । कम्प्युटर तथा मोबाइल प्रयोगकर्ताहरुले कतै न कतै क्लाउड कम्प्युटिङका बारेमा सुनिरहेका हुन्छन् । तर धेरैलाई यो प्रविधि के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा थाहा नहुन सक्छ । 

क्लाउड कम्प्युटिङको बारेमा बझ्न तपाईंले वास्तविक ‘क्लाउड’ अर्थात् बादलको संचरनाबारे थाहा पाउँदा सजिलाे हुन्छ । पानीको बाफका कण जोडिएर बादल बन्ने गर्छ, यसको कुनै निश्चित संरचना हुँदैन, एक ठाउँमा बस्दैन । बन्ने बिग्रने भइरहन्छ । कहिले हुन्छ त कहिले हुँदैन ।  

यसरी नै क्लाउड कम्प्युटिङ पनि धेरैवटा डिभाइस र प्रयोगकर्ताहरुको नेटवर्क जोडिएर बन्दछ । कहिले प्रयोगकर्ता हुन्छन्, कहिले हुँदैनन् । क्लाउड कम्प्युटिङले विश्वभरीका लागि सेवा दिन्छ । यो एक ठाउँमा अडेर बस्दैन । अर्थात् चलिरहन्छ ।    

वास्तविक जीवनमा क्लाउड कम्प्युटिङको प्रयोग

तपाईंको घरमा एउटा कम्प्युटर छ । तपाईं त्यसमा आफ्नो सामान्य काम गर्नुहुन्छ । फाइल क्रियट गर्नुहुन्छ । डेटा तथा फाइलहरु स्टोर गर्नुहुन्छ । गेमहरु खेल्नुहुन्छ । तपाईं यी सबै कामहरु एकदमै आरामले गरिरहनु भएको हुन्छ ।

तर यदि तपाईंले हाई एण्ड गेम खेल्नुपर्‍यो वा एकदमै धेरै फाइल तथा डेटा स्टोर गर्नुपर्‍यो भने सफ्टवेयर प्रयोग गर्नुहुन्छ । अब यी सबै प्रयोग गर्न तपाईंले कि त एकदमै शक्तिशाली नयाँ कम्प्युटर लिनुपर्छ । आफूलाई चाहिने सफ्टवेयरको लाइसेन्स लिनुपर्छ । वा भनौं एकदमै ठूलो सेटअपको लागि लगानी गर्नुपर्छ । 

तर यदि यस्तो बेला तपाईसँग हाईस्पीड इन्टरनेट छ भने कसैको कम्प्युटरलाई भाडामा लिएर उसको कम्प्युटरको पावर प्रयोग गरी आफ्नो कम्प्युटरमा काम गर्न सक्नुहुन्छ । क्लाउड कम्प्युटरको अवधारणा पनि यस्तै हुन्छ ।

क्लाउड कम्प्युटिङ स्टोरेजको लागि मात्र होइन । धेरैले क्लाउड कम्प्युटिङ भन्दा स्टोरेज भन्ने बुझ्ने गर्छन् । क्लाउडमा आफ्नो डेटा स्टोर गर्न मात्र यसको प्रयोजन होला भन्ने धेरैले सोच्ने गर्छन् । हामीले सुन्दै आएको ड्रपबक्स, गूगल ड्राइभ, वान ड्राइभ आदी यसका उदाहरण हुन् ।  

तर यसले स्टोरेजभन्दा धेरै काम गर्दछ । यसबाट विभिन्न किसिमका सेवा पाउन सकिन्छ । यसका धेरै किसिमका प्रयोजनहरु हुन्छन् । धेरै कम्पनीहरु अहिले क्लाउड कम्प्युटिङमा निर्भर छन् ।

उदाहरणका लागि एउटा कम्पनीमा हजार जना कर्मचारी छन् । ती हजार कर्मचारीहरुको डेटा, उनीहरुले प्रयोग गर्ने अलग अलग सफ्टवेयर, यी सबै कुरालाई कम्पनी आफैंले व्यवस्थापन गर्नुपर्‍यो भने उसले अलग्गै इनहाउस सेटअप बनाउनुपर्छ । उसको आफ्नै खर्च पनि धेरै हुन जान्छ यस्तो बेला । 

बजारमा धेरै किसिमका क्लाउड सेवा प्रदायक कम्पनीहरु छन् । जसले विभिन्न प्रयोजनका लागि क्लाउड सेवा उपलब्ध गराउँछन् । कम्पनीले त्यस्ता सेवाप्रदायकसँग गएर आफूलाई थोरै पैसामा त्यस्तो डेडिकेटेड सेवा लिन सक्छन् ।

यदि कम्पनीको कर्मचारी भोली एक हजारदेखि १० हजार बढ्यो भने सेवाप्रदायक कम्पनीले उसको आवश्यकता अनुसार क्लाउड स्टोरेज क्षमता पनि बढाइदिन्छ ।

यी क्लाउडहरु हाईटेक प्रविधि सम्पन्न हुन्छ । बलियो पासवर्डभित्र डेटा सुरक्षित रहन सक्छन् । प्रयोगकर्ताहरुले आफ्नो डेटा इन्टरनेटमार्फत क्लाउडमा स्टोर गर्नसक्छन् ।

प्रयोगकर्ताको डेटालाई कपी गरेर क्लाउडमा राखिने गरिन्छ । यदि प्रयोगकर्ताको हार्डड्राइभ फेल भयो भने पनि त्यसको कपी क्लाउडमा पाउन सकिन्छ, जसलाई पछि रिस्टोर गरेर प्रयोग गर्न सकिन्छ ।

इन्टरनेट भएको खण्डमा प्रयोगकर्ताले आफ्नो आईडी, पासवर्ड प्रयोग गरेर जहाँसुकै ती डेटा आफ्नो उपकरणबाट हेर्न सक्छन् । 

क्लाउड कम्प्युटिङकै कारण आजभोलि तपाईंलाई हाई एण्ड गेम खेल्न, हाई एण्ड कम्प्युटरको आवश्यकता पर्दैन । हाई एण्ड इन्टरनेट कनेक्सनले तपाईंको काम गरिदिन्छ। 

क्लाउड कम्प्युटिङकै कारण तपाईंले कुनै पनि काम टाढा बसेर गर्न सक्नुहुन्छ । किनभने कुनै पनि ठाउँमा स्टोर भएको डेटा तपाईले हरेक ठाउँबाट पनि एक्सेस गर्न सक्नुहुन्छ । आफ्नो डेटाको व्यवस्थापन र हराएको खण्डमा भेटिने सबै कुरा यसले सुनिश्चित गरिदिन्छ । 

याे पनि पढ्नुहाेस् : क्लाउडमा रहेको डेटाको सुरक्षा कसरी गर्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०