close

विद्यार्थी खोजेर अनलाइन कक्षामा सहभागी गराइदिन स्थानीय तहलाई त्रिविको अनुरोध

टेकपाना टेकपाना

भदौ २१, २०७७ २२:३०

विद्यार्थी खोजेर अनलाइन कक्षामा सहभागी गराइदिन स्थानीय तहलाई त्रिविको अनुरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनमा आए पनि विद्यार्थी सम्पर्कविहीन रहेको भन्दै सहभागी गराइदिन सबै स्थानीय तहको साथ खोजेको छ । विश्वद्यालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै आफ्नो क्षेत्रमा बसोबास गर्ने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई अध्ययनरत स्कूल, क्याम्पस, विभागमा सम्पर्क राख्नका लागि सूचना प्रवाह गरिदिन भनेको हो ।

मन्त्रालयले त्रिविको अनुरोध सहितको पत्र समावेश गरी शनिबार सबै स्थानीय तहको नाममा पत्राचार गरेको छ । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले शुक्रबार मात्रै मन्त्रालयलाई परिपत्र गरिदिन भन्दै अनुरोध पत्र पठाएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैत ६ देखि नै त्रिविको पठनपाठ तथा परीक्षा स्थगित गरिएको थियो । महामारी तुरुन्तै नियन्त्रणमा आउने अवस्था नदेखिए पनि विश्वविद्यालयले चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गर्ने तयारी थालेको थियो ।

आफ्ना सबै शिक्षक, कर्मचारी तथा विद्यार्थीको ईमेल आईडी तयार पारी अनलाइन विधिबाट पठनपाठन सञ्चालन गर्दै आएको छ । तर हालसम्म पनि डीन कार्यालय, क्याम्पस, स्कूल र विभागहरुमार्फत विभिन्न सञ्चार माध्यममा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरुलाई सम्पर्कका लागि प्रयास गर्दा समेत कतिपय विद्यार्थीहरु अझै सम्पर्कमा नआएको त्रिविको पत्रमा उल्लेख छ ।

विद्यार्थी आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नभएपछि पठनपाठन तथा स्थगन गरिएका परीक्षा तालिका व्यवस्थापन गर्न समस्या उत्पन्न भएको छ । विश्व विद्यालयको बारम्बारको सूचना पश्चात समेत विद्यार्थी सम्पर्कमा नआएपछि पठनपाठन सुचारु गर्न तथा स्थगित परीक्षा व्यवस्थापन गर्न विश्वविद्यालयले सबै स्थानीय तहको साथ खोजेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०