close

सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पल इभेन्ट, आउला त आईफोन ट्वेल्भ ?

टेकपाना टेकपाना

भदौ २३, २०७७ २२:५८

सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पल इभेन्ट, आउला त आईफोन ट्वेल्भ ?

अनेकौं हल्लाहरुबीच एप्पलको आगामी ठूलो इभेन्ट आउँदो सेप्टेम्बर १५ (३० भदौ) मा आयोजना हुने निश्चित भएको छ । कम्पनीले भर्खरै आफ्नो वार्षिक फल इभेन्ट १५ सेप्टेम्बरका दिन नेपाली समयअनुसार राति १०ः४५ बजेदेखि सुरु हुने घोषणा गरेको हो ।

यो इभेन्टसँगै एप्पलको आगामी आईफोन ट्वेल्भ सार्वजनिक हुनसक्ने आशा गरिएको छ । जुन कम्पनीको फाइभजी प्रविधिलाई आत्मसाथ गर्ने पहिलो फोनको रुपमा आउनेछ ।

फाइभजीकै कारण यस वर्ष स्मार्टफोनको बिक्री सुस्त हुने आँकलन गरिएकै थियो । त्यसमाथि कोभिडले यो योजनालाई केही पछाडि धकेलिदियो ।

यो महामारीले एउटा अर्को प्रश्न समेत खडा गरेको छ । त्यो के भने कम्पनी साच्चिकै अर्कोसाता आईफोन ट्वेल्भ सार्वजनिक गर्न तयार छ त ? कि त्यसका लागि अर्को भर्चुअल इभेन्टको पर्खाइमा बस्नुपर्ने हुन्छ होला ?

कोभिडले गर्दा स्मार्टफोनको विश्वबजारले अबको दिनमा समेत बिक्रीमा गिरावटको चुनौती सामना गर्नुपर्ने देखिँदैछ । त्यसै कारणले पनि आईफोनले फाइभजीको प्रतिस्पर्धामा आफूलाई उतार्न त्यतिसाह्रो हतारो नगरेको हुनसक्ने विश्लेषण समेत हुँदै आएका छन् ।

कोभिडको महामारीले थुप्रै उद्योगहरुको आपूर्ति व्यवस्थामा नराम्रोसँग धक्का पुर्‍याएको छ । गत जुलाईमा नै कम्पनीले कोभिडका कारण आईफोन ट्वेल्भ केही साता ढिलोगरी मात्र सार्वजनिक हुने बताएको थियो ।

जुन कम्पनीको अनपेक्षित कदम थियो । त्यसो त अहिलेको समय समेत आफैमा अनपेक्षित नै थियो । लगभग यो इभेन्ट एप्पल वाचमा सीमित हुने देखिन्छ । जसले कम्पनीको राम्रो बिक्री हुने डिभाइसको रुपमा रुपमा निरन्तरता कायम गर्नेछ ।

आएका बिभिन्न हल्लाहरुलाई आधार बनाउने हो भने यो डिभाइस रगतमा अक्सिजनको मात्रा र मुटुको चाल नाप्ने लगायतका हेल्थ मनिटरिङमा केन्द्रीत रहेको छ । यतिमात्र होइन यसमा थप धेरै समय टिक्ने ब्याट्रीलाइफ, पछिल्लो वाच ओएस र निन्द्रा ट्र्याकिङ गर्ने प्रविधि समेत हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०