close

भारतमा प्रतिबन्धित भएपछि टेन्सेन्टसँग सम्बन्ध तोड्दै पब्जी

टेकपाना टेकपाना

भदौ २४, २०७७ ९:१०

भारतमा प्रतिबन्धित भएपछि टेन्सेन्टसँग सम्बन्ध तोड्दै पब्जी

काठमाडौं । चिनियाँ टेक कम्पनी टेन्सेन्ट अब पब्जीको प्रकाशक साझेदार नरहने पब्जीले घोषणा गरेको छ । भारतले पब्जी लगायत ११७ वटा एपमाथि प्रतिबन्ध लगाएपछि भारतसँग सम्बन्ध नरम बनाउन कम्पनीले त्यस्तो घोषणा गरेको हो । 

यसअघिसम्म पब्जी मोबाइल गेमलाई टेन्सेन्ट गेमले भारतमा प्रकाशन तथा वितरण गर्दै आइरहेको थियो । पब्जी कर्पोरेसनले भारतमा प्रकाशन अधिकार टेन्सेन्ट गेमबाट फिर्ता लिएको बताएको छ । तर बजारमा टेन्सेन्ट गेमसँगको आफ्नो सम्बन्धलाई लिएर केही प्रतिक्रिया दिएको छैन । 

नयाँ दिल्लीले गत हप्ता गोपनियता र सुरक्षा कारण देखाउँदै ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यसअघि उसले जूनमा टिकटक लगायत पाँच दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लागू गरेको थियो । 

प्रतिबन्ध अघि भारतमा पब्जीको ४ करोड मासिक सक्रिय प्रयोगकर्ताहरु छन् । नयाँ दिल्लीको निर्देशनको पालना गर्दै गूगल र एप्पल एप स्टोरले त्यहाँ पब्जी गेमलाई हटाइसकेको छ । तर टिकटक जस्तो पब्जी बन्द भइसकेको अवस्थामा छैन । डाउनलोड भइसकेका प्रयोगकर्ताहरुले यसलाई अझै पनि प्रयोग गरिरहेका छन् ।     

पब्जीको टाइटल (पब्जी मोबाइल नोर्डिक म्याप: लिभिक एण्ड पब्जी मोबाइल लाइट) विकास गर्न टेन्सेन्टको पनि संलग्नता भएको हुँदा यसले भारतमा पब्जीको रणनीतिलाई अझ खराब बनाउन सक्ने कम्पनीको अनुमान छ । 

प्रकाशनको जिम्मेवारी टेन्सेन्टबाट खोसिए पनि उसले अझै गेम विकासको जिम्मेवारीलाई निरन्तरता दिन्छ वा दिन्न भन्ने कुरा भने स्पष्ट भएको छैन ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०