close

अब सामसङ र हाइनिक्सले पनि ह्वावेलाई मेमोरी आपूर्ति नगर्ने

टेकपाना टेकपाना

भदौ २४, २०७७ १३:३०

अब सामसङ र हाइनिक्सले पनि ह्वावेलाई मेमोरी आपूर्ति नगर्ने

सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले ह्वावेलाई गर्दै आएको मेमोरी आपूर्ति यसै सेप्टेम्बर १५ देखि रोक्ने भएका छन् । चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि जारी अमेरिकी प्रतिबन्धको असर स्वरुप यस किसिमको अवस्था आएको हो ।

गत मे महिनामा जारी प्रतिबन्धले ह्वावेलाई अमेरिकी प्रविधिमा डिजाइन र उत्पादन गरिएका मेमोरी लगायतका मुख्य उपकरण प्राप्तिमा रोक लगाएको छ । यस किसिमको प्रतिबन्ध घोषणा भएपश्चात गत अगस्टमा अमेरिकाले ह्वावेसँग सम्बद्ध ३८ अंगहरुका लागि समेत त्यसलाई थप विस्तार गरेको थियो ।

जसमा अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र विदेश नीतिको हित विरुद्ध काम गरेको बताउँदै आएको छ । अगस्टको घोषणाले प्रतिबन्धलाई विस्तार गर्दै ह्वावेलाई अमेरिका बाहिर उसको सफ्टवेयर र प्रविधिबाट उत्पादित चिप प्राप्त गर्नबाट समेत रोक लगाएको थियो ।

तत्कालीन समयमा सामसङ र एसके हाइनिक्सले ह्वावेलाई आपूर्ति गर्दै आएको मेमोरीलाई प्रभावित गर्छ वा गर्दैन भन्नेमा केही दुविधा रहेको थियो । तर अहिले आएर ह्वावेलाई सामसङ र हाइनिक्सको मेमोरी आपूर्तिमा रोक लाग्ने विषय प्रस्ट भएको हो ।

यस विषयमा दुवै कम्पनीले आफ्नो घोषणा समेत बाहिर ल्याएका छन् । सामसङ विश्वकै ठूलो मेमोरी सेमिकन्डक्टर निर्माता हो । जसले एप्पल र चिनियाँ स्मार्टफोन निर्मातालाई आफ्नो मेमोरी चिप आपूर्ति गर्दै आएको छ ।

यस अघि ताइवानको सेमेकन्डक्टर उत्पादक टीएसएमसीले गत जुलाइमै ह्वावेको नयाँ अर्डर निलम्बन गरेको थियो । जुन यसै महिनादेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०