close

बिहीबार ओलम्पियाड सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

टेकपाना टेकपाना

भदौ २४, २०७७ २०:३७

बिहीबार ओलम्पियाड सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नेपालमा बिहीबार ओलम्पियाड सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ देशव्यापी सातै प्रदेशमा अन्तर्राष्ट्रिय ओलम्पियाड सम्बन्धी सेमिनार आयोजना गरेको स्टिम फाउण्डेसनले ग्लोबल कन्फ्रेन्स आयोजना गर्न लागेको हो ।

यो कन्फ्रेनस्मा सम्मेलनमा गणित, बायोलोजी, केमिस्ट्री, जुनियर साइन्स, जुनियर म्याथ, रोबोटिक्स लगायतका अन्तर्राष्ट्रिय ओलम्पियाडहरु सम्बन्धि विषयमा अन्तर्राष्ट्रिय अध्यक्षहरुले प्रस्तुती दिनेछन् । साथै अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेताहरुले समेत प्रस्तुती दिने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ । 

नेपालका तर्फबाट विद्यालय, कलेजका छाता संगठनहरु प्याब्सन, एन प्याब्सन र हिसानका प्रमुखहरुका साथै अन्य विशिष्ट व्यक्तिहरुले समेत प्रस्तुती दिनेछन् । सम्मेलनमा नास्टका उपकुलपतिको विशेष प्रस्तुति रहनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको प्रमुख आतिथ्यता रहने यो कार्यक्रम जूम मार्फत भर्चुअल रुपमा आयोजना हुनेछ । सम्मेलन अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली विद्यार्थीहरुको सहभागीता बढाउने विषयमा केन्द्रीत रहनेछ ।

नाष्टसँगको सहकार्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा सम्मेलन आयोजना गर्न लागिएको फाउन्डेसनका संस्थापक अध्यक्ष सर्जन बिसीले जानकारी दिए । 

कार्यक्रमका लागि विज्ञान शिक्षक समाज नेपाल, त्रिवि विज्ञान अनुसन्धान केन्द्र, प्याब्सन, एनप्याब्सन लगायतसँग सहकार्य गरिएको छ । फाउन्डेसनको वेबसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन गरी कार्यक्रममा सहभागी हुन सकिनेछ ।

नेपालले हालसम्म भौतिक विज्ञान, गणित, खगोलशास्त्रङ, जीव विज्ञान, रसायनशास्त्र लगायतका विषयका अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागीता जनाइसकेको छ । सन् १९५९ मा रोमानियाबाट गणित विषयमा ओलम्पियाडको शुरूवात भएको भएको थियो ।

तर नेपालले भने सन् २००६ मा भौतिक विज्ञान विषयबाट पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति देखाएको थियो । अन्तर्राष्ट्रिय ओलम्पियाडमा विषयगत रूपमा ४ देखि ६ जनाले सहभागिता जनाउन सक्नेछन् । जसका लागी राष्ट्रिय प्रतियोगीता अनिवार्य हुन्छ ।

यदि तपाईं पनि बिहीबार बिहान ८ बजेदेखि सुरु हुने अन्तर्राष्ट्रिय ओलम्पियाड सम्बन्धी वेबनारमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर समेत रजिस्टर गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०