close

आफैँ बिजुलीको मिटर रिडिङ गर्न सक्नु भएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २५, २०७७ १२:४

आफैँ बिजुलीको मिटर रिडिङ गर्न सक्नु भएन ? यसो गर्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि नै ग्राहकले आफै मिटर रिड गरी बिजुलीको बिल अनलाइनबाट तिर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना भाइरसका कारण काउण्टरहरु बन्द गर्नुपर्ने र उपभोक्तालाई समेत त्यहाँसम्म पुग्न जोखिम हुने देखिएपछि प्राधिकरणले यस किसिमको व्यवस्था मिलाएको हो ।

जसअनुसार मासिक एक लाख रुपैयाँसम्म महशुल उठ्ने ग्राहकले अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्छन् । अनलाइनबाट बिजुलीको बिल तर्ने व्यवस्थाले उपभोक्तालाई सहज मात्रै बनाएको छैन, यसबाट नियमअनुसारको छूट पनि पाउन सकिन्छ ।

आफै मिटर रिडिङ कसरी गर्ने ?

बिजुलीको बिल तिर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

दायाँ तर्फ युजर लग ईनमा रहेको रजिस्टर बटनमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ ग्राहक रजिस्ट्रेसन फारम खुल्नेछ । त्यसमा ग्राहकको नाम, ईमेल, मोबाइल नम्बर(युजर नेम), र पासवर्ड राख्नुहोस् अनि अन्तिममा रहेको सब्मिट बटनमा थिच्नुहोस् । (यो मोबाइल नम्बर र पासवर्ड याद गरेर राख्नुोस्)

एकछिनमा तपाईंको मोबाइलमा ‘कञ्जुमर साइन अप सक्सेसफुल्ली’ म्यासेज आउनेछ ।

म्यासेज आएपछि अघिकै युजर लग ईनमा गएर आफ्नो मोबाइल नम्बर र भर्खरै तयार पारेको पासवर्ड राखेर लग ईन गर्नुहोस् ।

लग ईनपछि देखाइएको एड कञ्जुमरमा जानुहोस् र सुरुमा रहेको डसीएस नेमको अगाडिको बक्समा आफ्नो विद्युत महशुल भुक्तानी गर्ने शाखा छान्नुहोस् ।

त्यसपछि ग्राहक आईडी तथा ग्राहक नम्बर राखेर सबमिट गर्नुहोस् । जुन तपाईंको यस अघिको मिटर रिडिङ बिलमा समेत पाउन सक्नुहुनेछ ।

तपाईंले भरेको विवरण सबै सही छ भने यति गरेपछि कञ्जुमर रजिस्टरको प्रक्रिया पुरा हुन्छ र तपाईंलाई ‘कन्जुमर एडेड सक्सेसफुल्ली’ भनेर म्यासेज आउनेछ ।

अब होम ट्याबमा जानुहोस् । त्यहाँ तपाईंले एड गरेको कञ्जुमर लिस्ट देखिनेछ । यदि तपाईंले अर्को मिटरको पनि रिडिङ गर्नुपर्ने छ भने त्यहाँ रहेको एड कञ्जुमरमा गएर अघि जस्तै गरी कञ्जुमर रजिस्टर गराउनु सक्नुहुन्छ ।

अब मिटर रिडिङको अंक राख्न त्यहाँ भएको कञ्जुमर नम्बर अथवा क्लिक बटनमा दबाउनुहोस् ।

अब त्यहाँ अनलाइन मिटर रिडिङ इन्ट्री फर्म खुल्नेछ । फर्ममा देखिएको करेन्ट मिटर रिडिङको अगाडिको बक्समा तपाईंको मिटरमा देखिएको अंक राखेर सबमिट गर्नुहोस् । यसमा विकल्पको रुपमा तपाईं विद्युत मिटरको अंक देखिने गरी फोटो खिचेर ब्राउज बटन क्लिक गरी अपलोड गर्न पनि सक्नुहुन्छ । यदि तपाईंले करेन्ट रिडिङमा अंक राख्नु भएको छ भने फोटो अपलोड नगरेपनि हुन्छ ।

आफ्नो मिटरमा देखिएको अंक राख्दा मिटर अंक वास्तविक रहेको यकिन गर्नुहोस् । (मिटरको अंक राख्दा दायाँ तर्फ अन्तिममा देखिने रातो रंगको अंकलाई छोडेर बाँकी अंक राख्नुपर्ने हुन्छ । एभोन मिटर छ भने रातो बटनमा तीन पटक थिच्नुहोस् र देखिने अंक राख्नुहोस् । जेनस मिटरको हकमा मिटरमा रहेको कालो बटन चार पटक थिच्नुहोस् र देखिने अंक राख्नुहोस् ।)

सबमिट गरेपछि रिडिङ इन्सर्टेड सक्सेसफुल्ली भनेर तपाईंलाई म्यासेज आउनेछ । मिटर रिडिङ प्रक्रिया सम्पन्न गरिसकेपछि विभिन्न वालेट तथा कनेक्ट आईपीएसमार्फत विद्युत महशुल भुक्तानी गर्न सक्नुहुन्छ ।

यदि तपाईंले यो प्रक्रियाबाट आफै मिटर रिड गरी विद्युत महशुल बुझाउन सक्नु भएन भने ११५० मा कल गर्नुहोस् र आफ्नो मिटर अंक टिपाएर मिटर रिडङ इन्ट्री गराउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०