close

महामारीमा टेलिकम र इन्टरनेट सेवा : कतै मर्का, कतै अवसर

टेकपाना टेकपाना

भदौ २५, २०७७ २१:२२

महामारीमा टेलिकम र इन्टरनेट सेवा : कतै मर्का, कतै अवसर


काठमाडौं । कोभिड १९ का कारण सबैतिर नराम्ररी असर परिरहँदा इन्टरनेट र दूरसञ्चार क्षेत्र भने सधैं व्यस्त नै बनिरहेका छन् । यो अवधिमा कसैले सेवा उपभाेगकाे उच्च चाप भोगिरहेका छन् । कसैलाई नयाँ ग्राहक बनाउन धौधौ छ त कसैले भएका ग्राहकहरु गुमाइरहेका छन् ।

फाइबर, डिभाइस, रिचार्ज कार्ड लगायतमा आपूर्ति समस्या हुँदा धेरै सेवाप्रदायकले ग्राहकलाई सेवा दिन पाएका छैनन् भने नयाँ ग्राहक विस्तारमा पनि समस्या आएको छ । यता गुणस्तरीय सेवा नपाउँदा सेवाग्राहीका गुनासाेका चाङ थुप्रिएका छन् । काेभिडले सेवा प्रदायकहरूहरूका लागि समस्या र अवसर दुवै सिर्जना गरिदिएकाे छ ।

यसैबीच बिहिबार आर्थिक पत्रकार समाजले आयोजना गरेको एक भर्चुअल अन्तर्क्रियामा सहभागीहरुले कोभिडपछिका मर्का र अवसरबारे कुरा खोतले ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको छ । लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएको छ भने अब कनेक्टिभिटीसँगै कन्टेन्टमा लगानी बढाएर नागरिकलाई विद्युतीय प्रणालीबाट सेवा दिनुपर्ने बेला आएको छ ।

ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले अब कन्टेन्ट सुधारमा जानु आवश्यक भएको सराेकारवालाले बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनकै समयमा पनि अफवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइबर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई–शिक्षा प्याकेजमा प्राधिकरणले काम गरेको बताए ।

कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उनको अनुभव छ ।

कोभिडका कारण डेटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिटीकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंका समेत बढेको छ ।

ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभिटी र कन्टेन्ट दुवैको अवस्था दयनीय भएको बताए । शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो रुप लिने हुँदा सचेत हुन पनि उनले आग्रह गरे ।

नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी भेगमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेक्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए ।

धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैं सेवा विस्तार गर्छन्, जहाँ अप्ठ्याराे छ, त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । उनले कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए ।

हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ । ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी चाेङले कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डेटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

पछिल्लो प्रविधि फाइभजीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत दिए । उनको कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलब्ध गराएको बताए ।

उनले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत स्कूल शिक्षा, स्वाथ्य सामाग्री, कोभिड सम्बन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिम कार्ड वितरण लगायतका कार्यहरु गरेको बताए ।

यता इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म वृद्धि भएको भन्दै उपभोक्ताको रुचि र प्रयोग फेरिएको बताउँछन् ।

पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदायकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौधौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष उनले आग्रह गरे ।

यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०