close

यसरी सजिलैसँग बुझ्नुहोस्, डिस्प्लेको प्रविधि

टेकपाना टेकपाना

भदौ २६, २०७७ ११:२०

यसरी सजिलैसँग बुझ्नुहोस्, डिस्प्लेको प्रविधि

काठमाडौं । जब तपाईं नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ, तब तपाईंको फोनको क्यामेरा, ब्याट्री, प्रोसेसरमा धेरै ध्यान जान्छ । तर तपाईंले सबैभन्दा धेरै समय बिताउने स्क्रिनमा भने तपाईंले त्यति ख्याल गर्नुहुन्न । 

तपाईंले स्क्रिनमा ध्यान नजानुको पछाडि नयाँ प्रविधिको बारेमा त्यति साह्रो जानकारी नभएर पनि हुनसक्छ । किनभने आजभोलि प्रविधि यति चाँडो र छिटो परिवर्तन भइरहेको छ कि तपाईं नियमित अपडेट हुनुभएन भने पछाडि पर्दै जानुहुन्छ । 

यस्तो बेला स्क्रिनको प्रविधिलाई बुझ्न त्यसका शब्दावलीको बारेमा ख्याल राख्न जरुरी छ । आईपीएस एलसीडी, टीएफटी एलसीडी, एमोलेड, सुपर एमोलेड जस्ता शब्दावली तपाईंले पक्कै पनि सुन्दै आइरहनु भएको छ ।

तर यी के हुन् र यीमध्ये तपाईंको लागि कुन स्क्रिन उपयुक्त हुन्छ भन्ने कुरा चाहिँ छुट्याउन निकै अप्ठ्यारो परिरहेको हुन्छ । स्मार्टफोनको स्क्रिन चयन गर्दै गर्दा तपाईंले दुईवटा कुरामा विशेष ध्यान दिन आवश्यक छ ।

एउटा भनेको स्क्रिन साइज र अर्को पीपीआई अर्थात् पिक्सल पर इन्च । आज हामी तपाईलाई विभिन्न किसिमका स्क्रिन प्रविधिको बारेमा बताउँदै छौं । 

एलसीडी (लिक्विड क्रिस्टल डिस्प्ले)

पछिल्ला केही वर्षदेखि हामी एलसीडी डिस्प्ले प्रयोग गरिरहेका छौं । हामीले पहिले पहिले कम्प्युटर प्रयोग गर्दा सीआरटी मनिटर प्रयोग गर्थ्यौं । त्यसलाई विस्थापन गरेर एलसीडी मोनिटर आयो ।

तर मोबाइलमा तपाईंले पाउने एलसीडी स्क्रिन सिधै एलसीडीको रुपमा पाउनुहुन्न । यसमा पनि विभिन्न किसिमको उन्नति भएका छन् । जस्तै टीएफटी एलसीडी,  आइपीएस एलसीडी, एसआईपीएस एलसीडी, सुपर एलसीडी । 

टीएनपी एलसीडी

तपाईंको कम्प्युटरको मनिटरमा धेरैजस्तो टीएन प्यानल अर्थात् ट्वीस्टेड निमेटिक प्यानल हुन्छ । १०, ११ वर्ष अघिका सस्ता एन्ड्रडोइड फोनमा यी प्यानल राख्ने गरिन्थ्यो । यसको गुणस्तर एकदमै बेकारको हुन्छ । यसले ऊर्जा खपत पनि धेरै गर्छ । मोटो र भिविङ एंगल पनि यसमा आकर्षक हुँदैन । 

टीएफटी एलसीडी

टीएफटी अर्थात् थिन फ्लिम ट्रान्जिस्टर एलसीडी डिस्प्लेमा केही सुधार गरिएको थियो । तर यसले त्यति राम्रो काम गर्न सकेन ।

यसमा कन्ट्रास्ट त्यति राम्रो छैन र रंग पनि तेजिलो देखिन्न । एकदमै मधुरो देखिन्छ । भिविङ एंगल पनि खासै राम्रो हुँदैन र पावर खपत पनि धेरै हुन्छ ।

आईपीएस एलसीडी 

आईपीएस अर्थात् इन प्लेन स्विचिङ एलसीडी । एलसीडी स्क्रिनमध्ये यो सबैभन्दा राम्रो हुन्छ । यसमा तीन वटा कुराको विशेष ख्याल राखिएको हुन्छ । 

यसमा कलर प्रडक्सन एकदमै सही हुन्छ । यो स्क्रिनमा देखिने रंग वातावरणमा नाङ्गो आखाँले देखिने रंग जस्तै हुन्छ । यसको भिविङ एंगल पनि धेरै बढाइएको छ । 

यसमा छेउबाट हेर्दा पनि १७६.१७८ डिग्री भ्यू देख्न सकिन्छ । यो एकदमै पातलो हुन्छ । यसलाई फोनको डिजिटाइजरसँग जोडेर दिइएको हुन्छ । 

सुपर एलसीडी  

टीएफटी एलसीडीलाई सुधार गरेर सुपर एलसीडी बनाइयो । तर यो सुपर एलसीडी भनिए जस्तो राम्रो बन्न सकेन ।

एचटीसीका फोनहरु वान एम सेभेन, एम एट जति पनि थिए, ती फोनहरुमा कम्पनीले यस किसिमको एलसीडीको प्रयोग गरेको थियो । प्रविधि राम्रो थियो, तर आईपीएस जस्तो राम्रो भने थिएन ।

ओएलईडी  वा एमोलेड

ओएलईडी भनेको अर्गानिक एलईडी स्क्रिन प्रविधि हो । यो एलसीडी प्रविधिभन्दा फरक छ । एलसीडीमा पुरै स्क्रिनको पछाडि एउटा ब्याकलाइट दिएर डिस्प्लेमा उज्यालो बनाउनु पर्द्थ्यो । 

तपाईंले स्क्रिनमा देख्ने सबै रंगहरु स्क्रिनको ब्याकलाइट अन भएको कारणले सम्भव थियो । जसले एकदमै धेरै पावर खाने गर्दथ्यो । तर ओएलईडीले फोनको प्रत्येक पिक्सेललाई एक एक वटा एलईडी बनाइदियो ।

यसले गर्दा स्क्रिनलाई ब्याकलाइटको आवश्यकता परेन र आवश्यक परेको समय आवश्यक पिक्सेल मात्रै अन हुन्छन् । यसले पावर बचत पनि गर्छ ।  यसका मूख्य दुई वटा उपयोगीता छन् ।

एउटा भनेको कालो रंग हो । पिक्सेलहरु चाहिएको बेला मात्र अन हुन्छन् । जब पिक्सेल अन हुँदैनन्, तब त्यो शुद्ध कालो हुन्छ । अरु स्क्रिनमा जस्तो रंग मिश्रित कृतिम कालो हुँदैन । दोस्रोमा कन्ट्रास्ट रेसियो पुरै स्पष्ट हुन्छ । कालोमा पुरै कालो सेतोमा विशुद्ध सेतो ।

आईपीएस एलसीडी भर्सेस एमोलेड 

यदि हामीले आईपीएस र एमोलेडको तुलना गर्ने हो भने आईपीएसमा रंग एकदमै शुद्ध हुन्छ । एमोलेडमा रंग शुद्ध हुँदैन । तर यो आखाँको लागि राम्रो रंग मानिन्छ । आईपीएसमा ब्राइटनेस  कम हुन्छ र एमोलेडमा धेरै हुन्छ । 

ब्राइटनेसको मामिलामा आईपीएस घामको प्रकाशमा पनि राम्रो देखिन्छ । किनभने यसको पछाडि ब्याकलाइट हुन्छ । एमोलेडमा प्रत्येक पिक्सेलमा लाइट हुन्छ र यसलाई राम्रोसँग देख्न सकिन्न । 

आईपीएसको तुलनामा एमोलेडले कम पावर खपत गर्छ । आईपीएस थोरै मोटो हुन्छ र तर एमोलेड एकदमै हलुको र पातलो हुन्छ । मूल्यमा पनि एमोलेड आईपीएसको तुलनामा महंगो हुन्छ । 

कलर एक्युरेसीको विवाद भने आजभोली अन्त्य भएको छ । किनभने आजभोली हरेक फोनमा कलर टेम्प्रेचर घटाउने बढाउने विकल्प हुन्छ । 

रेटिना डिस्प्ले 

रेटिना डिस्प्ले अहिलेको सबैभन्दा विशेष डिस्प्ले प्रविधि हो । जसलाई एप्पलले रेटिना डिस्प्ले नाम दिएको छ । रेटिना एप्पलले प्रयोग गरेको मार्केटिङ टूल हो । यसलाई लिएर निकै चर्चा पनि भयो ।

तर यसमा खास केही छैन । यो एउटा आईपीएस एलसीडी डिस्प्ले हो । यसमा पिक्सेल डेन्सिटी धेरै बनाइएको हुन्छ । आजका हरेक हाई ईण्ड स्मार्टफोनमा रेटिना डिस्प्ले प्रयोग गरिएको हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०