close

विद्यालयको आईटी ल्याबमा कुनै गुनासो भए टिपाउन प्राधिकरणको आग्रह

टेकपाना टेकपाना

भदौ २७, २०७७ ७:३९

विद्यालयको आईटी ल्याबमा कुनै गुनासो भए टिपाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आईटी ल्याब सम्बन्धी कुनै गुनासो भए टिपाउन आग्रह गरेको छ । सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका विद्यालयहरुसँग भएको समझदारी अनुसार केही समस्या, गुनासो वा प्रतिक्रिया भए उपलब्ध गराउन भन्दै प्राधिकरणले विज्ञप्ति प्रकाशित गरेको हो ।

नेपाल सरकारको डिजिटल नेपाल अभियानमा टेवा पुग्ने गरी सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सामुदायिक विद्यालयमा गरिने शिक्षण विधिलाई गुणस्तरीय एवम् प्रतिस्पर्धी बनाउन भन्दै सरकारले देशका ९३० विद्यालयमा आईटी ल्याब स्थापनाको परियोजना अगाडि बढाएको थियो ।सरकारको निर्देशन तथा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा चार वटा सामुदायिक विद्यालयमा छनौट गरिएको थियो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयबाट एक हजार सामुदायिक विद्यालय छनौट भएका थिए । त्यसका लागि बोलपत्रमार्फत ओम्नी सहितको जेभी कम्पनीलाई करिब साढे तीन अर्बमा उक्त ठेक्का दिइएको थियो । छ महिनाभित्र सम्पन्न गरिसक्ने शर्तमा गत वर्षको भदौ २५ मा प्राधिकरणले उक्त जेभीसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार फागुन २५ भित्र सम्पन्न भइसक्नु पर्ने परियोजनामा प्राधिकरणले कोभिड १९ को विषम परिस्थितिमा कतिपय विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोगमा आएको तथा बन्दाबन्दीका कारणले विद्यालय बन्द रहेका कारण परयोजना समयमै सम्पन्न हुन नसकेको आशय व्यक्त गरेको छ ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा विद्यालय सुचारु भएको ४५ दिनभित्र कार्य सम्पन्न गर्ने गरी उक्त सम्झौताको समयावधि थप गरिएको उल्लेख छ । हालसम्म ८९८ वटा विद्यालयमा तोकिएका उपकरण पुगिसकेको तथा ७२५ विद्यालयमा आवश्यक उपकरण जडान भइ सूचना प्रविधि प्रयोगशाला स्थापना भइसकेको जानकारी आपूर्तिकर्ताबाट प्राप्त भएको बताइएको छ ।

आपूर्तिकर्ता संस्थाबाट सम्झौताअनुसार कार्य भए नभएको विषयमा जाँचबुझ गर्न छुट्टै परामर्शदाता कम्पनी नियुक्त गरिएको छ । उक्त परामर्शदाताबाट सम्झौता बमोजिमका ५० प्रतिशत विद्यालयमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरी प्रतिवेदन समेत प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ ।

सम्झौता भएको तीन महिनामै अर्थात २०७६ को मंसिर २५ भित्र सम्पन्न भइसक्नुपर्ने तालिम समेत कोभिड १९ का कारण हुन नसकेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ । ‘कोभिड १९ को विषम परिस्थितिको कारणले नेपाल सरकारले २०७६ फाल्गुनदेखि गोष्ठी तथा सभा सम्मेलन लगायतको कार्यमा प्रतिबन्ध लगाएको तथा बन्दाबन्दीको अवस्था समेत हुन गएकोले आपूर्तिकर्ता संस्थाबाट तालिम प्रदान गर्ने कार्य हुन नसकी उक्त कार्य बाँकि रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सभा, सम्मेलन तथा गोष्ठी गर्ने कार्यमा नेपाल सरकारबाट लगाइएको प्रतिबन्ध फुकुवा हुने वित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको तालिम प्रदान गर्ने गरी हाललाई तालिम वापतको रकम रोक्का गरिएको प्राधिकरणको स्पष्टोक्ती छ ।

सुरुवाती चरणमा मोबिलाइजेसन रकमको रुपमा ७० करोड भुक्तानी गरेको प्राधिकरणले हाल दोस्रो चरणको भुक्तानी स्वरुप कम्पनीलाई ३० प्रतिशत अर्थात करिब एक अर्ब पाँच करोड रुपैयाँ समेत निकासा गरिएको छ ।

प्राधिकरणले आईटी ल्याब स्थापना गरिसकेका विद्यालयको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०