close

क्याम्पस फिचरसँगै आफ्नो विगतमा फर्कियो फेसबुक

टेकपाना टेकपाना

भदौ २७, २०७७ ८:४७

क्याम्पस फिचरसँगै आफ्नो विगतमा फर्कियो फेसबुक

काठमाडौं । कलेज केन्द्रित सामाजिक सञ्जालको रुफमा फेसबुक पुन: आफ्नो विगतमा फर्किएको छ । फेसबुकले आफ्नो नयाँ सोसल नेटवर्किङ प्लेटपर्म फेसबुक क्याम्पस सार्वजनिक गरेको छ । 

फेसबुकको यो नयाँ प्लेटफर्म कलेजका विद्यार्थीहरुको लागि बनाइएको विशेष स्पेस हो । यहाँ विद्यार्थीहरु आफ्ना सहपाठीहरुसँग जोडिन सक्छन् । ग्रुप बनाउन, कलेजको नयाँ कार्यक्रम हेर्न र विद्यालय प्रशासनबाट अपडेट पाउन, क्याम्पस ग्रुप, क्लब र डर्महरुमा साथीभाईसँग च्याट गर्न सक्छन् ।  

तर नयाँ प्लेटफर्ममा जोडिनका लागि विद्यालयको इमेल एड्रेस (@.edu) आवश्यकता पर्दछ । फेसबुक एपभित्र रहेको एउटा विशेष डेडिकेटेड सेक्सनभित्र यो लाइभ हुन्छ । स्क्रीनको तलपट्टि रहेको ट्याब, वाच, डेटिङ, गेमिङ, न्युज, मार्केटप्लेस र अन्य सेक्सनसँगै रहेको ‘मोर’ मेनुबाट यो सेक्सनमा पुग्न सकिन्छ ।

‘हामी यस्तो प्रोडक्ट बनाउन चाहान्छौं, जहाँ सहपाठीहरुलाई एकअर्कोसँग भेटघाट गर्न नयाँ सम्बन्ध विस्तार गर्न र कुराकानी गर्न सजिलो होस्,’ फेसबुक क्याम्पस प्रोडक्ट म्यानेजर चारमेनी हङले भनिन् ।

कोभिडको समयमा विद्यार्थीहरु कलेज जान नपाइरहँदा सहपाठी तथा कलेजसँग जोडिन सान्दर्भिक र उपयुक्त माध्यम भएको हङले बताइन् । 

फेसबुकले टिनेजरहरुको समस्यालाई सम्बोधन गर्न खोजेको र फेसबुक क्याम्पस त्यसैको समाधान भएको उनी बताउँछिन् । 

युवाहरु युट्युब, स्नापच्याट र इन्स्टाग्राम जस्ता सोसल एपहरुतिर आकर्षित भइरहँदा उनीहरु माथिको पकड फेसबुकले गुमाइरहेको रिपोर्टहरुले देखाउँदै आइरहेका छन् ।

प्यु रिसर्च सेन्टरको २०१८ को अध्ययन अनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५१ प्रतिशत अमेरिकी प्रयोगकर्ताहरुले फेसबुक प्रयोग गर्दथे । तर २०१५ मा सोही उमेर समूहका १ प्रतिशत युवाहरुले फेसबुक प्रयोग गर्ने बताएका थिए । 

यसबीच एडिसन रिसर्चको २०१९ को सर्वेक्षण अनुसार फेसबुकले २०१७ मा आफ्ना डेढ करोड प्रयोगकर्ता गुमाएको थियो । प्रयोगकर्ता संख्याको यो भारी गिरावट १२ देखि ३४ वर्ष उमेर समूहबाट भएको थियो । 

फेसबुकभित्रै प्राइभेट नेटवर्किङको लागि एक्स्क्लुसिभ ठाउँ दिएर अहिले फेसबुक ती उमेर समूहका प्रयोगकर्तामाथि पुन: आफ्नो पकड कायम गर्ने योजनामा छ । 

यो फिचर सार्वजनिक भएलगत्तै अमेरिकाका ३० वटा कलेज तथा विश्वविद्यालयमा एक्टिभेट हुनेछ । कम्पनीले समयसँगै यसलाई विस्तार गर्ने योजना बनाएको छ । 

फेसबुक कम्पनीको विगतलाई फर्केर हेर्ने हो भने पनि मार्क जुकरवर्गले आफ्नो विद्यार्थी जीवनमा यो एपलाई आफ्नो कलेज प्रोजेक्टका रुपमा सुरु गरेर कलेज एपको रुपमा सुरु गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०