close

ग्राहकबाट १२२ करोड ठगेको विषयमा कारबाही किन नगर्ने भन्दै एनसेललाई प्राधिकरणको स्पष्टीकरण

टेकपाना टेकपाना

भदौ २७, २०७७ ११:४६

ग्राहकबाट १२२ करोड ठगेको विषयमा कारबाही किन नगर्ने भन्दै एनसेललाई प्राधिकरणको स्पष्टीकरण

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नियामक निकायको निर्देशन अवज्ञा गर्दै ग्राहकबाट १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी असुल गरेको अध्ययनले देखाएको छ । यसअघि ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरेकोग्राहकले गुनासो गरेपछि पैसा फिर्ता दिने गरेको समाचार टेकपानाले सार्वजनिक गरेको थियो ।

उक्त समाचार र ग्राहबाट आएको गुनासोका आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उक्त अध्ययन गरेको थियो । अध्ययनमा ग्राहकबाट एनसेलले १ अर्ब २२ करोडको हाराहारीमा असुल गरेको देखिएको छ ।

उक्त अध्ययन प्रतिवेदनकै आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले यही भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै पत्र काटेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार एनसेललाई सुरुमा स्पष्टीकरणका लागि तीन दिनको समय दिइएको थियो ।

तर, कम्पनीले कोभिड–१९ का कारण एक हप्ता समय थप गरिदिन माग गरेकाले प्राधिकरणबाट समय थप भएको छ । ‘हामीले एनसेललाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छौं । उसले दिएको जवाफ चित्त बुझ्दो नदेखिएको खण्डमा कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’

यसअघि २०७५ असोज १४ को निर्णयअनुसार प्राधिकरणले असोज १५ मा एनसेललाई भ्यालु एडेड सेवा (भ्यास) स्वतः नवीकरण गर्ने कार्य बन्द गर्न निर्देशन दिएको थियो । तर, कम्पनीले उक्त निर्देशनको समेत अवज्ञा गर्दै विगत दुई वर्षदेखि त्यसलाई निरन्तरता दिएको अध्ययनबाट फेला परेको छ ।

अध्ययन प्रतिवेदनअनुसार एनसेलले ०७४ सालदेखि नै यस किसिमका सेवा सञ्चालनमा ल्याएको थियो । तर, अध्ययनमा भने २०७५ जेठदेखि ०७७ वैशाखसम्मको तथ्याङ्क मात्र समावेश गरिएको छ ।

उक्त अवधिमा कम्पनीले गेमलफ्ट, एप ग्यालरी जस्ता सेवाको दैनिक, तीन दिने, साप्ताहिक र मासिक प्याकमार्फत कूल दुई अर्ब २२ कराेड १६ लाखको हाराहारीमा आम्दानी गरेको देखिएको छ ।

‘प्राधिकरणले भ्यासको स्वतः नवीकरण बन्द गर्न निर्देशन दिइएकोमा सोविपरीत एप ग्यालरी, गेमलफ्टका विभिन्न सेवा सेवाग्राहीको स्वीकृतिबिना रिन्यू, रिकरिङ, रिन्यूअलजस्ता शब्दावली प्रयोग गरी शुल्क लिँदै आएको पाइएकाले दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) अनुसार ५० हजार जरिवाना र सेवाग्राहीलाई पुग्न गएको हानिनोक्सानीको जम्मा बिगो रकम १ अर्ब २ करोड २ लाख ८९ हजार असुल गरी सेवाग्राहीलाई क्षतिपूर्ति किन नभराउने ?’ प्राधिकरणले एनसेललाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्राधिकरण स्रोतका अनुसार गेमलफ्ट अन्तर्गत एनसेलमा तीन दिनमा सेवा स्वतः नवीकरण हुने ग्राहकको संख्या १९ लाख ५४ हजार देखिएको छ । त्यस्तै हप्ता दिनमा स्वतः नवीकरण हुने ग्राहक एक लाख ११ हजारको हाराहारीमा रहेका छन् ।

जसमार्फत कम्पनीले दुई वर्षमा कुल १२ करोड एक लाख २७ हजार भन्दा बढी आम्दानी गरेको छ ।त्यस्तै एप ग्यालरीतर्फ एनसेलले प्राधिकरणबाट स्वीकृति नै नलिइ ०७५ साउन १ गतेदेखि एप ग्यालरी नामको भ्यालु एडेड सर्भिस सञ्चालनमा ल्याएको थियो ।

‘प्राधिकरणबाट स्वीकृति नै नलिई सेवा सञ्चालनमा ल्याएको भन्दै दूरसञ्चार ऐनको दफा ४७(२) बमोजिम पाँच लाख रुपैयाँ जरिवाना किन नगर्ने र दुई वर्षमा उक्त सर्भिसबाट आम्दानी गरेको एक अर्ब दुई करोड दुई लाख रुपैयाँभन्दा बढी रकम सेवाग्राहीलाई क्षतिपूर्ति किन नभराउने ?,’ एनसेलको स्पष्टीकरणमा अगाडि सोधिएको छ ।

प्राधिकरण स्रोतका अनुसार एप ग्यालरीतर्फ एनसेलका दैनिक नवीकरण हुने ग्राहकको संख्या वैशाखसम्म ५९ लाख ७५ हजार, साप्ताहिक स्वतः नवीकरण हुने ग्राहकको संख्या ६३ लाख १७ हजार छ । त्यस्तै तीन दिनमा रिन्यू हुने ग्राहक ५० लाख ६८ हजार र मासिक नवीकरण हुने ग्राहक ७९ जना रहेका छन् ।

जसमार्फत कुल एक अर्ब दुई करोड दुई लाख रुपैयाँ भन्दा बढी रकम एनसेलले आम्दानी गरेको देखिन्छ । प्राधिकरणले माग गरेको स्पष्टीकरणमा भनिएको छ, ‘प्राधिकरणबाट सेवा र शुल्कको स्वीकृति नलिई स्वतः नवीकरण हुने गरी सञ्चालनमा रहेका गेमलफ्ट र एप ग्यालरी नामका भ्यास सेवा तत्काल किन बन्द नगर्ने ? साथै प्राधिकरणबाट दिएको निर्देशन पालना नभएसम्म विदेशी मुद्रा सिफारिस लगायत प्राधिकरणबाट प्रदान गरिने सेवा सुविधा किन उपलब्ध गराउने ?’

नियामकले कम्पनीलाई विभिन्न बुँदामा प्रष्ट पार्न भनेको छ । एनसेलले भ्यास सेवा र भ्वाइस, डेटा प्याकेजलगायत सेवा सञ्चालन गर्दा सब्सक्रिप्सन पेज, एसएमएस नोटिफिकेसन, मोबाइल एप सीडीआर, बिलिङ सिस्टममा फरकफरक शब्दावली प्रयोग गरी सेवाग्राहीलाई झुक्याउने कार्य किन गरेको ? भनेर प्रश्न समेत उठाएको छ ।

स्पष्टीकरण पत्रमा अगाडि सोधिएको छ, ‘शब्दमा एक रूपता कायम हुने गरी शब्दावली प्रयोग किन नगरेको ? ग्राहकले सजिलै सेवा बन्द गर्ने, सेवा बन्द गर्न सक्ने बटन, कति दरका कुन–कुन सेवा लिएको छ भनी सजिलै हेर्न सक्ने गरी मोबाइल एपमा किन सेवाग्राहीलाई जानकारी उपलब्ध नगराएको ?’

नियामकको अध्ययन अनुसार एनसेलले हाल ४० वटा भन्दा बढी भ्यास सर्भिस प्याक सञ्चालन गरिरहेको र ती सेवामा पनि स्वतः नवीकरण हुने बनाइएको छ । त्यस्ता सेवा तत्काल बन्द गराउन किन निर्देशन नदिने स्पष्ट पार्न समेत प्राधिकरणले भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०