close

भारतभन्दा १० गुणा महंगो छ नेपालको मोबाइल डेटा

टेकपाना टेकपाना

भदौ २८, २०७७ १५:२

भारतभन्दा १० गुणा महंगो छ नेपालको मोबाइल डेटा

काठमाडौं । छिमेकी मुलुक भारतका प्रयोगकर्ताले विश्वकै सस्तो मोबाइल डेटा प्रयोग गरिरहँदा नेपालमा भने डेटाको मूल्य त्यसभन्दा करिब दश गुणा बढी महंगो देखिएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतकाे माेबाइल डेटामा करीब हजार प्रतिशत (९५५.५५ प्रतिशत)को अन्तर देखिएको हो ।

सर्भेक्षण अनुसार भारतमा एक जीबी डेटा प्याकेजको औषत मुल्य ०.०९ अमेरिकी डलर (१०.६६ रुपैयाँ) मात्र पर्छ । अझ त्यहाँको सबैभन्दा सस्तो ३० दिने प्याकेजमा प्रति जीबी ०.०२ अमेरिकी डलर (२.३५ रुपैयाँ) मात्र पर्न आउँछ ।

सर्वेक्षणमा विभिन्न भारतीय मोबाइल सेवाप्रदायकका ६० वटा डेटा प्याकेजलाई समावेश गरिएको थियो । नेपालमा भने १ जीबी डेटाका लागि औषत रुपमा १०४.५३ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाली मोबाइल सेवा प्रदायक कम्पनीका कुल ३४ वटा डेटा प्याकेज समेटिएको सर्वेक्षणमा सबैभन्दा सस्तो प्याकेजकै लागि प्रति जीबी ३१.९२ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था देखिएको छ ।

एसिया क्षेत्रमा नेपालको डेटा अन्य छिमेकी मुलुक चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमार, भियतनाम, इन्डोनेसिया, मंगोलिया, इरान जस्ता देशहरुमा भन्दा पनि महंगो छ ।

प्रति जीबी डेटाको औषत मूल्य श्रीलंकामा ०.५१ डलर, भियतनाममा ०.५७ डलर, चीनमा ०.६१ डलर र इन्डोनेसियामा ०.६४ डलर रहेको छ । त्यसैगरी पाकिस्तानमा ०.६९ डलर, बंग्लादेशमा ०.७० डलर, मंगोलियामा ०.७४ डलर, इरानमा ०.७५ डलर र म्यानमारमा ०.७८ डलर रहेको छ ।

यद्यपी २२८ मुलुक समेटिएको यो अध्ययनमा नेपाल ३१ औं सस्तो मुलुक हो । २३० देश समेटिएको दुई वर्ष अघिको सर्वेक्षणमा नेपाल ४५ औं स्थानमा रहेको थियो । दुई वर्ष अघि एक जीबी डेटाको औषत मुल्य २५६.५३ रुपैयाँ पर्ने नेपालले दुई वर्षको अवधिमा १४ स्थान सुधार गरेको हो ।

फिक्स्ड लाइन ब्रोडब्याण्ड इन्टरनेटमा भने नेपाल विश्वकै १३ औं सस्तो मुलुकमा पर्छ । तर त्यसको स्पीडमा भने नेपाल निकै पछाडि रहेको छ ।

भारतपछि अरु कुन देशमा छ सस्तो ?

विश्वमै सस्तो डेटा हुने मुलुकमा भारतपछि क्रमशः किर्गिस्तान, कजाखस्तान, युक्रेन, रुवान्डा र सुडान लगायतका मुलुक छन् । एक जीबी डेटाको औषत मुल्य कार्गिस्तानमा ०.२७ डलर, कजाखस्तानमा ०.४९ डलर, युक्रेनमा ०.५१ डलर, रुवान्डामा ०.५६ डलर र सुडानमा ०.६८ डलर रहेको छ ।

जहाँ छ विश्वकै महंगो डेटा

सेन्ट हेलेना, फोकल्याण्ड, नौरु, बर्मुडा, मलावी जस्ता देशहरु विश्वकै महंगो डेटा हुने मुलुकमा पर्दछन् । २२८ औं स्थानमा रहेको सेन्ट हेलेनामा विश्वकै सबैभन्दा महंगो डेटा भएको देश हो ।

जहाँ औषत रुपमा प्रति जीबी डेटाका लागि नै ५२.५० डलर अर्थात आजको विनिमय दरअनुसार ६,१६१ रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०