close

नेपालको अनौठो विकास : मोबाइल पहुँचमा विश्वमै पहिलो, इन्टरनेटमा पुछारतिर

टेकपाना टेकपाना

भदौ २८, २०७७ १३:७

नेपालको अनौठो विकास : मोबाइल पहुँचमा विश्वमै पहिलो, इन्टरनेटमा पुछारतिर

काठमाडौं । नेपालको मोबाइल र इन्टरनेट सेवाको विकास प्रवृत्ति अचम्मको देखिएको छ । हालै सार्वजनिक सोसल प्रोग्रेस इन्डेक्स (सामाजिक विकास सूचकाङ्क) मा मोबाइल सेवामा पहिलो स्थानमा देखिएको नेपाल इन्टरनेट प्रयोगमा भने पुछारतिर परेको हो ।

सूचकाङ्क प्रतिवेदन अनुसार कूल जनसंख्याको १३९.४५ प्रतिशत सब्स्क्रिप्सनका साथ नेपाल मोबाइल सेवामा विश्वकै पहिलो स्थानमा छ । तर सँगसँगै जनसंख्याको ३४ प्रतिशत प्रयोगकर्ताका साथ इन्टरनेट सेवामा भने १३४ औं स्थानमा धकेलिएको छ ।

अझ विद्युतीय सेवाको मामिलामा त नेपालको अवस्था झन् नाजुक छ । रिपोर्टअनुसार नेपालमा अनलाइनमार्फत सरकारले दिने सेवाको पहुँच समेत निकै कमजोर देखिएको छ । जसमा नेपाल १३६ औं स्थानमा छ । त्यसैगरी मिडिया सेन्सरशिपमा नेपाल ६६ औं स्थानमा आउँछ ।

नेपालको स्थान यसरी समग्रमा सूचना तथा सञ्चारको पहुँचको हिसावले नेपाल ६०.६१ स्कोर भ्यालुका साथ विश्वमै ११३ औं नम्बरमा देखिएको छ ।

यसबाहेक आधारभूत मानवीय आवश्यकता, अवसर, खानेपानी तथा सरसफाई, व्यक्तिगत स्वतन्त्रता तथा रोजाई, बसोबास, स्वास्थ्य, समावेशिता, व्यक्तिगत सुरक्षा, वातावरण, शिक्षा लगायतको समग्र सामाजिक विकास सूचकाङ्‍कमा नेपाल १६३ देशमा ११४ औं स्थानमा सीमित छ ।

सूचना प्रविधिमा पहुँचको हिसावले दक्षिण कोरिया पहिलो नम्बरमा छ । जहाँ कूल जनसंख्याको तुलनामा मोबाइल सब्सक्रिप्सन १२९.६७ प्रतिशत तथा इन्टरनेट प्रयोगकर्ताको संख्या ९६.०२ प्रतिशत रहेको छ ।

त्यतिमात्र होइन अनलाइनमार्फत सेवा दिनेमा समेत कोरिया पहिलो नम्बरमा छ । तर समग्र सामाजिक विकास सूचकाङ्कमा भने पहिलो नम्बरमा नर्वे परेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०