close

एक अर्ब १८ करोड लागतमा टेक्नोलोजी इनोभेसन सेन्टर खोल्दै काठमाडौं विश्वविद्यालय

टेकपाना टेकपाना

भदौ २९, २०७७ १५:१८

एक अर्ब १८ करोड लागतमा टेक्नोलोजी इनोभेसन सेन्टर खोल्दै काठमाडौं विश्वविद्यालय

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) स्थापना गर्ने भएको छ । सेन्टरका लागि आवश्यक विशेष भवन निर्माणका लागि सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा शिलान्यास गरिएको छ ।

शिलान्यासका लागि आयोजित विशेष कार्यक्रमबीच भवनको प्रतिमा अनावरण गर्नुका साथै सेन्टरको आधिकारिक वेबसाइटको सुरुवात समेत गरिएको छ । कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, विश्वविद्यालयका पदाधिकारीहरू, नगरप्रमुखहरू, जिल्लास्थित कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

करिब तीन हजार ११७  वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिने उक्त भवन दक्षिण कोरियाली सरकारको सहयोगमा सञ्चालित एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत बन्न लागेको हो । परियोजनाका लागि प्राप्त १० मिलियन डलर (एक अर्ब १८ करोड रुपैयाँ) मध्ये भवनका लागि करिब ४ मिलियन डलर (करिब ४७ करोड रुपैयाँ) खर्च गरिने छ ।

कृषि र ग्रामीण विकास, वैकल्पिक र नवीकरणीय ऊर्जा तथा स्वास्थ्यका क्षेत्रमा विश्वस्तरीय अनुसन्धान गर्ने  उद्देश्यका साथ स्थापना हुने यो सेन्टरले सम्बन्धित प्रविधिका लागि पनि उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । यसबारे विस्तृत जानकारी यस संस्थाको वेबसाइट  बाट लिन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०