close

मंगलबार आउला त एप्पलको सस्तो स्मार्ट वाच ?

टेकपाना टेकपाना

भदौ २९, २०७७ २०:३६

मंगलबार आउला त एप्पलको सस्तो स्मार्ट वाच ?

काठमाडौं । प्रविधि विश्वको दिग्गज कम्पनी एप्पल मंगलबार आफ्नो टाइम फ्लाइज इभेन्ट आयोजना गर्दैछ । सामान्यता हरेक वर्ष सेप्टेम्बरमा आयोजना हुने यो कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ आईफोन सिरिज सार्वजनिक गर्ने गर्दछ ।

तर यसपटक आईफोन बाहेकका अन्य प्रडक्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ । बताइए अनुसार एप्पलले १५ सेप्टेम्बरको कार्यक्रममार्फत नेक्स्ट जेनेरेसन (अर्को पुस्ताको) वाच र एउटा आईप्याड लञ्च गर्नेछ ।

यसका साथै केही रिपोर्टहरुमा यो कार्यक्रममार्फत एप्पलले आफ्नो सस्तो स्मार्ट वाच समेत सार्वजनिक गर्ने खबरहरु आइरहेका छन् । जसले एप्पल वाच सिरिज थ्रीको स्थान ओगट्नेछ ।

यो सस्तो स्मार्ट वाचको नाम एप्पल वाच एसई हुने दाबी गरिएको छ । यसै महिना ब्लुमबर्गमा प्रकाशित रिपोर्टमा एप्पलले आफ्नो वाच सिरिज फाइभको सक्सेसर तथा वाच सिरिज थ्रीको रिप्लेसमेन्टमा काम गरिरहेको उल्लेख गरिएको थियो ।

यस बाहेक टिप्सटर जोन प्रोसरले ट्वीटमार्फत सेप्टेम्बर १५ मा एप्पल वाचका दुई मोडेल आउन सक्ने बताएका थिए ।

यस्तो हुनसक्छ फिचर

सस्तो एप्पल वाच ४० एमएम र ४४ एमएम गरी दुई भेरियन्टमा आउने अनुमान छ । जसमा वाच सिरिज फोरको जस्तै डिजाइन र एम नाइन प्रोसेसर हुनसक्छ ।

सस्तो बनाउँदा यसमा सधैं अन रहने डिस्प्ले तथा ईसीजी जस्ता केही प्रिमियम फिचर भने नहुन सक्छन् । एप्पल वाच सिरिज थ्री कम्पनीको सबैभन्दा लोकप्रिय स्मार्टफोनमा एक थियो । एप्पलको नयाँ स्मार्ट वाचले सोझो रुपमा फिटबिट र ह्वावेको स्मार्टवाचसँग प्रतिस्पर्धा गर्नेछ ।

कति होला मूल्य ?

रिपोर्टहरुमा सस्तो स्मार्ट वाचको मूल्य १९९ डलर अर्थात करिब २३ हजार तीन सय रुपैयाँ हुने अनुमान छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०