close

आठौं विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, अनुसन्धान र नवप्रवर्तनमा जोड

टेकपाना टेकपाना

भदौ ३०, २०७७ ९:२४

आठौं विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, अनुसन्धान र नवप्रवर्तनमा जोड

काठमाडौं । आठौं संस्करणको राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘स्वस्थ र गुणस्तरिय जीवनको लागि विज्ञान’ रहेको छ । विसं २०७० देखि हरेक वर्ष असोज १ गते फरक-फरक नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ ।

विज्ञान तथा प्रविधि क्षेत्रका व्यक्ति र संस्थाहरूलाई सशक्त रूपमा परिचालन गर्न, जनचेतनाको काम गर्न र नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न यो दिवस मनाउने गरिएको हाे ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण विज्ञान दिवसका कार्यक्रम भर्चुअल विधिबाटै मनाइँदैछ । विज्ञान प्रविधि क्षेत्रका सरोकार निकायहरु, प्रदेश तथा स्थानीय तह, विद्यालय, विश्वविद्यालय लगायतको सहकार्यमा साताव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।

साताव्यापी कार्यक्रममा विज्ञान हाजिरीजवाफ, निबन्ध प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, वेबिनार, कला र आविष्कारकाे प्रदर्शनी, युवा वैज्ञानिक छलफल लगायत भइरहेको छ ।

दिवसमा विज्ञान तथा प्रविधि क्षेत्रका विभिन्न नीति र कार्यक्रमको समिक्षा हुनेछ । विभिन्न प्रदेशमा शिक्षामा विज्ञानको भूमिका बढाउने उद्देश्यले वेबिनार, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, वक्तृत्वकला लगायत भइरहेको छ ।

त्यस्तै बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल, कारखाना, स्टिम फाउन्डेशन लगायतले पनि सेमिनार गर्दैछन् । साथै काेभिडका क्रममा गरिएका अनुसन्धान र नवप्रवर्तनका विषयमा पनि छलफल हुँदैछ ।

आज मंगलबार काठमाडौं विश्वविद्यालले नेपालमा कोरोना भाइरस र विज्ञान प्रविधि क्षेत्रमा भइरहेका कामका बारेमा विविध कार्यक्रम हुँदैछ । त्यस्तै मंगलबार नै कोभिडमा रिसर्च र इन्नोभेसन, एआई, रोबोटिक्स र आइसीटी वेबिनार हुँदै छ ।

विज्ञान दिवस आयोजक समितिको संयोजक पूर्व विज्ञान मन्त्री गणेश साहले विभिन्न विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशील सरोकारवालाहरु, विज्ञान तथा प्रविधिमा चाख राख्ने सम्पूर्ण विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, नीति निर्माता एवम् वैज्ञानिक सवै आ-आफ्नो क्षेत्रबाट कार्यक्रम गरिरहेकाे जानकारी दिए ।

असोज १ गते हुने मुख्य कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । दिवसका कार्यक्रम असाेज ५ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०