close

एक वर्षदेखि शुन्य कमिसनमा चल्दै टुटल, अब एउटै एपमा बाइकसँगै ट्याक्सी पनि

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १७:५२

एक वर्षदेखि शुन्य कमिसनमा चल्दै टुटल, अब एउटै एपमा बाइकसँगै ट्याक्सी पनि

काठमाडौं । टुटलले आफ्ना राइडरहरुबाट कमिसन लिन छोडेको करिब एक वर्ष भएको छ । नेपालकै पहिलो राइड शेयरिङ सर्भिस टुटलले आफ्ना बाइक राइडरहरुको आम्दानी बढाउने योजनाका साथ छ महिनाका लागि ल्याएको यो अफर कोभिड महामारीले गर्दा एक वर्षसम्म लम्बिएको हो ।

शुन्य कमिसनलाई कम्पनीले आफ्नो प्रमोसनल अभियानको रुपमा समेत उपयोग गरिरहेको छ । बजारमा राइडरहरुबाट अन्य कम्पनीले २० प्रतिशतसम्म कमिसन लिइरहेको अवस्थामा टुटलको अफरले नयाँ कीर्तिमान समेत कायम गरेको छ ।

कमिसनमा निश्चित प्रतिशत छूट दिने किसिमका प्रवर्द्धनात्मक अफरहरु अरु प्रतिस्पर्धी कम्पनीले समेत ल्याउने गरेको भए पनि जेरो (शुन्य) कमिसनको टुटलको रणनीति भने आफैंमा पृथक छ । यसको अर्थ अहिले कम्पनीको एप प्रयोग गरेर सेवा दिने बाइक राइडरहरुले टुटललाई कुनै पनि कमिसन दिनु पर्दैन ।

अहिलेको महामारीको समयमा शुन्य कमिसनको अफरले आफ्ना राइडरहरुलाई निकै ठूलो राहत पुगेको टुटलका संस्थापक शिक्षित भट्टको विश्वास छ । उनी भन्छन्, ‘कोभिडले गर्दा पैदा भएको असामान्य स्थितिमा समेत हामीले छ महिने योजनालाई निरन्तरता दिइरहेका छौं । कम्पनी यो योजनालाई अझै केही महिनासम्म निरन्तरता दिने पक्षमा छ ।’

कोरोना महामारीका कारण थुप्रै स्टार्टअप कम्पनीको व्यवसाय प्रभावित भइरहँदा टुटलको आम्दानी शुन्य भएकै एक वर्ष हुन आँटेको छ । कम्पनीको आम्दानीको स्रोत राइडरबाट प्राप्त हुने कमिसन भए पनि कमिसन नै नलिने अफरका कारण टुटलको आम्दानी शुन्यमा पुगेको हो । ‘पहिला हाम्रा राइडरहरुले राम्रो आम्दानी गर्न सक्ने स्थिति बनोस् भन्ने कुरा हो,’ भट्ट भन्छन् ।  

अपग्रेटेड टुटलको प्रविधिमा अब ट्याक्सी पनि

विगत एक वर्षको समय लगाएर टुटलले आफ्नो प्रविधिलाई नयाँ सिस्टममा माइग्रेट (स्थानान्तरण) गर्ने कामसँगै प्लेटफर्मलाई समेत उन्नत स्तरमा विकास गरेको छ । यसलाई संस्थापक भट्ट प्रविधि र डिजाइनमा आफूले फड्को मारेको रुपमा अर्थ्याउँछन् ।

उनी भन्छन्, ‘हामीले सिस्टम माइग्रेट र अपग्रेडको काम करिब करिब सम्पन्न गरिसकेका छौं । अब कोभिडको महामारी सामान्य हुँदै गएसँगै मार्केटिङमा केन्द्रीत हुने योजनामा छौं ।’ 

टुटलको प्रविधि अपग्रेट भएसँगै अब एउटै एपबाट ट्याक्सी सेवा समेत लिन पाइने भएको छ । त्यसो त कम्पनीले सुरुवाती तीन महिने लकडाउन समाप्त भएसँगै सफ्ट लञ्च मार्फत आफ्नो ट्याक्सी सेवाको परीक्षण थालेको थियो ।

अब टुटलको एउटै एपमा बाइक र ट्याक्सीको सेवा रोजेर लिन सकिने छ । भविष्यमा निजी कार समेत राइड शेयरिङमा समेट्ने योजनामा आफूहरु रहेको भट्टले बताए । ‘ट्याक्सी सेवालाई औपचारिक रुपमा दशैं पछि मात्र सार्वजनिक गर्ने कम्पनीको योजना छ ।

चार वर्ष अघि सुरु भएको टुटल नेपालकै पहिलो राइड शेयरिङ सर्भिस कम्पनी हो । जसको प्रविधि समेत पूर्णतः नेपालमै विकास गरिएको छ । 

टुटलको एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०