close

मलाई चिनाउन वर्ल्डलिंकको सहयोग धेरै छ : महाबीर पुन

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १५:४९

मलाई चिनाउन वर्ल्डलिंकको सहयोग धेरै छ : महाबीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रविधिविज्ञ महाबीर पुनले आफूलाई चिनाउन इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकंको भूमिका धेरै रहेको बताएका छन् । वर्ल्डलिंकको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल प्रेस मिटमा बोल्दै पुनले वर्ल्डलिंकसँगको सम्बन्ध १५ वर्ष पुरानो रहेको बताए ।

‘म्याग्दीबाट सुरु भएको वायरलेस सेवा १६ जिल्लामा पुर्‍याउन वर्ल्डलिङ्कले निःशुल्क ब्याण्डविथ उपलब्ध गराएको थियो,’ उनले भने । वायरलेस इन्टरनेटको नेटवर्किङको कामबाट संसारले चिनेको स्मरण गर्दै पुनले त्यसलाई आफूले कहिल्यै पनि व्यवसायिक रुपमा नलिएको बताए ।

वर्ल्डलिङ्कबाट निस्शुल्क रुपमा ब्याण्डविथ लिएर ग्रामीण क्षेत्रमा इन्टरनेट दिँदै आएको जनाउँदै उनले अन्य सेवाप्रदायकको इन्टरनेट सेवा विस्तार भइसकेका स्थानमा भने आफूले वायरलेस इन्टरनेट बन्द गराएको बताए ।

‘मलाई विश्वमा चिनाउन आवश्यक डिभाइस समेत उपलब्ध गराएर गुन लगाएकोमा आभार व्यक्त गर्दछु । अहिले जति पनि गाउँहरुमा इन्टरनेट चलिरहेको छ, उनीहरु सबै वर्ल्डलिङ्कप्रति आभारी छन्,’ पुनले भने ।

जहाँ व्यवसायिक इन्टरनेट पुगेको छैन त्यहाँ पनि अझै पनि वायरलेस नेटवर्किङबाट इन्टरनेट दिइरहेको बताउँदै उनले त्यसमा समेत वर्ल्डलिङ्कले ब्याण्डविथ प्रदान गरेकोमा धन्यवाद दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०