close

टिकटक उदयको कथा : चिनियाँ एपदेखि ‘ग्लोबल सेन्सेसन’ सम्म

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १९:४२

टिकटक उदयको कथा : चिनियाँ एपदेखि ‘ग्लोबल सेन्सेसन’ सम्म

काठमाडौं । प्रयाेगकर्ताले रूचाएकाे लोकप्रिय एपमध्ये टिकटक पनि एक हाे । भिडियाे शेयरिङका लागि जत्ति यसकाे प्रयाेग भइरहेकाे छ, त्यति नै यसले विवाद, प्रतिबन्ध र धम्की खेपिरहेकाे छ ।

यसले प्रयाेगकर्तामाझ डान्स ट्रेन्ड नै ल्यायो । सामान्य अवस्थाका धेरै मानिसलालाई प्रतिभा देखाउने अवस्था सिर्जना गरिदियाे । प्रयाेगकर्तामाझ यति लाेकप्रिय बन्याे कि, एउटा माेबाइल एप राष्ट्रिय सुरक्षा जाँचको विषय पनि बन्न पुग्यो । 

टिकटकको वृद्धि विकास यति चाँडाे भयो कि, विश्वका जायन्ट सोसल मिडिया कम्पनीहरूले यसलाई प्रमुख प्रतिद्धन्दीका रुपमा लिन थाले । 

वाल स्ट्रिट जर्नलकी वरिष्ठ प्रविधि स्तम्भकार जोन्ना स्टर्न टिकटकलाई तीन शब्दमा व्याख्या गर्छिन्; लत, रमाइलो र लत । यस्तै वाल स्ट्रिट जर्नलकै चिनियाँ प्रविधि पत्रकार इभा जियाओका अनुसार टिकटकले तीव्र वृद्धि गरेको आधारमा यो पृथक छ । 

टिकटक ग्लोबल सेन्सेसन बन्नुअघि यो एउटा चिनियाँ एप डोयिन थियो । 

२०१२ मा झाङ यिमिङ नामका एकजना चिनियाँ टेक उद्यमीले बाइटड्यान्स नामको एउटा स्टार्टअप कम्पनी सुरु गरे । झाङ सिलिकन भ्यालीका आइकनहरुबाट एकदमै धेरै प्रेरित थिए र उनले माइक्रोसफ्टमा छोटो समयका लागि काम पनि गरेका थिए । 

बाइटड्यान्स सुरु भएको आज ८ वर्ष पुग्यो र कम्पनीको उदयको कहानीको कुरा गर्दा बेइजिङको एउटा मध्यम अपार्टमेन्टबाट यो सुरु भएको थियो । चीनमा कति धेरै मानिसहरु आफ्नो फोनमा समाचार पढिरहेका हुन्थे । त्यो देखेर झाङमा बाइटड्यान्सको अवधारणा जन्मियो । 

यसैले सुरुमा बाइटड्यान्सबाट झाङले एआई ड्रिभन न्युज प्लेटफर्मको स्थापना गरे । त्यो आज पनि सञ्चालनमै छ । यसैक्रममा बाइटड्यान्सले सर्ट भिडियो शेयरिङ एप डोयिन २०१६ मा सार्वजनिक गर्‍यो ।

यसबाट मानिसहरुले मन परेका गीतहरु ब्याकग्राउण्डमा बजार सर्ट एक्टिङ भिडियो क्लिपहरु अपलोड गर्न पाउँथे ।  

डोनिय वास्तवमा एउटा कम्पनी मात्र थिएन । जेड जेनेरेसन (१९९७ देखि २०१२ बीच जन्मिएका पुस्ता) सँग जोडिने एउटा बजार पनि थियो । तर चीनमा मात्र सञ्चालन भइरहेको डोनिय चिनियाँ नीति नियमसँग प्रतिबद्ध हुनुपर्ने थियो । यसर्थमा उसका केही सामाग्रीमाथि सेन्सर लाग्न सक्थ्यो । 

यदि बाइटड्यान्स अन्तराष्ट्रिय बजारमा जाने हो भने उसले अन्तराष्ट्रिय बजारसँग सुहाउँदो केही परिवर्तनहरु ल्याउनुपर्ने थियो । यसैका लागि बाइटड्यान्सले नयाँ प्रोडक्ट टिकटकलाई नै २०१७ मा जन्म दियो । डोयिन आज चिनियाँ एप स्टलमा मात्र छ भने टिकटक एप्पल र गूगल एप स्टोरमा उपलब्ध छ । 

अन्तराष्ट्रिय बजारमा पुगेको पहिलो वर्ष नै टिकटकले उत्तर अमेरिकाको चर्चित लिप सिङ्किङ एप म्युजिकल्लीको स्वामित्व अधिग्रहण गर्‍यो र टिकटकभित्रै राख्यो । 

लन्च भएको केही वर्षमा नै यो विश्वको अत्याधिक शीर्ष १० डाउनलोड एपमा पर्न सफल भयो । 

२०१९ मा आइपुग्दा यो १५० मुलुक र ७५ वटा भाषामा उपलब्ध हुन थाल्यो । यसले विश्वका ठूला एपहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई पनि चुनौती दिन थाल्यो ।

अब यो एप मनोरञ्जनका लागि मात्र होइन, ब्रेक्जिट जस्तो धेरै लोकप्रिय विषयमा राजनीतिक अडान राख्न पनि प्रयोग भयो । यसको प्रयोग अमेरिकी चुनावमा पनि त्यत्तिकै भयो । 

यस अलावा टिकटकमाथि चिनियाँ संवेदनशील मानिने सामाग्रीमाथि प्रतिबन्ध लगाएको आरोपहरु पनि आए । जसमा हङकङमा भएको प्रजातन्त्रपक्षी आन्दोलन पनि थियो ।

तर टिकटक स्वत्नत्र रुपमा सञ्चालन भइरहेको भन्दै यसको बचाउ धेरै पटक गरियो । राजनीतिक सामाग्री पनि सामान्य र सिर्जनात्मक छ भनेर अनुमति दिइने बताइयो । 

अझ २०२० मा टिकटकलाई पुराना पुस्ताका प्रयोगकर्ताहरुले पनि धेरै रुचाए । नयाँ पुस्ताले सिर्जनात्मक सामाग्री राखेका भिडियो भाइरल हुन थालेपछि पुराना पुस्ताले पनि आफ्नो जीवन, राजनीति, व्यवसाय र विश्वको बारेमा टिकटक मार्फत नै धारणा राख्न थाले ।

एउटा नृत्य, संगीत, हाँसी मजाक र मनोरञ्जनको सामाजिक सञ्जाल वास्तविक सामाजिक सञ्जाल बन्दै थियो, जुन टिकटकका लागि सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्दै थियो । 

गत अप्रिलमा मात्र टिकटक विश्वभर २ अर्ब पटक डाउनलोड भएको थियो । तर त्यसप्रकारको लोकप्रियतासँगै चिनियाँ एपले राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउँछ त भन्ने प्रश्न पनि सँगै उठ्न थाले । 

जसै ट्रम्प प्रशासनले टिकटकलाई राष्ट्रिय सुरक्षा खतराको लेबल लगाएर यसले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डेटा लिक गर्छ भन्ने आरोप लगाएपछि टिकटकले त्यसको खण्डन गर्दै आफ्नो बचाउमा उत्रियो । 

अमेरिका बाहेक युरोपेली युनियन र अष्ट्रेलियाले पनि टिकटकमाथि अनुसन्धान सुरु गर्न थाले । टिकटकको सबैभन्दा ठूलो बजार भारतले त अझ गत जुन महिनादेखि टिकटक सेवा नै बन्द गरिदियो । 

टिकटक भू-राजनीतिको मात्र तारो बनेन । अन्य ठूला टेक कम्पनीले पनि टिकटकको लोकप्रियतालाई पछ्याएर युवामाझ प्रभाव छोड्न यसको नक्कल गर्न थाले । 

वास्तवमा टिकटक आफैमा एकदमै पृथक सामाजिक सञ्जाल हो । ट्वीटर तथा फेसबुकमा जस्तो आफ्नो सामाग्रीलाई पुस गर्न यसमा तपाईंलाई कुनै पनि किसिमको सामाजिक नेटवर्कको खाँचो पर्दैन । 

टिकटकलाई यति धेरै लोकप्रिय र लतजनक बनाउने तत्व भनेको यसको हाइपर पर्सोनलाइज्ड फीड ‘फर योर पेज’ हो । यसमा भएको एल्गोरिदमले तपाईंले प्रत्येक भिडियोलाई कति लामो समयसम्म हेर्नुभयो भनेर मुल्यांकन गर्दछ र तपाईको हेर्ने ढाँचाको आधारमा अर्को त्यस्तै भिडियो तपाईंलाई देखाइदिन्छ । 

यसमा भएका धेरै सामाग्रीहरु देशका अन्तर सीमाभर एकअर्कोसँग सम्बन्धित हुन्छन् । यदि तपाईंले अमेरिकाबाट टिकटक आइडी खोल्नुभयो भने तपाईंले फ्रान्स, नेपाल र भारत जहाँको पनि भिडियो देख्न सक्नुहुन्छ । 

अहिले धेरै सामाजिक सञ्जालहरुले टिकटकको नक्कल गर्न चाहिरहेका छन्, तर त्यो विशेष अल्गोरिदम बिना उनीहरुले यसो गर्न सक्दैनन् । त्यो अल्गोरिदम यस्तो तत्व हो, जसले मानिसहरुको आबद्धता टिकटकमा निरन्तर कायम गरिरहन्छ ।

इन्स्टाग्रामले हालै रिल्स नामको नयाँ एप सार्वजनिक गरेको छ । धेरै प्रयोगकर्ताहरुका अनुसार यसको इन्टरफेस टिकटकको जस्तै छ । तर टिकटक स्क्रोल गर्दा जस्तो यसमा लत लाग्दैन । इन्स्टाग्रामले पनि युजर एक्सपेरियन्सलाई सुधार गर्न निरन्तर काम गरिरहेको बताउँदै आएको छ । 

अहिले टिकटक प्रतिबन्धको खबर चलिरहँदा अधिकांश प्रयोगकर्ताहरु आफ्नो व्यक्तिगत डेटासँग सम्झौता गरेर भए पनि टिकटकलाई साथ दिन तम्सिएका छन् । 

संगीत, सर्ट भिडियो र एडिटिङ टुलहरुको उत्कृष्ट समायोजन र उक्त एल्गोरिदमले मानिसहरुलाई टिकटकमा यसरी डुबाइदिन्छ कि मान्छेहरु यसलाई निरविकिल्प मानिदिन्छन् ।

अन्य कम्पनीले टिकटकको नक्कल गरेर नयाँ यस्तै प्रोडक्ट बनाउँछु भनेर जसरी बोलिरहेका छन् । त्यो यति सजिलो छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०