close

अब ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा

टेकपाना टेकपाना

भदौ ३१, २०७७ ८:५०

अब ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा

वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए । 

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो । ‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने । कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ ।  

अध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधि सहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ । 

नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ । कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ । 

कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ । वर्ल्डलिङ्क सूचना प्रविधि क्षेत्रबाट नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा आयकरमा पहिलो ठूलो कम्पनीको हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् । 

सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्‍याएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे । ‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ ।

विकट ठाउँमा सफलतापूर्वक सेवा दिन सफल भएकोमा म कम्पनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन ।’

फ्री वाईफाई,  सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे । 

आफू वर्ल्डलिङ्कको १७ औं ग्राहक बनेको सम्झिँदै वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आफू नै नेपालमा ईमेल सेवा प्रयोग गर्ने पहिलो वकिल समेत भएको बताए । ‘वर्ल्डलिङ्क नै मेरो लागि पहिलो र अन्तिम इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ,’ उनले भने, ‘हामी जस्ता मध्यम वर्गीयदेखि सबै निम्न मध्यम वर्गमा समेत इन्टरनेट सेवाको पहुँच पुर्‍याउँदै जान सकोस्, शुभकामना दिन चाहन्छु ।’

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वर्ल्डलिङ्ककै कारण कर्णाली जस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए । ‘वर्ल्डलिङ्कले गर्दा नै यहाँका जता धेरै खुशी महसुस गरिरहेका छन्,’ उनले भने ।

गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वर्ल्डलिङ्कले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौं,’ उनले भने, ‘हाम्रो जस्तो ठाउँहरुमा समेत कम्पनीले चाँडै फाइबर नेटवर्क समेत विस्तार गर्न सकोस्, शुभकामना छ ।’

वर्ल्डलिङ्कको २५ वर्षे यात्रा 

सन् १९९६ नेपालमै पहिलो पटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गर्‍यो । काठमाडौंमा सीमित रहेको इन्टरनेट सेवा सन् १९९९ मा काठमाडौं बाहिर समेत विस्तार हुन थाल्यो । 

सन् १९९९ अन्तर्राष्ट्रिय ब्याण्डविथको लागि भिस्याटको प्रयोग सुरु गरेको वर्ल्डलिङ्कले सन् २००० वायरलेस ब्रोडब्याण्ड इन्टरनेट सेवा दिन थालेको अध्यक्ष अग्रवाल सम्झिन्छन् । त्यसपश्चात सन् २००१ नेपालमै पहिलो कन्टेन्ट क्यास सेटअप गर्न कम्पनीले अकामाईसँग साझेदारी गर्‍यो । 

कम्पनीको भिस्याटमार्फत सन् २००२ देशका प्रमुख शहरहरु आपसमा जोडिए । सन् २००३ मा केबल इन्टरनेट सेवाको सुरुवात पनि कम्पनीको जीवनमा महत्वपूर्ण कोशेढुङ्गा बन्यो । 

सन् २००६ मा वायरलेस प्रविधिबाट राष्ट्रव्यापी सेवा आरम्भ गरेको वर्ल्डलिङ्क त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रसबोर्डर फाइबर कनेक्टिभिटीमार्फत भारतसँग जोडियो । 

लोकप्रिय हुँदै गएको गुगलसँग सन् २०१० मा कन्टेन्ट क्यासको लागि साझेदारी भयो । सन् २०१२ मा १० एमबीपीएस केबल इन्टरनेट सेवाको सुरुवातले इन्टरनेट अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने काम गरेको अध्यक्ष दिलिप अग्रवाल बताउँछन् । 

‘हामीले सन् २०१४ घर घरमा फाइबर इन्टरनेट पुर्‍याउने सेवाको सुरुवात गर्‍यौं,’ उनी स्मरण गर्दै भन्छन्, ‘त्यसको दुई वर्षपछि हामीले नेपालमै पहिलो पटक आईपीटीभी सेवा समेत दिन थाल्यौं ।’

कन्टेन्ट क्यासको लागि सन् २०१६ मा फेसबुकसँग साझेदारी भयो । कम्पनीको योगदानलाई कदर गर्दै सरकारले सन् २०१७ सूचना तथा सञ्चार क्षेत्रमा उच्चतम करदाताको रुपमा सम्मान प्रदान गर्‍यो ।

इन्टरनेटमा बालबालिकाहरुको सुरक्षाका लागि सन् २०१७ मा कम्पनीले आफ्नो सेवामा सेफनेटको अवधारणा ल्यायो । यस्तै सबै व्यक्तिहरुमा इन्टरनेट पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्पनीले सन् २०१८ सार्वजनिक स्थानहरुमा फ्री वाईफाई जडान गर्ने परियोजना सुरु गर्‍यो ।  

आईपीभी सिक्सको प्रयोग गर्नेमा पनि वर्ल्डलिङ्क नेपालकै पहिलो सेवा प्रदायक हो । कम्पनीले सन् २०१८ मा यसको सुरुवात गरेको थियो । 

सन् २०१९ नेपाल सरकारको आईसीटी पुरस्कारबाट कम्पनी सम्मानित भयो । सन् २०१९ मा कर्णालीको सबैभन्दा दुर्गम भागहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवाको विस्तार गर्ने काम समेत कम्पनीको जीवनमा एउटा गौरवपूर्ण परिघटनाको रुपमा रहेको छ । 

१० हजार स्थानमा फ्री वाईफाई

कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्वको रुपमा देशका विभिन्न दश हजार स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइरहेको छ । यस बाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिङ्कका निर्देशक विजय जलानले जानकारी दिए । ‘यस बाहेक हामीले महाबीर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पुर्‍याउँदै आएका छौं,’ उनले भने, ‘सँगसँगै विभिन्न विद्यालयहरुमा इन्टरनेट सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई समेत निरन्तरदा दिएका छौं ।’

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अभावमा बाँचेका मानिसहरुका लागि वर्ल्डलिङ्कले महत्वपूर्ण अभिभावकत्व निर्वाह गरेको भन्दै आभार व्यक्त गरे । ‘देशभर रहेका २० वटा मानव सेवा आश्रममा आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि वर्ल्डलिङ्कले आफ्नो सेवा सम्पूर्ण रुपमा निःशुल्क गरेको छ,’ उनले भने, ‘त्यसका लागि आश्रमको तर्फबाट वर्ल्डलिङ्कलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीले आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि  १० लाख रुपैयाँ बराबरको लत्ताकपडाको समेत व्यवस्था गरिदिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०