close

नेपालका ९० हजार वैज्ञानिकलाई आविष्कारमा खटाउन आवश्यक : मन्त्री पोखरेल

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १८:२

नेपालका ९० हजार वैज्ञानिकलाई आविष्कारमा खटाउन आवश्यक : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव रहेको बताएका छन् । हाल नेपालभर ९० हजारको संख्यामा वैज्ञानिक रहेपनि उनीहरुलाई विभिन्न आविष्कार सहित कार्यक्षेत्रमा खटाउन नसकिएकाे उनले बताए ।

आठौं विज्ञान दिवसको अवसरमा बुधबार कीर्तिपुरस्थित बीपी मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालयमा आयोजित कार्यक्रममा बाेल्दै उनले जनशक्तिकाे अभाव हुनु र भएका जनशक्तिकाे समेत व्यवस्थापन गर्न नसक्दा अपेक्षाअनुरुप काम हुन नसकेकाे स्वीकार गरे ।

सरकारले राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति निर्माण गरिसकेको र यसअन्तर्गत कानुन बनाउने र कार्यान्वयनमा लैजाने चरणमा रहेको उनले बताए ।

विधि विज्ञान प्रयोगशाला प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा समेत स्थापना भएकाे बताउँदै मन्त्री पाेखरेलले विज्ञानको सहयोगमा मात्र रुढीग्रस्त समाजलाई परिवर्तन गर्न सकिने विचार राखे ।

उनले काेराेनाविरूद्द लड्नका लाग नेपाली वैज्ञानिकलाई खटाउनुपर्ने आवश्यकता औंल्याए । साथै विद्यालय तहका विद्यार्थीलाई विज्ञान विषयमा आकर्षित गर्न नयाँ योजना ल्याउने तयारीमा सरकार रहेकाे उनले जानकारी दिए ।

मन्त्री पोखरेलले अनुसन्धान केन्द्रहरु स्थापना गर्न आवश्यक बजेटसमेत छुट्ट्याएको जानकारी दिए।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०