close

ईकमर्स उद्योगको काँचुली फेर्न नयाँ स्वरुपमा आउँदै ‘स्मार्ट डोको’

रन्जन कोइराला रन्जन कोइराला

भदौ ३१, २०७७ २०:३५

ईकमर्स उद्योगको काँचुली फेर्न नयाँ स्वरुपमा आउँदै ‘स्मार्ट डोको’

काठमाडौं । कोभिड १९ काे महामारीले देशमा लकडाउन र निषेधाज्ञा जारी भयाे । मानिसहरू भिडभाडमा हिँड्न छाेडे । सामाजिक दुरीकाे संस्कार विकसित भयाे । याे क्रम अझै जारी छ ।

काेभिडले विभिन्न विकल्प सिर्जना गरिदिएकाे छ । यसअन्तर्गत पछिल्लाे समय नेपालमा अनलाइन सपिङकाे ट्रेन्ड बढिरहेकाे छ । ईकमर्स कम्पनीहरु दिनहुँ थपिएका छन् । पुराना कम्पनीले समेत आफूलाई परिमार्जन गर्ने तयारी गरिरहेका छन् ।

यसै क्रममा केही समय अघिमात्रै नेपालको ठूलो व्यावसायिक घराना आईएमएस ग्रुप पनि यो क्षेत्रमा प्रवेश गरेको छ । याे ग्रुपले लामो समयदेखि अनलाइन सामान डेलिभरीको काम गर्दै आएको ईकमर्श कम्पनी ‘स्मार्ट डोको’ मा लगानी गरेको छ।

अब कम्पनीले ‘स्मार्ट डोको’ लाई परिस्कृत भर्सनमा सार्वजनिक गर्ने भएको छ । कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार आउँदो अक्टोरब १ देखि ‘स्मार्ट डोको’ नयाँ भर्सनमा ग्राहकमाझ उपलब्ध हुनेछ ।

‘स्मार्ट डोकोले यसअघि नै वेब भर्सन र एप दुवैमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएकाे छ,’ मल्होत्राले भने, ‘अहिले सञ्चालनमा रहेको सिस्टममा धेरै समस्या छ । कसैले मोबाइलबाट वेबसाइट खोलको खण्डमा प्रयोग गर्न असहज हुने अवस्था छ । अब सबै सेवा प्रयोगकर्तामैत्री हुनेछ ।’

नयाँ एपमा ग्राहकले धेरै कुराकाे नयाँ फिल गर्ने उनले बताए । एप, वेबसाइट र मोबाइलबाट साइट खोल्दा प्रयाेगकर्ताले नयाँपन पाउने बताउँदै उनी भन्छन, ‘नयाँ सिस्टम हामीले नेपाली नयाँ वर्षबाटै सार्वजनिक गर्ने योजना बनाएका थियौं । तर, कारोनाका कारण सोचेजस्तो अघि बढ्न नसक्दा पछि सारिएको हो ।’

काेभिडकाे त्रास नसकिएकाे बेला अनलाइन व्यापार भने फस्टाउने पक्का छ । दशैंमा समेत अनलाइन सपिङकाे अभ्यास थप बढ्ने देखिन्छ । यस्तो अवस्थामा प्रयोगकर्तालाई केही नयाँ दिने योनजाका साथ याे कम्पनीअघि बढेको छ।

हाल २० हजारभन्दा बढी प्रडक्ट र एक हजारभन्दा बढी ब्राण्ड स्मार्ट डाेकाेअन्तगर्गत रहेका छन् । जसमध्ये इलेक्ट्रोनिक्स सामान, वेबी आइटम, ग्रोसरी आइटम, मोबाइल फोन, ब्युटी प्रोडक्ट लगायतका सामानको माग सबैभन्दा बढी रहेको छ ।

साथै अझै धेरै ब्राण्ड र प्रडक्ट थप्ने तयारीमा कम्पनी रहेकाे उनले बताए ।

‘नयाँ सिस्टममा भेन्डरलाई पनि छुट्टै एक्सेस दिने तयारी गरेका छौं । यसमार्फत भेन्डर आफैंले सामान राख्न सक्ने, कुनै सामानको स्टक सकियो भने त्यसको जानकारी आफैं दिनसक्ने, कुनै नयाँ सामान आयो भने आफैंले सिस्टममा हाल्न मिल्ने खालको सुविधा उपलब्ध गराउँदै छौं,’ उनले भने ।

यसअघि भेन्डरले ईमेलमार्फत जानकारी उपलब्ध गराउने र हामीले सिस्टममा हाल्नुपर्ने अवस्था थियो । उनी भन्छन, ‘ईमेलबाट गर्दा जानकारी आउँदासम्म कसैले अर्डर गरेकाे भए स्टकको बारेमा जानकारी हुन्न । त्यसले धेरै खालको समस्या सिर्जना गरेको छ। नयाँ सिस्टमले त्यसलाई एक तहमा समाधान दिनेछ ।’

स्मार्ट डाेकाेबाट सेवाग्राहीले धेरै अपेक्षा राखेका छन् । दशैंकाे बेला अन्य कम्पनीले पनि आफ्नो सेवा र बजारलाई पक्कै आकर्षण बनाउनेछन् ।

‘यस्ताे बेलामा सुरू हुन लागेकाे स्मार्ट डाेकाेले केही नयाँ पक्कै दिन सक्नुपर्ने हुन्छ । हामी अहिले विभिन्न कम्पनी तथा भेण्डरसँग छलफलमा छौं,’ उनले भने ।

ग्राहकलाई कसरी हुन्छ केही नयाँ पनको अनुभव दिनुपर्छ भन्ने योजना कम्पनीकाे रहेको उनी सुनाउँछन् ।

आईएमएसको आफ्नै कतिपय प्रडक्ट पनि छ। कम्पनीले अन्य भेन्डर र सप्लायर्ससँग पनि सहकार्य गरिरहेकाे छ । साथै पेमेन्ट गेटवेहरू समेत इन्टिग्रेेट गर्ने प्रक्रियामा कम्पनी छ । कम्पनीकाे आफ्नै पेमन्ट गेटवे पनि छ ।

‘हामी प्रयोगकर्तालाई कतिपय प्रडक्टमा ईएमआईको सुविधा पनि उपलब्ध गराउने छौं,’ उनी भन्छन, ‘यस्तो भएको खण्डमा प्रयोगकर्ताले किस्ताबन्दीमा सामान किन्न सक्नेछन् । त्यसका लागि ईएमआई उपलब्ध हुने प्रोडक्टमा त्यहाँ इएमाईको अप्सन देखिने छ ।

त्यसमा क्लिक गरी कुन–कुन बैंकमार्फत ईएमआई उपलब्ध छ भन्ने जानकारी पाउन सकिन्छ । ग्राहकले बैंक र डाइरेक्ट सिस्टमबाटै पनि ईएमआईको सुविधा लिन सक्ने व्यवस्था हुनेछ,’ उनले भने ।

नेपालको ईकमर्समा देखिएको समस्या भनेको डेलिभरीमा हो । त्यसका लागि कम्पनीले छुट्टै टिम बनाउँदैछ भने कतिपय आउटसोर्स कम्पनीहरुसँग पनि सहकार्य गरी देशभर नै सेवा दिने योजना कम्पनीको छ ।

‘त्यसका लागि केही सामानको स्टक पनि राख्ने छौं । यस अघिसम्म सामानको अर्डर आएपछि सामान ल्याएर डेलिभर गर्थ्याैं । त्यो हुँदा डेलिभरीका लागि पनि समय बढी लाग्थ्याे । त्यसैले आफैंले पनि स्टकमा सामान राख्ने तयारी कम्पनीले गरेको छ,’ उनले भने ।

के–के छन नयाँ फिचर ?

प्रयाेगकर्ताले सिस्टमबाट रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्छन् । यदि कुनै साइटमा सामानकाे मूल्य सय रुपैयाँ छ र स्मार्ट डोकोमा पनि उक्त सामानको मूल्य सय नै छ भने रिवार्ड प्वाइन्ट प्राप्त हुन्छ । यसाे हुँदा स्मार्ट डोकोकाे सामान सस्तो पर्न जान्छ ।

उक्त रिवार्ड प्वाइन्ट संकलन गरी ग्राहकले पछि अर्को कुनै सामान किन्न सक्नेछन् ।

अर्को फिचर भनेकाे प्रयाेगकर्ताका लागि बायोमेट्रीक लगइन उपलब्ध हुनेछ । ताकि हरेक पटक पासवर्ड राखेर खाल्नु पर्ने झन्झट नहोस् । साथै एआई प्रविधिको प्रयोग गरी प्रयोगकर्ताको रोजाइ अनुसार सामान देखाउने बनाइएकाे छ ।

हालसम्म पेमेन्ट गेटवेमा सेलपे मात्रै थियो भने अब अन्य पेमन्ट गेटवे पनि जोडिने छन् । त्यतिमात्रै नभएर विदेशबाट समेत भुक्तानी गर्न सकिने सुविधा कम्पनीले दिँदैछ ।

विश्व बजारमा अनलाइन व्यापार निर्विकल्प बनिसकेकाे छ । नेपालमा पनि पछिल्लाे समय याे व्यवसायमा हात हाल्नेकाे संख्या बढ्दाे छ । राज्यले नयाँ साेचसहित जन्मिएकाे यस्ताे व्यवसायकाे प्राेत्साहन गर्नुपर्ने भनाइ उनी राख्छन् ।

अहिले कतिपय कम्पनीहरु दर्ता नै नगरी सेवा दिइरहेका छन् । त्यो हुँदा उनीहरुले सरकारलाई बुझाउनुपर्ने कर बुझाएका छैनन् ।

‘कर नबुझाउँदा सामान सस्ताेमा दिन सकिने भयो । त्यसले नियम कानून मानेर कारोबार गर्ने कम्पनीको लागि भने समस्या हुन्छ । सरकारले याे विषयलाई अझ सहज हुने खालको वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०