close

घुम्ने स्क्रिन भएको स्मार्टफोन एलजी विङ सार्वजनिक, यस्तो छ अरु फिचर अनि मूल्य

टेकपाना टेकपाना

भदौ ३१, २०७७ २०:४८

घुम्ने स्क्रिन भएको स्मार्टफोन एलजी विङ सार्वजनिक, यस्तो छ अरु फिचर अनि मूल्य

काठमाडौं । केही दिन यता एलजी विङ स्मार्टफोनको चर्चा निकै छ । चर्चा सेलाउन नपाउँदै कम्पनीले अन्ततः आफ्नो यो युनिक स्मार्टफोन सार्वजनिक गरेको छ ।

फोनमा अंग्रेजी अक्षर टी आकारमा रहेको डिस्प्ले नै यो फोनलाई चर्चामा ल्याउने मुख्य कारण हो ।यो फोनमा डुअल (दुई वटा) स्क्रिन रहेका छन् ।

जसमा एउटा स्क्रिन घुम्ने किसिमको छ । सुरुवाती तवरमा भर्चुअल इभेन्टमार्फत दक्षिण कोरियामा सार्वजनिक गरिएको यो फोनले स्मार्टफोन दुनियामा आफूलाई फरक रुपमा पेश गरेको छ ।

अन्य कम्पनीहरुले समेत दुई वटा स्क्रिनयुक्त फोन सार्वजनिक गरिरहेको भए पनि यसको स्क्रिन अन्यको तुलनामा नितान्त भिन्न छ । यो फोन अरोरा ग्रे र स्काई ब्लू कलर भेरियन्टमा बजारमा उपलब्ध हुनेछ । यद्यपी अन्य देशमा यो फोन कहिले आउँछ भन्ने कुरा कम्पनीले खुलाएको छैन ।

यस्तो छ स्पेसिफिकेसन

दक्षिण कोरियाली कम्पनी एलजीको यो फोनमा ६.८ इञ्चको कर्भ्ड फुल एचडी प्लस पी ओलेड स्क्रिन राखिएको छ । प्राइमरी रुपमा रहेको यो स्क्रिनमा २०.५.९ को आस्पेक्ट रेसियो रहेको छ ।

यो स्क्रिनलाई टी (T) आकारमा घुमाउन सकिन्छ । यसका साथै फोनमा अर्को ३.९ इञ्चको फुल एचडी प्लस जी ओलेड स्क्रिन पनि रहेको छ ।

सेकेण्डरी रुपमा रहेको यो स्क्रिनको आस्पेक्ट रेसियो भने १.१५.१ छ । यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ७६५ जी फाइभजी प्रोसेसर राखिएको छ ।

यो फोन आठ जीबी र्‍याम तथा १२८/२५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । माइक्रो एसडी कार्डमार्फत यसको स्टोरेजलाई दुई टीबीसम्म बढाउन सकिनेछ । क्यामेराको कुरा गर्दा एलजी विङमा पछाडि भागमा तीन वटा क्यामेरा दिइएका छन् ।

Rear view of a smartphone showing three cameras and front view with Pop Up Camera.
तस्वीरः एलजी

जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, १३ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा शुटर सेन्सर रहेको छ । भिडियो कलिङ र सेल्फीका लागि भने फोनमा ३२ मेगापिक्सेलको पपअप क्यामेरा राखिएको छ ।

Rear view of a smartphone showing three cameras and front view with Pop Up Camera.
तस्वीरः एलजी

एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा रन हुने यो स्मार्टफोनमा रहेको सेकेन्डरी स्क्रिनमा गिम्बल मोड पनि छ । साथै यसमा ४००० एमएएचको ब्याट्री राखिएको छ ।

क्वालकम क्वीक चार्ज ४.० प्लस प्रविधि सहित आएको यो फोनको तौल २६० ग्राम रहेको छ । यद्यपी यो फोनले आईपी रेटिङ (धुलो र तरलपदार्थलाई पन्छाउन सक्ने प्रमाणिकरण) भने प्राप्त गरेको छैन । यसको मूल्य करिब एक लाख ५० हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०