close

ईमेल अर्डरबाट सुरु भएको नेपाली ईकमर्स पायोनियरका २ दशक

युजु खालिङ युजु खालिङ

असोज २, २०७७ १०:३१

ईमेल अर्डरबाट सुरु भएको नेपाली ईकमर्स पायोनियरका २ दशक

काठमाडौं । ईकमर्स पछिल्लो समय विश्वव्यापी रुपमा नै निकै लोकप्रिय बनिरहेको छ । नेपालमा पनि ईकमर्स अहिलेको उदयीमान क्षेत्र हो ।

तर नेपालमा यसको पहिलो पाइला भर्खरै चालिएको भने होइन । इन्टरनेट र दूरसञ्चारको गतिलो विकास हुनभन्दा अघि नै नेपालमा ईकमर्सको डोब खनिएको थियो ।

जसको अग्रसरता २० वर्षअघि नै अमृतमान तुलाधरले मुञ्चा डटकमबाट देखाएका थिए । सेन्ट जेभियर्सबाट तथा मोडर्न इन्डियन स्कूलबाट प्रमाणपत्र तहको अध्ययन सकेर अमेरिका पुगेका तुलाधरले सन् १९९५ मा वेस्ट भर्जिनियास्थित मार्सल विश्वविद्यालयबाट एमबीएको पढाइ पुरा गरे ।

त्यसलगत्तै नेपाल फर्किए । हिमालयन बैंकबाट बैंकरको जागिर सुरु गरे।

तर चार वर्षपछि त्यो जागिर छोडेर न्युरोडमा रहेको आफ्नो पारिवारिक व्यवसाय मुञ्चा पसल सञ्चालनको जिम्मेवारी सम्हाल्न थाले । तुलाधर परिवारको मुञ्चा हाउस नामको भौतिक पसल (सामान्य तथा परम्परागत) प्रकृतिको थियो ।

तर मुञ्चाको त्यो पसल धाउन नसक्नेहरुसम्म पनि व्यापार विस्तार गर्ने चाहना नयाँ पुस्ताका अमृतमानको थियो । त्यसै अनुरुप उनले मुञ्चा हाउस डटकम नामको ईकमर्स प्लेटफर्म सुरु गरे । 

उनले त्यो सेवा सुरु गर्दा नेपाली समाजका लागि ईकमर्सको अवधारणा सबैको नितान्त बिरानो थियो । न त त्यसको बजार नै तयार भएको थियो ।

तर अमृतमानले तत्कालका लागि नभए पनि त्यसको भविष्य राम्रै देखेका थिए । त्यही दीर्घकालीन लक्ष्यका साथ मुञ्चाको सुरुवात गरेको उनी सुनाउँछन् । 

‘हामीले बजार अनुसन्धान गरेर ईकमर्स व्यवसाय सुरु गरेका थिएनौं,’ अमृतमान भन्छन्, ‘पसल भएका कारण मर्चेन्टहरुसँग हाम्रो राम्रै सम्पर्क थियो ।

जसले गर्दा अनलाइनबाट सेवा दिन थाल्दा पनि हामीलाई त्यति गाह्रो हुन्न भन्ने बुझेका थियौं । खाँचो थियो त केवल एउटा वेबसाइटको विकास र अनलाइनबाट व्यवसाय गर्ने तरिका ।’

अनलाइन कम्पनी दर्ता गर्न दुई दशकपछि अर्थात अहिलेसम्म कुनै स्पष्ट कानूनी व्यवस्था छैन । त्यसबेला त यसको सवाल उठ्ने कुरै थिएन ।

त्यसैले उनले खुद्रा व्यापारकै नाममा कम्पनी दर्ता गरेर नेपालको पहिलो ईकमर्स सुरु गरे । कतिपयले त्यस बेला फोनबाट आउने अर्डरको आधारमा पनि सामान बिक्री गर्थे ।

आज पनि नेपालमा अधिकांश दुर्गम तथा ग्रामिण भेगमा इन्टरनेटको पहुँच राम्रो छैन । २० वर्ष अघि यसको अवस्था कस्तो थियो, सहजै अनुमान गर्न सक्छौं ।

ब्रोडब्याण्ड इन्टरनेट एकदमै महंगो थियो । अन्तर्राष्ट्रिय बजारमा पनि इन्टरनेट अहिले जस्तो सहज पहुँचमा आइसकेको थिएन ।

अझ नेपाल जस्तो देशका स्थानीयहरुको पहुँचमा हुने त झन् कुरै भएन । यसकारण ईकमर्स साइटका प्रारम्भिक ग्राहक विदेशमा रहेका नेपाली हुन्थे ।

जसले मुञ्चाको अनलाइनबाट उपहारजन्य समग्रीहरु आफ्ना आफन्तका लागि अर्डर गर्दथे । त्यसको आधारमा कम्पनीले डेलिभरी गरिदिन्थ्यो । त्यसैले मुन्चाको मार्केटिङ पनि नेपालमा नभएर विदेश लक्षित बन्यो । 

मुञ्चाको सुरुवाती प्रविधि अहिलेको भन्दा धेरै फरक नभएको अमृतमान बताउँछन् । ‘सुरु गर्दा हामीलाई कसैले सम्पर्क गर्नु पर्‍यो भने ईमेलबाट गर्थे,’ अमृतमान तुलाधर भन्छन्, ‘त्यो बेला ब्रोडब्याण्ड इन्टरनेट धेरै नै महंगो थियो ।

तर हामी अनलाइनबाट नै अर्डर लिने गर्थ्यौं । त्यसबेला डायलप इन्टरनेट हुन्थ्यो । फोनबाट इन्टरनेट कनेक्ट गरिन्थ्यो । अन्तर्राष्ट्रिय कल निकै महंगो थियो ।

इन्टरनेटबाट सम्पर्क गर्ने माध्यम पनि त्यति धेरै थिएनन् । हामी सबै ईमेलको आधारमा सम्पर्क गर्थ्यौं । सबै अर्डर ईमेलबाट आउने हुँदा फोनको खाँचो पनि थिएन ।’

मुञ्चाले आफ्ना भेण्डरहरुबाट विभिन्न सामग्री तथा वस्तुको फोटो खिचेर आफ्नो वेबसाइटमा राख्थ्यो। इन्टरनेट विश्वभर खासै राम्रो थिएन ।

त्यसैले फोटोहरु अहिलेको जस्तो हाई रेजोलुसन हुँदैन थे । वेबसाइटबाट क्रेडिट कार्ड राखेर नै हामीलाई अर्डर गर्थे ।

तर प्रविधिको गुणस्तर कमजोर भए पनि प्रकृति भने त्यति धेरै फरक थिएन । मुञ्चाले ५/६ वर्षपछि गिफ्ट डेलिभरीको मुख्य सेवा नेपालभित्रैबाट समेत अर्डर गर्न सकिने गरी सुरु गर्‍यो ।

तर स्थानीयमा त्यति धेरै केन्द्रीत हुन नसकेको तुलाधरको अनुभव छ । ‘अहिले पनि हामी बाहिर नै बढी केन्द्रीत छौं । त्यसैलाई व्यवसायको रणनीति बनाएका छौं,’ उनी भन्छन् ।

सन् २००४ मा मुञ्चाले आफ्नो सेवामा रेमिट्यान्स थप्यो । रेमिट्यान्स बाहेक अन्य धेरै सेवाहरु मुञ्चाले ल्यायो । तर नचल्ने भएपछि तीनचार वर्ष अगाडि ती सबै सेवा बन्द गर्नुपरेको अमृतमान बताउँछन् ।  

अनलाइन पढ्ने, अनलाइन फिल्म हेर्ने, अनलाइन फोटोग्राफीको साइट पनि उनले सुरु नगरेका होइनन् । तर ती सबै बन्द हुन पुगे । पहिले किताबहरु धेरै मात्रामा राख्थे ।

अहिले थोरै मात्र छन् । सीडी,डीभीडी, क्यासेट आदि बिक्री हुन्थे । अहिले त्यसको समय नै छैन । पहिले ग्राहकहरुले साइटमा फोटो अपलोड गरेर पठाउँथे ।

मुञ्चाले त्यसलाई एडिट गरी फ्रेमिङ गरेर डेलिभरी दिन्थ्यो । तर आजभोलि फोटो प्रिन्ट तथा फ्रेमिङ गर्ने चलन नै हराउन थालिसक्यो ।

समयसँगै आउटडेटेड हुँदै गएका यस्ता प्रडक्टहरुबाट कम्पनीले हटाउँदै गएको छ । कम्पनीको साइटमा लुगाहरु छन् ।

ग्रोसरी सामग्रीको अनलाइन व्यवसाय अलिक ग्राहो हुने तुलाधर बताउँछन् । त्यसो त अहिले ग्रोसरीमा केन्द्रीत भएर अनेकौं ईकमर्स सञ्चालनमा आएका छन् ।

तर सामानको क्याटेगरी हेर्ने हो भने यो एकदमै गाह्रो नै देखिन्छ । तर अहिले कोभिडको कारण ग्रोसरी सामग्री राम्रै चलिरहेको छ । कोभिड पछि यो चल्छ कि चल्दैन भन्ने टुंगो छैन । 

पछिल्लो समय मुञ्चा अनलाइन शपिङ र रेमिट्यान्सको सेवामा खुम्चिएको छ । मुञ्चाले आफ्नो प्लेटफर्ममा सामान खरिद गर्नेहरुका लागि पेमेन्ट गेटवेको रुपमा आईपे डटकम डट एनपी ल्याएको थियो ।

तर त्यसलाई केही समय अघि ई ढेवासँग मर्ज गरिएको छ । ‘आईपे चाहिँ हाम्रै सामान खरिद गर्दा भुक्तानी गर्न सकिने गरी सुरु गरेका थियौं ।

हामीसँग दश रुपैयाँ मूल्यसम्मका खुद्रा सामानहरु हुन्थे । त्यस्ता सामान किन्न क्रेडिट कार्डबाट नमिल्ने हुँदा हामीले त्यसलाई सञ्चालनमा ल्याएका थियौं,’ उनी भन्छन्,

‘तर बिस्तारै पेमेन्ट गेटवेको प्रयोग विविध सेवामा प्रयोग हुन थाल्यो । युटिलिटीहरु भुक्तानीको लागि पनि यसको प्रयोग बढ्दै गयो । त्यसपछि हामीले ईढेवासँग मर्ज गरायौं ।

तर हाम्रोमा सामान खरिद गरेर भुक्तानी गर्दा चाहिँ अहिले पनि आईपे नै देख्न सक्नुहुन्छ । आईपे बााहेक अन्य तरिकाले पनि अहिले मुञ्चाको भुक्तानी गर्न सकिन्छ ।’ 

पहिलो पुस्ताको स्टार्टपको रुपमा मुञ्चालाई अनलाइन व्यवसाय गर्न अहिले जस्तो सजिलो थिएन । उनी अगाडि आफ्नो अनुभव सुनाउँछन्,  ‘इन्टरनेट स्लो हुने भएको कारण साइट नै स्लो चल्थ्यो ।

अहिलेको जस्तो डिजिटल विज्ञापनका कुनै माध्यम थिएनन् । गुगल भर्खरकै अवस्थामा थियो । याहू थियो ।

अहिले जस्तो फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल भने अस्तित्वमै आएका थिएनन् । त्यो बेला सबैभन्दा धेरै चल्ने नेपाल न्युज डट कम अनलाइन थियो ।

त्यसमा हामीले डिजिटल विज्ञापन गरेका थियौं । त्यस अघि त हामीले चिठी लेखेर ईमेल गरेर पनि काम गरेका गर्‍यौं । मार्केटिङ टूल नहुँदा उपभोक्तामा अनलाइन बजारको चेतना बढाउन सकिरहेका थिएनौं ।’

यसबीच मुञ्चाले आफ्नो प्रडेक्ट रेञ्जमा अनेकौं अभ्यास गरेको छ । समय समयमा बाहिरी मुलुकबाट पनि वस्तु आयात गरेको तुलाधर बताउँछन् ।

कोभिडको समयमा ग्रोसेरी आइटमको डेलिभरी दिइरहेको मुञ्चाले त्यसलाई यसअघि पनि गर्ने, बन्द गर्ने , फेरी राखेर फेरी बन्द गर्ने गरिरह्यो ।

‘ग्रोसरीमा फोकस नहुने भन्ने सोचेका थियौं । तर अहिलेको समयमा राम्रो बजार छ र ग्रोसरीका सामान जाने भएर फेरि पनि त्यसलाई राख्न थालेका छौं,’ उनी भन्छन् ।

मुञ्चाका ग्राहक अहिले ६० देखि ७० हजारसम्म रहेका छन् ।  कोभिडको समयमा केही घटेका छन् । गिफ्टका लागि त्यति अनुकुल नभएको अहिलेको समयमा त्यसको असर मुञ्चाको व्यवसायमा पनि परेको छ । 

अहिले मुञ्चाले काठमाडौं उपत्यकाभित्र मात्र डेलिभरी सेवा दिइरहेका छ । ‘उपत्यकाबाहिर डेलिभरी गर्नु पर्‍यो भने मुञ्चाको साइटमा डेलिभरी अप्सनमा गएपछि लाामो दूरीमा डेलिभरी गर्न मिल्ने सामग्रीहरुको सूची मात्र देखिने बनाएका छौं,’ उनी भन्छन् । 

पछिल्लो समय नेपालको ईकमर्सको बजार एकदमै आक्रमक बनेको छ । सामानहरु नाफाभन्दा तल गएर एकदमै सस्तोमा दिने र जसरी भए पनि आफ्नो सामग्री बेच्ने प्रवृतिबाट गुज्रिरहेको तुलाधर बताउँछन् । 

‘यस्तो बजारमा टिक्नका लागि घाटामा चल्नुपर्ने हुन्छ । दुई तीन वर्ष अघि हामीले बजारमा यसरी नै जाने कि सानो व्यवसाय गरेर भए पनि फाइदामा नै जाने भनेर सोचविचार गरेका थियौं,’

उनी भन्छन्, ‘तर जुन मार्केटलाई टार्गेट गरिरहेका छौं त्यसमा चाहिँ हामी नै राम्रो हुनुपर्छ भन्ने मार्केट स्ट्राटेजी लिएर अगाडि बढिरहेका छौं । बाहिरतिरको उपहार पठाउनेमा हामी सबैभन्दा राम्रो अवस्थामा छौं ।

तर लोकलमा हाम्रो विज्ञापन पनि हुन्न र मुञ्चाबारे धेरैलाई थाहा पनि छैन ।’ विदेशमा बस्ने नेपालीहरुको गिफ्ट अर्डरको भरपर्दो प्लेटफर्मको रुपमा मुञ्चालाई स्थापित गरेका अमृतमान तुलाधार आफ्नो व्यवायलाई सानो भए पनि विशेष पहिचान दिएर अगाडी बढाउन चाहन्छन् ।

एउटै प्रडक्टमा केन्द्रीत भएर त्यसमै ब्राण्ड बनाउने उनको व्यवसायिक रणनीति छ । यद्यपि समयअनुसारका सामग्रीहरु थप गर्दै जाने पक्षमा भने उनी तयार देखिन्छन् ।

‘सामानहरु समयअनुसार परिवर्तन गर्दै लैजान्छौं । तर अहिले नेपालमा सामान आइरहेका छैनन् । हामीलाई सामान दिने कतिपय भेन्डरका पसल अझै पनि बन्द छन् ।

यसकारण अहिले हामीसँगै भएका सामग्रीहरुलाई कसरी नियन्त्रण गरेर लाने भन्ने हाम्रो चुनौती हो । सामान बढाउने योजनाको तयारीमा छौं । यसका लागि एक दुई महिनामा काम थाल्छौं,’ उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०