close

नेपालका ‘लेडी डेभलपर’ : सिक्दै, अगाडि बढ्दै

युजु खालिङ युजु खालिङ

असोज ३, २०७७ १४:५६

नेपालका ‘लेडी डेभलपर’ : सिक्दै, अगाडि बढ्दै

काठमाडौं । तपाईंले फेसबुक चलाउनुहुन्छ । कुनै पनि जानकारीका लागि गुगलको सर्च इन्जिन ब्राउज गर्नुहुन्छ । मनोरन्जनका लागि विभिन्न गेमहरु खेल्नुहुन्छ । युटिलिटी पेमेन्टका लागि अनलाइन भुक्तानी सेवा तथा एपहरु प्रयोग गर्नुहुन्छ ।

साथीभाईसँग कुराकानी गर्न विभिन्न भिडियो कन्फ्रेन्सिङ तथा च्याटिङ एपहरु प्रयोग गर्नुहुन्छ । देश तथा विदेशका खोज खबरबारे थाहा पाउन विभिन्न किसिमका अनलाइन न्युज पोर्टलहरु भिजिट गर्नुहुन्छ । 

तपाईं सोच्नुहुन्छ होला चाहिएको बेला जुनसुकै कुरा एउटा फोनमा उपलब्ध गराउन, प्रत्येक पल हरेक कुराको अपडेट आइरहेको हुन्छ । यो कसरी सम्भव हुन्छ ?

वास्तवमा तपाईंले हेरिरहेको स्क्रिनभित्रको एप वा वेब एप्लिकेसनको पछाडि एउटा छुट्टै प्रणाली हुन्छ, जुन डेभलपर हरुबाट बन्छन् र परिचालन हुन्छन् । 

सामान्य भाषामा भन्दा डेभलपर ती हुन् जसले तपाईं हामीले प्रयोग गर्ने विभिन्न मोबाइल एप, वेब एप, वेबसाइट तथा सफ्टवेयरहरु निमार्ण गर्छन् । ती साइटहरुको फ्रन्ट डिजाइनदेखि त्यसको भित्री कोर डेभलपमेन्टसम्म त्यसको पर्यवेक्षण र निरीक्षणको पाटोलाई सम्हाल्छन् । 

पछिल्लो समय नेपालमा पनि डेभलपरको करियरलाई लिएर युवाहरु धेरै नै उत्साहित छन् । तर बिडम्बना यो क्षेत्रमा पनि महिलाको उपस्थिति पुरुषको तुलनामा न्यून छ । यद्यपि विगतकाे तुलनामा महिलाहरुको सहभागिता उत्साहजनक नै छ ।

२९ वर्षीया माधुरी श्रेष्ठ विगत साढे पाँच वर्षदेखि क्लाउड फ्याक्ट्रीमा फ्रन्ट-इन्ड डेभलपरको रुपमा कार्यरत छिन् ।

माधुरी श्रेष्ठ

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक तह पुरा गरेकी माधुरी अध्ययनकै क्रममा आफूलाई प्रोग्रामिङ मन पर्ने थाहा पाएर यतैतिर करियर बनाउन लागेको बताउँछिन् । 

‘स्नातक तह पढ्दै गर्दा प्रोग्रामिङ र कम्प्युर इन्जिनियरिङको बारेमा थाहा थियो र त्यस्ता कम्पनीहरु पनि छन् भन्ने थाहा पाए,’ माधुरी भन्छिन्, ‘तर पढेको गहिरो ज्ञान थिएन । पछि काम गर्दै सिक्दै जाँदा अहिले यहाँसम्म पुगेकी छु ।’

यस्तै २७ वर्षिया सन्ध्या पोखरेल पनि विगत पाँच वर्षदेखि ब्याक-इण्ड डेभलपरकै रुपमा एफवान सफ्टमा काम गर्दै आइरहेकी छिन् । मेडिकल पढ्ने रहरलाई छोडेर आइटीको ट्रेण्ड पछ्याउँदै बीआइटी अध्ययन गरेपछि सन्ध्या अहिले डेभलपरको रुपमा काम गरिरहेकी छिन् । 

‘म आइटीमा राम्रो ज्ञान राख्ने भएर चाहिँ सुरु गरेको होइन,’ सन्ध्या भन्छिन्, ‘गर्दै सिक्दै जादाँ, नयाँ प्रविधिसँग अपडेट हुँदै गए । कलेजको प्रोजेक्टहरुमा सिक्ने, अनुभव साझा गर्ने यसरी नै म आएको हो ।’

सन्ध्या अहिले एफवान सफ्टमा असोसियट इन्जिनियरिङ मेनेजरको रुपमा काम गरिरहेकी छिन् । साथै उनी केहि सदस्यहरुलाई मेन्टरसिप पनि दिइरहेकी हुन्छिन् । 

‘भएका प्रोडक्टलाई अपग्रेड गर्दै जाने र नयाँ प्रविधि आयो भने त्यसलाई प्रयोग गरेर नयाँ फिचर प्रोडक्ट ल्याउने काममा लागिरहेको छु,’ उनले भनिन्

प्रोग्रामिङ ल्याङ्ग्वेज र डेभलपरको क्षेत्रमा अहिले धेरैको रुची बढिरहेको छ । आउने नयाँ ट्रेण्ड हेरेर आफूलाई जता रुचि लाग्छ, त्यसमा निखार्दै जान सकिने सन्ध्याको अनुभव छ । 

सूचना प्रविधिको क्षेत्रमा डेभलपरमा मात्र नभएर अन्य धेरै काम र अवसर छन् । आफ्नो सीपलाई विकास गरेर समयसँगै अपग्रेड गर्दै लान सक्नेले प्रशस्त पैसा पनि कमाउन सक्ने २६ वर्षीया डेभलपर निना सिवाकोटी बताउँछिन् ।

निना विगत साढे दुई वर्षदेखि इन्फोडेभलपरमा ब्याक-इन्ड डेभलपरका रुपमा काम गरिरहेकी छिन् । 

सर्भिङ माइण्डमा डिजाइनिङबाट करियर सुरु गरेकी अनिता शर्माले आइटी क्षेत्रमा प्रवेश गरेको ९ वर्ष भयो । 

अहिले अनिता क्लाउड फ्याक्ट्रीमा ब्याक-इन्ड डेभलपर्सको रुपमा कार्यरत छिन् । साथै क्लाउड बेस सर्भिसमा काम गर्ने नयाँ प्रविधि एडो बेसतिर पनि उनी काम गरिरहेकी छिन् । 

कम्प्युटर इन्जिनियरिङमा स्नातक सुरु गर्दैगर्दा सर्भिङ माइन्डमा करियर सुरु गरेको अनिता बताउँछिन् ।  

‘कम्प्युटरमा पहिलेदेखि नै रुची लाग्थ्यो,’ अनिता भन्छिन्, ‘एसएलसी सकिने बित्तिकै वेब डेभलपमेन्टका कोर्सहरु लिएको थिए । त्यस बेला वेब डिजाइनिङ चहिँ एकदमै हाइपमा थियो । त्यसैले मैले वेब डिजाइनिङबाट सुरु गरेँ ।

अनिता शर्मा

सर्भिङ माइण्डमा काम गर्दा प्रोग्रामरहरूले काम गरेको देख्दा डेभपलमेन्टमा एकदमै रुचि बढ्यो । त्यही अफिसमा एक वर्षजति काम गरेर म प्रोग्रामरमा सिफ्ट भएँ । त्यसपछि म ब्याक-इन्डमा काम गरिरहेको छु र बीच बीचमा फ्रन्ट-इन्डमा पनि काम गरे । तर विगत सात वर्षदेखि पुरै ब्याक-इन्डमै छु ।’

डेभलपर तथा सिंगो आइटी क्षेत्रमा करियर र कमाई राम्रो भएको सबै डेभलपर बताउँछन् । 

‘पहिलेभन्दा यो सेक्टरमा आउनेको संख्या अहिले एकदमै बढिरहेको छ । कलेजमै पनि अनुपात एकदमै न्युन हुन्थ्यो कम्पनीमा पनि त्यस्तै अवस्था थियो । तर अब त मान्छे र देश दुवैले प्रविधिको विषय र यसको महत्व बुझ्न थालिसकेका छन्,’ सन्ध्या भन्छिन् ।  

यो क्षेत्रमा रुचि देखाएर यसकै प्रविधिमा अपटुडेट हुन सकियो भने एकदमै राम्रो करियर बन्न सक्छ । तर हेर्छु मात्र भनेर आयो भने पछि छोड्नुपर्ने अवस्था पनि आउन सक्ने सन्ध्या बताउँछिन् ।

आइटी आफैमा वृहत् क्षेत्र । आजभोली हरेक कुराको एप र वेबसाइट बन्ने गरेकाे छ । हरेक ठाउँमा प्राविधिक सिस्टम र सफ्टवेयर विस्तार भएका छन् ।

त्यसबाहेक डेभलपरभित्र पनि गर्नलाई धेरै कुराहरु छन् । ‘यसमा कोर ब्याक-इन्ड डेभलपर र फ्रन्ट-इन्ड डेभलपर हुन्छ,’ निना भन्छिन्, ‘डेभलपरमेन्ट पनि धेरै ल्याङवेजमा हुन्छन् । कुनमा जाने भन्ने हुन्छ । साथै मोबाइल एप, वेब एप के बनाउने त्यसमा पनि फरक पर्छ ।’

माधुरी भन्छिन्, ‘डेभलपर भनेपछि फ्रन्ट-इन्ड र ब्याक-इन्ड भनिन्छ, तर डेभलप प्रोडक्टको क्युए अर्थात् क्वालिटी अस्योरेन्स इन्जिनियरिङ पनि डेभलपरकै पाटोभित्र पर्छ ।

यस्तै डेभलपरले बनाएका साइटहरु कता राख्ने र त्यसको लागि पूर्वाधार र सुरक्षाको कुरा हेर्ने डेभअप्सहरु हुन्छन् ।

डेटा साइन्सका प्रोसेस पनि हुन्छन् । बनाएका कुराहरु कतिको प्रभावकारी हुन्छ भनेर एनालिसिस गर्ने, प्रोजेक्सन गर्ने जस्ता विभिन्न कामहरु हुन्छन् ।

सुरुमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ गरेर यति धेरै पाटा र विकल्पहरु हुन्छन् भनेर थाहा हुँदैन । फ्रन्ट-इन्ड र ब्याक-इन्ड भनिन्छ, तर भित्र गएपछि आफ्नो रुचि अनुसार छुट्टाछुट्टैमा स्पेशियलाइज्ड भएर जान सकिने यी महिला डेभलपरहरु बताउँछन् । 

उदाहरणकै लागि सन्ध्या एफवान सफ्टमा जाभा प्रोग्रामिङ ल्याङग्वेजमा काम गर्छिन् । यस्तै माधुरी करियरको सुरुमा रुबी एन्ड रेल्स ल्याङग्वेजमा काम सुरु गरेकी थिइन् ।

दुई वर्षयता गुगलले ल्याएको नयाँ ल्याङग्वेज गोलाङ जसलाई गो पनि भन्छ त्यसमा काम गरिरहेकी छन् । अहिले दुईवटैमा काम गरिरहेकाे उनी बताउँछिन् । 

प्राेग्रामिङ ल्याङ्ग्वेजको सवालमा जुनसुकै प्रोग्रामिङ ल्याङग्वेज पनि थोरै समय दिएर पनि मेहेनत साथ गर्दा चाँडै सिक्न सकिने माधुरीको अनुभव छ । 

‘कतिपय मान्छेहरु मलाई यो भाषा मात्र आउँछ मलाई अर्को आउँदैन के गर्ने भनेर अप्ठ्यारो मान्छन्,’ माधुरी अगाडी भन्छिन्, ‘तर तपाईं डराउनु पर्दैन । ल्याङग्वेज सिक्न गाह्रो छैन । मूख्य तपाईंलाई चाहिने भनेको प्रोग्रामिङ कन्सेप्ट हो त्यो बुझिसकेपछि जुकसुकै ल्याङग्वेजमा स्विच गर्न सजिलो हुन्छ ।

नयाँ ल्याङग्वेजमा गएपछि हामीलाई सिन्ट्याक्स कसरी गर्ने भन्ने मात्र हो अरु कन्सेप्ट सबै ल्याङग्वेजको एउटै हुन्छन् । यसैले कुन ल्याङग्वेजमा गर्ने भनेर सोच्नु त पर्छ तर नयाँ ल्याङग्वेज सिक्न गाह्रो मान्नु पर्दैन । पीएचपी धेरै प्रयोग हुन्छन् भनेर त्यहिँ सिक्ने भन्ने होइन । अतिरिक्त समय लगानी गरेर तपाईंले गर्नसक्नुहुन्छ ।’

आइटीको क्षेत्रमा आफ्नो सिप र क्षमतालाई देखाएर वृद्धि विकास गर्न सक्यो भने पद र पैसा दुवै सजिलै पाउन सकिने सबै डेभलपरहरु बताउँछन् । प्रविधिको मान्छे भनेर महिलालाई नपत्याउने मानसिकता भए पनि कार्यस्थलमा कुनै पनि किसिमको अवहेलना वा भेदभाव सहनु नपर्ने उनीहरुको अनुभव छ । 

तर आइटीमा आफ्नै किसिमको प्राकृतिक चुनौती रहिआएको सन्ध्या बताउँछिन् । 

‘चुनाैतीहरू पनि छन् । आइटीमा करियर ब्रेक भयो भने त्यहीँ स्किल सेट लिएर फर्केर आउनु एकदमै गाह्रो हुन्छ । प्रविधि अपग्रेड भइसकेको हुन्छ र यता त्यहीँ अनुसार अपटुडेट गरिरहनु पर्छ ।

सन्ध्या पाेखरेल

समानताको कुरा आइटीमा एउटा राम्रो कुरा के छ भने जसको जे पृष्ठभूमि र लिङ्ग भए पनि यहाँ काम गरेको आधारमा मात्र भ्यालु पाउने र अगाडि बढ्न सकिन्छ । यसमा कुनै पक्षपात हुन्न ।’ सन्ध्या भन्छिन् ।  

प्रविधिको विश्व बजार र आवश्यकतालाई सरोकारवाला तथा मानिसहरुले बुझ्दै जाँदा यो क्षेत्रमा प्रवेश गर्न र काम पाउन पनि सजिलो भएको अनिता बताउँछिन् । 

‘हाम्रो समयको तुलनामा करियर सुरु गर्दा अहिले धेरै राम्रो छ । त्यो बेला कतै पनि काम दिनुअघि अनुभव नै माग्थे । तर अहिले कम्पनीहरुले नै विद्यार्थीहरु खोजेर इन्टर्नसिप दिइरहेका छन् । इन्टर्नलाई पनि पैसा दिन्छन् । पैसामा पनि अहिले धेरै राम्रो भएको छ । लिभिङ सेभिङ सबैका लागि पुग्छ,’ उनले भनिन् । 

तर डेभलपर बन्ने चाहना हो भने औपचारिक शिक्षाको अनिवार्यता यो क्षेत्रमा नहुने माधुरी बताउँछिन् । 

 ‘डेभलपर बन्न कलेज पढेर शिक्षा लिनै पर्छ भन्ने जरुरी छैन । कलेजको शिक्षाले धेरै सहयोग गर्छ । पासआउट भएर जाँदै गर्दा करियर स्टार्ट गर्न सजिलो हुन्छ । प्रोजेक्टहरुको आइडिया हुन्छ ।

कलेजले एक्सपोजर दिन्छ । फर्मल एजुकेसनका आफ्नै फाइदा छन् । तर त्यसबाट मात्र होइन सेल्फ लर्न्ड डेभलपर पनि बन्न सकिन्छ । अहिले अनलाइनको समयमा कति धेरै फ्री कोर्सहरु हुन्छन् । पेड कोर्सहरु पनि हुन्छन्, जसले धेरै रिसोर्सहरु प्रदान गर्छन् । 

फ्री कोड क्याम्प भन्ने एकजना अमेरिकी प्रिन्सी आर्सनले ग्रुप फर्म गरेका छन् । त्यहाँ पढ्नका लागि धेरै भिडियो कोर्सहरु छन् । त्यो चहिँ एकदमै नि:शुल्क छ । यसरी आफैंले सिकेर आफ्नो पोर्टफोलियो र प्रोजेक्टलाई चहिँ सुरक्षित राखेर पछि अप्लाई पनि गर्नसक्छन् ।

नेपालमा भने यो नयाँ अवधारणा नै हो । तर यसरी सेल्फ लर्निङ पनि गर्न सकिन्छ ।आइडियाको लागि प्रोजेक्टहरु गर्नुपर्छ । रुचि लाग्छ भने जाे पनि यसमा आउन सक्छन् । अवसर आउँदा प्रयास गर्न नडराउनुहोस्,’ माधुरीले भनिन् । 

माधुरी डेभलपरको पेशासँग सँगै यस क्षेत्रमा हुने विभिन्न कार्यक्रम र समुदायमा पनि जोडिएकी छिन् । 

देशमा डेभलपरहरुका लागि भनेर विभिन्न कम्प्युनिटी पनि छन् र कार्यक्रमहरु पनि आयोजना हुने गरेका छन् । 

निना शिवाकाेटी

टेक कम्पनी र शिक्षा उपत्यका केन्द्रित छन् । कम्युनिटी पनि त्यस्तै नै छन् । महिलाका लागि छुट्टै कम्युनिटी पनि छन् । 

यस्ता विभिन्न कम्प्युनिटीले डेभलपरहरुलाई आफ्नो सीप वृद्धि गर्न र अनुभव आदान प्रदानमा सहजीकरण गरिदिने उनी बताउँछिन् । 

‘जीडीजी अर्थात् गुगल डेभलपर्स ग्रुप, गर्ल्स इन टेक, वुमन इन बिग डेटा लगायतका वुमन कम्युनिटी छन् । विभिन्न प्रोग्रामिङ ल्याङग्वेजको पनि कम्युनिटी छन् । यहाँ लर्निङ र शेयरिङ जुनसुकै कार्यक्रमहरु गरिन्छन्,’ माधुरीले भनिन् । 

यस्तै अनिता पनि आफ्नो पेशाको बारेमा सचेतना फैलाउन र यसभित्रका ज्ञानलाई साझा गर्न ब्लगFull-Stack Web Development with Vue.js and Node  नामको पुस्तक लेखिसकेकी छिन् । 

अनिता नेपालका डेभलपरहरु पनि विश्वस्तरसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा रहेको बताउँछिन् । ‘मलाई  आजभोली नेपालका डेभलपरहरू पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने लाग्छ ।’ अनिता भन्छिन्।

उनी अगाडि थप्छिन् ‘मैले जोइन गर्दा नेपालको टप कम्पनीहरु खोज्दा क्लाउड फ्याक्ट्री, डियरवाक, लिप फ्रक, भर्सेन्ट, डिटो हकाइहरुका नाम मात्र आउँथे । अन्य सबै स्टेबल नहुने साना साना स्टार्टअप कम्पनीहरु थिए ।

तर अहिले जति पनि आइटी कम्पनी खोलिएका छन् । बाहिर जस्तो प्रविधि प्रयोग गर्छन् हामी पनि त्यस्तै प्रयोग गरिरहेको देखेका छौं । विभिन्न मिटअपमा बाहिरका मान्छेहरु पनि बोलाइन्छन् ।उनीहरूले पनि धेरै कुरा सिकाउँछन् ।’

डेभलपर्सको क्षेत्रमा काम गरिरहँदा आफूले गरेको कामलाई पछाडि फर्केर हेर्दा ती कामले सन्ध्यालाई सन्तुष्टि दिन्छ । माधुरी पनि अर्निङलाई भन्दा लर्निङलाई प्रमुखता लिएर काम गरिरहेको बताउँछिन् । 

‘क्लाउड फ्याक्ट्रीमा सिक्ने अवसर एकदमै राम्रो थियो र मलाई सुरूमा नयाँ कुरामा ट्राइ गर्ने अवसर दिनुहुन्थ्यो र मैले धेरै ग्रो हुने मौका पाएँ । ग्रोथ हुन आफ्नो कम्फर्ट जोनबाट बाहिर आउनै पर्छ ।

लर्निङ गर्ने कुरा र तपाईंले काम गर्ने वातावरणले तपाईंको ग्रोथलाई फरक पार्दछ । त्यसपछि बढ्दै गएपछि पे र पोजिसनको कुरा आउँछन् । केही कम्पनीहरुले लेभल र ग्रोथको मेट्रिक्स नै कायम गरेका हुन्छन् र त्यसैको आधारमा पे र पोजिसन प्रदान गर्छन् । त्यहीँबाट जब सेटिस्फ्याक्सन आउँछ,’ माधुरीले भनिन् ।

यस्तै छोटो समयमै डेभलपर्सको करियरलाई लिएर पछिल्लो समय युवामा बढेको सचेतनालाई लिएर महिला आबद्धताको संख्या बढ्नेमा निश्चिन्त छिन् ।   

‘महिलाहरु प्रोग्रामिङलाई लिएर डराउने गर्छन् । तर प्रोग्रामिङ ट्राइ नगरेसम्म नडराउनुहाेस् । सक्नु भएन भने आइटीमा अन्य धेरै अप्सन छन् । तर आफूले आफूलाई त्यसप्रति समर्पित गर्न सक्नुपर्छ । त्यसको लागि रुचि र मेहेनत आवश्यक छ,’ अनिताले भनिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०