close

धरान उपमहानगरका जनताले अब घरबाटै कर तिर्न सक्ने

टेकपाना टेकपाना

असोज ४, २०७७ १९:३९

धरान उपमहानगरका जनताले अब घरबाटै कर तिर्न सक्ने

सुनसरी । धरान उपमहानगरपालिकाले कनेक्ट आईपीएससँग सहकार्य गरी अनलाइनबाटै विभिन्न सरकारी सेवाको भुक्तानी तिर्न सक्ने सुविधा ल्याएको छ ।

उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल कर लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर बुझाउन सक्ने भएका हुन् ।

सेवाग्राहीले आफ्नो वडामा ईमेल र मोबाइल दर्ता गराई उपमहानगरको वेबसाइटबाट युजरनेम र पासवर्ड लिनुपर्छ। त्यसरी लगइन गरेपछि सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस मार्फत् राजश्व बुझाउन सकिने छ।

पछिल्लाे समय अनलाइन भुक्तानी माध्यमका रुपमा कनेक्ट आईपीएस देशैभर तीव्र रुपमा विस्तार भइरहेकाे छ ।

विगतमा सबै सरकारी खर्चको कारोबारमा चेक नै प्रयोग हुने गरेको थियो । पछिल्लो समयमा सरकारी निकायहरुले समेत आफ्नो सिस्टमलाई इलेक्ट्रोनिक फण्ड ट्रान्सफर सिस्टममा रुपान्तरण गरेका छन् ।

कनेक्ट आईपीएस जी टू सी (सरकारले जनतालाई गर्ने भुक्तानी), सी टू जी (जनताले सरकारलाई गर्ने भुक्तानी) अर्थात राजस्व तथा कर भुक्तानी, बी टू बी (एउटा व्यवसायले अर्को व्यवसायलाई गर्ने भुक्तानी) मा बढी केन्द्रीत छ ।

 यसैबीच नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट सञ्चालित कनेक्ट आईपीएसमा आवद्ध हुने वालेटहरुको संख्या छ पुगेको छ ।

यससँगै अब जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट सजिलै ती वालेटमा रकम लोड गर्न सकिने भएको छ ।

हाल कनेक्ट आईपीएसमा १६ वालेट जाेडिएका छन् । यसअनुसार जुनसुकै बैंकबाट रकम लोड गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०