close

विद्यालयको पठनपाठन सुरू गर्न आकस्मिक कार्ययोजना सार्वजनिक

टेकपाना टेकपाना

असोज ६, २०७७ २१:०

विद्यालयको पठनपाठन सुरू गर्न आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडाैं । काेभिड १९ का कारण ६ महिनायता ठप्प विद्यालय शिक्षा सुचारू गर्न विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ ।

कार्ययाेजनामा होम स्कुलिङको अवधारणा, विद्यार्थी-शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको छ ।

भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजना सार्वजनिक गर्दै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए ।

शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास नमुना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए । 

सरकारले यसअघि नै असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ ।

महामारीका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकाले अन्तर मन्त्रालय र सम्बन्धित निकायसँगको छलफलपछि कार्ययोजना निर्माण गरिएको हो ।

मन्त्रिपरिषद्को गत असोज १ को निर्णयबाट विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ स्वीकृत भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०