close

सिद्धार्थ ग्रुपको एपमा १५ प्रतिशत छुटसहित निःशुल्क डेलिभरीको सुविधा

टेकपाना टेकपाना

असोज ७, २०७७ ११:५२

सिद्धार्थ ग्रुपको एपमा १५ प्रतिशत छुटसहित निःशुल्क डेलिभरीको सुविधा

काठमाडौं । सिद्धार्थ ग्रुपले आफ्नो मोबाइल एप सार्वजनिक गर्दै आकर्षक अफर ल्याएको छ । देशभर विभिन्न ठाउँमा होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको यो ग्रुपले एपमार्फत खाना तथा खाजा अर्डर गर्दा १५ प्रतिशत छुटसँगै होम डेलिभरीको सुविधा दिन थालेको हो ।

ग्रुपका अनुसार पाँच सय रुपैयाँभन्दा माथिको अर्डरमा हरेक शाखाबाट पाँच किलोमिटरसम्मको दुरीमा निःशुल्क डेलिभरीको व्यवस्था मिलाइएको छ । सिद्धार्थ ग्रुपले काठमाडौं सहित पूर्व बिर्तामोडदेखि पश्चिम महेन्द्रनगरसम्म रहेका आफ्ना २५ वटा शाखाबाट आतिथ्यताको सेवा उपलब्ध गराउँदै आएको छ ।

फुड डेलिभरी एपहरुको सेवा कुनै निश्चित सहरमा मात्रै उपलब्ध भए पनि सिद्धार्थ ग्रुपले भने देशका सबैजसो प्रमुख सहरमा डेलिभरी सेवा उपलब्ध गराउने बताएको छ । निकट भविष्यमा भैरहवामा समेत ग्रुपको फाइभ स्टार होटेल सञ्चालनमा आउँदैछ । ।

कोभिड १९ को महामारीले सिर्जित चनौतिको सामना गर्न होटेल रिसोर्ट सञ्चालन गर्दै आएको यो ग्रुपले आफ्नो सेवा मोबाइल एपमा समेत राखेको हो । एपमार्फत खाना तथा खाजा अर्डरका साथै होटेल तथा रिसोर्टका कोठा बुकिङ समेत गर्न सकिनेछ ।

एपबाट होटेल तथा रिसोर्टको कोठा बुकिङ गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

एपमै अनलाइन भुक्तानीको व्यवस्था समेत मिलाइएको छ । हाललाई खल्ती, ईसेवा जस्ता मोबाइल वालेटसँगै भिसा तथा मास्टरकार्डबाट समेत सेवाको भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सिद्धार्थ ग्रुपले आफ्ना नियमित ग्राहकहरुलाई सदस्यता समेत उपलब्ध गराउँदै आएको छ । सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन समूहमा बिभाजित ग्रुपको सदस्यताकार्डका लागि एपबाटै निःशुल्क रुपमा फारम भर्न सकिनेछ ।

यस्तो सदस्यता लिएका ग्राहकले सिद्धार्थ ग्रुपका जुनसुकै शाखामा आकर्षक सुविधासहित भुक्तानी गरेको रकममा बोनस समेत पाउन सक्नेछन् ।

एप डाउनलोड गरेपछि प्रयोगकर्ताले दुई वटा तरिकाबाट लग ईन गर्न सक्नेछन् । गेस्ट र सदस्यका लागि छुट्टा छुट्टै लग ईन गर्ने व्यवस्था मिलाइएको छ ।

गेस्ट लगईनमार्फत खाना तथा खाजाको अर्डर र होटेल बुकिङका साथै अफरअनुरुपको छुट सबै प्राप्त गर्न सकिनेछ । तर कारोबार अनुसारको प्वाइन्ट भने थपिँदैन । तर मेम्बर लगईनमार्फत थप सुविधा प्राप्त गर्न सकिने ग्रुपका आईटी हेड विपिनसिँह खत्रीले जानकारी दिए ।

‘एपमा मेम्बरशिप फारम भरेपछि हामीले ईमेलमै युजर नेम र पासवर्ड पठाइदिन्छौं,’ उनले भने, ‘उहाँले गरेको कारोबार अनुसार त्यसमा प्वाइन्टहरु थपिँदै जान्छ । जसको आधारमा सदस्य ग्राहकले थप सुविधा पाउन सक्नुहुन्छ ।’

एपमा ग्रुपले उपलब्ध गराउने सबै सेवाको जानकारीका साथै सम्पर्क नम्बर समेत उपलब्ध छ । जसमार्फत ग्राहकले होटेल तथा रिसोर्टको सेवाबारे थप जानकारी समेत लिन सक्नेछन् ।

सिद्धार्थ हस्पिटालिटीको यो एप सर्व टेक्नोलोजी प्रालिले विकास गरेको हो । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०