close

टिकटक डिल ‘धम्की’ मा आधारित भएकाले चीनले अनुमोदन नगर्ने

टेकपाना टेकपाना

असोज ७, २०७७ १४:१५

टिकटक डिल ‘धम्की’ मा आधारित भएकाले चीनले अनुमोदन नगर्ने

काठमाडौं । टिकटक कम्पनीको बिक्रीका लागि दिइएको सेप्टेम्बर २० को समयसीमा पुरा भइसकेकाे छ ।  तर यसमा संलग्न भएका साझेदारहरूकाे सम्झौता शर्तमा सहमति भएको छैन ।

टिकटकमा ओराकल तथा वालमार्टकाे भावी स्वामित्वलाई लिएर विवादित सन्देश प्रस्तुत भइरहेकाे छ । यसले प्रयोगकर्ता र लगानीकर्ताहरुमा नै दुविधा उत्पन्न गराएको छ । यसैबीच टिकटकको बिक्रीलाई लिएर बेइजिङको असन्तुष्टि पनि स्पष्ट देखिएको छ । 

बुधबार सरकार नियन्त्रित चाइना डेल्लीमा प्रकाशित सम्पादकीयमा लेखिएको छ, ‘धम्की र बदमाशीको आधारमा टिकटकमाथि ओराकल र वालमार्टलाई हक जमाउन दिने फोहोर र अन्यायपूर्ण सम्झौतालाई अनुमति दिन चीनसँग कुनै कारण छैन ।’ 

२०२० को अन्त्यसम्म टिकटकले अर्बौं डलरको आम्दानी गर्ने भन्ने प्रक्षेपण र कम्पनीको सफलताले वासिङटनलाई दु:खी बनाएको उक्त सम्पादकीयमा आरोप छ ।

टिकटकको यही सफलतालाई रोक्न अमेरिकाले राष्ट्रिय सुरक्षालाई बाहाना बनाएर सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको बताइएको छ । 

तर चीनको यस्तो आधिकारिक सन्देशले बाइटड्यान्सभित्र मिश्रित भाव घोलिदिएको छ । चिनियाँ प्रशासनसँग आफ्नो सम्बन्ध नभएको प्रमाणित गर्न सदैव उद्दत बाइटड्यान्सका लागि चीन सरकारको यस्तो सन्देशले पश्चिमा मुलुकहरुमा आशंका गर्ने अर्को विज रोपिदिएको छ ।  

बेइजिङले यसअघि नै टिकटकको डिललाई जटिल बनाउन आफ्नो निर्यात कानूनलाई संशाेधन गरिसकेको छ । चीनले विदेशी कम्पनीलाई एआई प्रविधिको बिक्रीमा रोक लगाएको हो ।

बाइटड्यान्स र चिनियाँ मिडिया दुवैले उक्त डिलमा प्रविधि प्रसार भने नहुने बताइसकेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटकको डिल नभएको खण्डमा एपको डाउनलोडमाथि नै प्रतिबन्ध लगाउने बताइसकेका छन् ।

यसबाहेक उसले टेन्सेन्टको वीच्याट पनि बन्द गरिदिने धम्की दिइसकेको छ । यद्यपि वीच्याट बन्द गर्ने ट्रम्पको निर्णयलाई भने सान फ्रान्सिस्को अदालतको निर्णयले रद्द गरिदिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०