close

ईकर्मकाण्डः हिन्दु परम्पराका सबै कर्मकाण्डको अनलाइन सेवा

टेकपाना टेकपाना

असोज ८, २०७७ १८:६

ईकर्मकाण्डः हिन्दु परम्पराका सबै कर्मकाण्डको अनलाइन सेवा

काठमाडौं । कोरोनाको महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । अझ सोह्र श्राद्ध चलिरहँदा मुलुकमा लकडाउन र निषेधाज्ञाकै समय थियो । यस्तोमा पुरोहितहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज थिएन ।

संभव भएपनि संक्रमण फैलिने जोखिमले गर्दा घरमा बोलाउने कि नबोलाउने भन्ने अन्यौलता यजमानहरुमा थियो । सदियौंदेखि चलेको चलन । धार्मिक संस्कारअनुरुप गर्नैपर्ने कर्म । 

यस्तोमा सोह्र श्राद्धलाई वैकल्पिक रुपमा भएपनि सफल बनाउने सोचका साथ ईकर्मकाण्ड सुरु भएकाे सौरभ घिमिरे बताउँछन् । उनी कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हुन्

गुरुहरुको आवश्यकता परेमा आफ्नो गोत्र, नाम, थर आदिका आधारमा योग्य गुरुहरुसँग ईकर्मकाण्डले अनलाइनबाटै कनेक्ट गराउन थालेकाे छ ।

कम्पनीले सोह्र श्राद्धलाई नै लक्षित गरी ईकर्मकाण्डको एप बनायाे । जसअनुसार एपबाट उपलब्ध पुरोहितसँग कनेक्ट गराएर सोह्र श्राद्ध आयोजना गर्ने व्यवस्था मिलाइएको थियो । 

अनलाइनबाट सोह्र श्राद्ध आयोजना गरिरहँदा वैद्धिक सनातन धर्मअन्तर्गत गरिने सबै कर्मकाण्डको विषयमा ईकर्मकाण्डको टिमले अध्ययन सुरु गर्‍यो ।

न्वारन, व्रर्तबन्ध, विवाह, मृत्यु संस्कार जस्ता कर्मकाण्डको अध्ययन गर्दै जाँदा सोह्र श्राद्ध जस्तै अरु कर्मकाण्ड पनि अनलाइनबाटै गराउन किन नसक्ने भन्ने प्रश्न उठ्यो । 

त्यसैको समाधानको रुपमा अहिले कम्पनीले वैदिक सनातन धर्मअन्तर्गत पर्ने सबै कर्मकाण्ड अनलाइनबाटै गर्न सकिने गरी सिस्टम डेभलप गर्दै लगेको छ । 

नेपालमै हुँदा गाउँ घर, समाज, परिवारमा चल्दै आएको चलन गर्दै सिक्दै जाने सामान्य कुरा नै हुन्छ । तर विदेशमा छँदा आफ्नो संस्कारअनुरुप के गर्ने भन्ने कुरा पनि बिर्सिँदै गइरहेको अवस्था छ ।

त्यसैले कुन महिनामा के के पुजा तथा कर्मकाण्डहरु गर्नुपर्ने हुन्छ भन्ने जानकारी पनि एप तथा वेबसाइटमै उपलब्ध गराइएको छ । त्यो सूचीमा गएर कर्मकाण्डको बारेमा बुझ्न र त्यहिँबाट कर्मकाण्ड रोज्न पाउने बनाइएको छ ।

पुरोहितका लागि अनुरोध आउँदा सम्पर्क व्यक्तिले उपलब्ध पुरोहितसँग सम्पर्क गराइन्छ ।

यसरी ईकर्मकाण्डले यजमान र पुरोहितलाई जोड्ने माध्यमको रुपमा काम गरिरहेको छ । सामान्यतया धर्ममा बढी आस्था राख्ने र कर्मकाण्ड गराउनेमा बुढा पाकाले नै अग्रसरता देखाइरहेका हुन्छन् । 

त्यसैले ईकर्मकाण्डको सेवा आफ्नै सिस्टम (वेबसाइट तथा एप) मा मात्रै सीमित गरिएको छैन । भाइबर, ह्वाट्सएप, म्यासेञ्जर, जुम जस्ता यजमानलाई सहज हुने जुनसुकै माध्यम अपनाउन सकिने गरी लचिलो रुपमा सेवा दिने गरिएको सौरभ बताउँछन् । 

कोरोना भाइरसको महामारीको समयमा मात्रै होइन, सामान्य अवस्थामा पनि विदेशमा हुने नेपालीहरुलाई नियमित कर्मकाण्ड सम्पन्न गर्न समस्या परिरहेको हुन्छ ।

विदेशमा पुरोहित नै नहुने होइन । तर थोरै संख्यामा हुने हुँदा बिरानो मुलकमा कहाँ खोज्न जाने भन्ने असहजता उत्पन्न भइरहेको हुन्छ । 

त्यसैले कोभिड पश्चातको समयमा पनि ईकर्मकाण्डले आफ्नो सेवालाई निरन्तरता दिने उद्देश्यका साथ आफ्नो सेवालाई परिस्कृत गर्दै लगेको छ । अबको एक महिनामा सबै कर्मकाण्ड अनलाइनबाट गर्न सकिने सुविधा उपलब्ध हुनेछ । 

पूजा तथा कर्मकाण्डलाई सहज बनाउन ज्योतिष परामर्श र पूजाका सामग्रीको सूची पनि उपलब्ध गराइने सीटीओ सौरभको भनाई छ ।

‘ज्योतिष परामर्श अन्तर्गत वास्तु हेर्ने, चिना बनाइदिने, विवाह कुण्डली मिलाइदिने लगायतका सबै सेवा पनि हामीले दिन थालेका छौं,’ उनी भन्छन् ।

उनले अगाडि भने, ‘त्यसका लागि प्रयोगकर्ताले जन्म मिति, जन्मको समय र स्थान राख्नुहुन्छ र आफूलाई अनुकूल समय राखेर अपोइन्टमेन्ट सेट गर्नुहुन्छ । त्यसै अनुसार हाम्रा ज्योतिष ज्यूहरुले उहाँहरुलाई सहज हुने माध्यमबाट भिडियो कल गरेर परामर्श सेवा उपलब्ध गराउनुहुन्छ ।’

सोह्र श्राद्ध सकिएलगत्तै पुरुषोत्तम महिना सुरु भएको छ । हिन्दु परम्पराअनुसार यस अवधिमा न्वारन र मृत्युपश्चात गरिने बाहेकका कर्मकाण्डहरु गर्न मिल्दैन । तर यो महिनामा पुरुषोत्तम पुराण सुन्ने चलन भने चल्दै आएको छ । 

त्यसै अनुरुप ईकर्मकाण्डले आफ्नो युट्युव च्यानलमा पुरुषोत्तम पुराण तथा कथा बाचन भइरहेको छ । 

त्यसो त यस्तो अनलाइन ज्योतिष सेवा अरुले पनि दिँदै आएका छन् । विभिन्न दिनमा हुने पूजाको जानकारी, कर्मकाण्ड, ज्योतिष परामर्श र पूजाका लागि आवश्यक सामग्रीको सेवा सबै दिने प्लेटफर्म  ईकर्मकाण्ड मात्रै भएको सौरभको दाबी छ । 

ईकर्मकाण्डको सेवा लिन चाहनेहरुले फेसबुक, इन्स्टाग्राम, आईओएस तथा एन्ड्रोइड एप, वेबसाइट जुनसुकै माध्यमबाट सम्पर्क राख्न सक्नेछन् । आईओएस एप भने दशैंपछि मात्रै सार्वजनिक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०