close

मर्जरमा जाने टेलिकम कम्पनीलाई फ्रिक्वेन्सीमा सहुलियत दिने तयारी

टेकपाना टेकपाना

असोज ८, २०७७ १७:७

मर्जरमा जाने टेलिकम कम्पनीलाई फ्रिक्वेन्सीमा सहुलियत दिने तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मर्जरमा जाने टेलिकम कम्पनीलाई फ्रिक्वेन्सीमा सहुलियत प्रदान गर्ने तयारी गरेको छ । फ्रिक्वेन्सी रोडम्यापको अध्ययन प्रतिवेदन तयार पारिरहेको प्राधिकरणले त्यसैमार्फत फ्रिक्वेन्सीमा सहुलियत प्रदान गर्ने विषयलाई पनि समेटेको हो ।

यो रोडम्यापले विश्व परिवेशमा फ्रिक्वेन्सी प्रयोग र नेपालमा त्यसलाई कसरी अनुसरण गर्ने भन्ने विषयमा सुझाव दिनेछ । यसअन्तर्गत फाइभजीका लागि उपयुक्त हुने फ्रिक्वेन्सीका लागि सुझाव दिनुका साथै फ्रिक्वेन्सी मूल्यमा एकरुपता ल्याउने विषयमा राय दिने प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले बताए ।

अध्यक्ष खनालका अनुसार उक्त प्रतिवेदनले विश्व परिवेशलाई अध्ययन गरेर नेपालमा हाल उपलब्ध फ्रिक्वेन्सीमध्ये कुनलाई कहिले अक्सनमार्फत वितरण गर्ने सकिन्छ, कुन फ्रिक्वेन्सी कुन प्रविधिको लागि प्रयोग गर्ने भन्ने विषयमा पनि सुझाव दिनेछ ।

साथै नेपालसँग हाल नभएको र अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले निर्धारण गरेको फ्रिक्वेन्सी कसरी र कुन प्रविधिको लागि उपयुक्त हुन्छ भन्ने खालको सुझाव पनि प्रतिवेदनमा समेटिने उल्लेख गरिएको छ ।

त्यतिमात्रै नभएर नेपालमा उपलब्ध फ्रिक्वेन्सीको हिसाबले कति सेवा प्रदायक चल्न सक्छन र उनीहरुलाई कसरी व्यवस्थापन गर्ने, फ्रिक्वेन्सीमा कसरी सहुलियत प्रदान गर्ने लगायतका सवालमा पनि प्रतिवेदनले सुझाव दिनेछ ।

उक्त सुझावका आधारमा सेवा प्रदायक मर्जरमा गएको खण्डमा फ्रिक्वेन्सी थप प्रदान गर्न सकिन्छ कि भन्ने आशय प्राधिकरणले राखेको अध्यक्ष खनाल बताए ।

‘हामीले केही वर्षअघि नै मर्जर तथा एक्युजिसन नियमावली तयार पारी सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा पठाएका हौं,’ उनले भने, ‘तर अझै पास भएको छैन । पास भएको खण्डमा मर्जरमा जाने सेवा प्रदायकलाई फ्रिक्वेन्सीमा सहुलियत दिने प्रावधान के कस्तो छ भन्ने विषय अहिले अध्ययन गरिएको हो ।’

यो अध्ययनले दिएको सुझावका आधारमा मर्जरमा जानेलाई अन्य सेवा प्रदायकको तुलनमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी अथवा अन्य कुनै किसिमको सहुलियत प्रदान गर्न सकिने संकेत खनालले गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०