close

वायरलेस इयरफोन भएको मास्क, यस्ता छन् अरु फिचर

टेकपाना टेकपाना

असोज ८, २०७७ २२:२५

वायरलेस इयरफोन भएको मास्क, यस्ता छन् अरु फिचर

काठमाडौं । कोभिड १९ को महामारीबाट जोगिन मानिसहरुले अनेक उपाय लगाइरहेका छन् । यूभी स्टरलाइजर, डिसइन्फेक्ट, पल्स आक्सिमिटर, इन्फ्रारेड थर्मोमिटर त्यसका केही उदाहरण हुन् ।

तपाईं घरबाट बाहिर निस्किँदा पक्कै पनि मास्क लगाइरहनु भएकै होला । मास्कको प्रयोग बढेसँगै प्रविधि कम्पनी यसमाथिको प्रयोग समेत गर्न थालिसकेका छन् ।

हब्बल कनेक्टेड नामक कम्पनीले मास्कफोन सार्वजनिक गरेको छ । यसमा भ्वाइस एक्टिभेसन फिचर रहेको छ । यानिकि यसको सहयोगमा एलेक्सा, सिरी र गुगल असिस्टेन्ट समेत प्रयोग गर्न सकिन्छ ।

के हो यो मास्क फोन ?

मास्कफोन मूलतः फेस मास्क नै हो । यद्यपि यसमा इयरफोन र माइक्रोफोन समेत कनेक्ट गर्न सकिन्छ । जसमार्फत प्रयोगकर्ताले गीत सुन्न र कल गर्न सक्छन् ।

कम्पनीले मास्कफोनमा इलास्टिक नियोप्रेन इयरहुक प्रयोग गरिएको छ । यसमा मेडिकल ग्रेड बदल्न सकिने गरी पीएम २.५ र एन ९५ तथा एफएफपी टू फिल्टर, आईपीएक्स फाइभ फ्याब्रिक राखिएको छ । जसलाई पानीले धुन समेत सकिन्छ ।

यो मास्कले एक पटक चार्ज गर्दा १२ घण्टासम्मको प्ले टाइमको सुविधा दिने गरेको छ । यदि तपाईं चाहुनुहुन्छ भने यसमार्फत कल गर्न तथा म्युजिक सुन्न सक्नुहुन्छ । साथै मास्कको दायाँतर्फ तीन वटा बटन समेत दिइएको छ । जसबाट प्ले तथा पजका साथै भोलुम घटाउन बढाउन सकिन्छ ।

मास्कफोनका अन्य फिचरको कुरा गर्दा यसमा सोझै भ्वाइस असिस्टेन्ट गर्न सकिने फिचर छ । जसको सहयोगमा एलेक्सा एक्टिभेट गर्न, भ्वाइस असिस्टेन्ट सिरी र गुगल असिस्टेन्टको प्रयोग गर्न पनि सकिन्छ । यसको अर्थ प्रयोगकर्ताले यो मास्कको सहयोगमा स्मार्ट होम डिभाइसलाई समेत नियन्त्रण गर्न सक्छन् ।

यसलाई हब्बल कनेक्ट एपसँग कनेक्ट गराएर प्रयोग गर्न सकिन्छ । यो मास्कको सुरुवाती मुल्य ४९ अमेरिकी डलर (करिब ५८ सय रुपैयाँ) रहेको छ । यो मास्क नेपालसम्म आइपुग्छ वा पुग्दैन भन्ने कुराको यकिन भने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०