close

यसरी रेकर्ड गर्नुहोस् फोनसँगै भाइबर, ह्वाट्सएप र म्यासेञ्जरको कल

टेकपाना टेकपाना

असोज ९, २०७७ १४:४६

यसरी रेकर्ड गर्नुहोस् फोनसँगै भाइबर, ह्वाट्सएप र म्यासेञ्जरको कल

काठमाडौं । एक समय यस्तो थियो, मोबाइलको कल रेकर्ड गर्न अर्को छुट्टै रेकर्डर साथमा राख्नुपर्ने हुन्थ्यो । तर अहिलेको समयमा कल रेकर्ड गर्न निकै सहज भइसकेको छ । 

अबका स्मार्टफोन बहुउपयोगी उपकरण बनिसकेका छन् । कल, म्यासेजिङ, इन्टरनेट, क्यामेरा र भ्वाइस रेकर्डङसहित कल रेकर्डको काम समेत मोबाइलमै गर्न सकिन्छ । 

त्यसैले अब कल रेकर्ड गर्न छुट्टै रेकर्डरको आवश्यकता पर्दैन । त्यसो त केही स्मार्टफोनमा इनब्युल्ट रुपमा नै कल रेकर्डिङको सुविधा समेत रहेको हुन्छ ।  यद्यपी त्यस्तो कल रेकर्डिङमा फिचरको आफ्नै सीमितता पनि हुन्छ ।

तर अनुमति बिनाको कल रेकर्डिङ गैरकानूनी विषय बन्दै गएपछि पछिल्लो समय मोबाइलबाट यस किसिमको इनब्युल्ट सिस्टम हटाउने ट्रेन्ड समेत देखा पर्दैछ । अनुमति बिना कल रेकर्ड गर्नु कानूनतः सही नभए पनि कतिपय सन्दर्भमा यो बाध्यताको विषय पनि बनिदिन्छ । 

त्यसका लागि एन्ड्रोइड तथा आईफोनमा कल रेकर्डिङका लागि कयौं एपहरु उपलब्ध छन् । जसलाई तपाईं आफ्नो अनुकुलताअनुसार प्रयोग गर्न सक्नुहुन्छ । 

अटोमेटिक कल रेकर्डर

धेरै एन्ड्रोइड स्मार्टफोनमा कल रेकर्डिङको सुविधा हुने गर्दछ । यदि तपाईं मल्टिपल फिचरयुक्त कल रेकर्डरको खोजिमा हुनुहुन्छ भने यो एपले तपाईंलाई सहज बनाइदिनेछ ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि यो एप निकै उपयोगी छ र पूर्णतया निःशुल्क छ । एपमा गएर एक पटक अटो रेकर्डिङ अन गरेपछि इनकमिङ र आउट गोइङ कल स्वचालित रुपमा रेकर्ड भएर बस्छन् ।

यसको खास विशेषता के पनि छ भने यसमा पुराना रेकर्डिङ कल अटो डिलिट हुन्छन् । यो फिचरले फोनको मेमोरी फुल हुन पनि दिँदैन । यदि कल रेकर्डिङ लिस्टमा कुनै त्यस्तो कल छ, जुन सधैंका लागि सुरक्षित गर्न चाहनुहुन्छ, त्यसलाई मार्क गरेर राख्न सकिने सुविधा समेत यसमा रहेको छ । 

यसो गर्दा मार्क गरिएका कल अटो डिलिट हुने छैनन् । यसमा रेकर्ड कल एडिट गर्ने सुविधा समेत रहेको छ । यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

कल रेकर्डर क्यूब एसीआर

यो एन्ड्रोइड प्रयोगकर्ताका लागि उपयोगी कल रेकर्डर एप हो ।  यसको खास विशेषता के छ भने यो केवल भ्वाइस कल रेकर्डका लागि मात्र नभएर स्काइप, ह्वाट्सएप, भाइबर, लाइन जस्ता एपको कल रेकर्ड गर्नका लागि समेत उपयोगी छ ।

यसमा अटो रेकर्डिङ र म्यानुअल रेकर्डिङ दुवै किसिमको फिचर उपलब्ध छ । जसबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सेट गर्न सक्छन् ।

यसका साथै क्युब कल रेकर्डरमा कलिङ पश्चात सेभ भएको कल सुन्न सकिने सुविधा पनि छ । जसबाट प्रयोगकर्ताले रेकर्ड भएको कल सेभ वा डिलिट गर्ने विकल्प समेत पाउन सक्छन् ।

यसमा रेकर्ड भएका केही कलको आवाज सुस्त सुनिने समस्या भने हुनसक्छ । तर कल रेकर्डको क्वालिटी भने स्पष्ट हुन्छ । यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०